काठमाडौँ । पहिलो पटक सहभागिता जनाएको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आज मङ्गलबार आयोजक बङ्गलादेशको सामना गर्नेछ ।
बङ्गलादेशस्थित चटगाउँमा हुने सो प्रतियोगितामा समूह ए मा रहेको दुवै टिम भोलि साँझ ७ः१५ मा आमनेसामने हुनेछन । यस्तै प्रतियोगितामा समान एक एक खेल खेलेको नेपाल र बङ्गलादेशले समान दुई दुई अङ्क जोडेका छन् ।
यही चैत २ गते आइतबार भएको खेलमा नेपालले हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै दुई अङ्क जोडेको हो भने आइतबार नै भएको पहिलो खेलमा बङ्गदादेशले अफगानिस्तानलाई नौ विकेटले हराउँदै दुई अङ्क पाएको हो । समूह ए मै रहेको हङकङ र अफगानिस्तानले भने अङ्क जोड्न सकेका छैनन् । दुवै टिमले समान एक एक खेल खेलिसकेका छन् ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न सुरु गरेको १८ वर्षपछि नेपालले आइतबारको खेलमा हङकङलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरायो । सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एसोसियट्स सदस्य प्राप्त गरेपछि नेपालले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्न सुरु गरेको हो ।
Discussion about this post