कसरा । यसअघि अण्डा पारे पनि बच्चा कोरल्न नसकेको चितवनको कसरामा खुलेको प्रजनन् केन्द्रमा हुर्केको गिद्धले पहिलो पटक बच्चा कोरलेको छ । प्रजनन् केन्द्रमा हुर्केको एउटा गिद्धले माघ एकमा पारेको अण्डाबाट ६१ दिनपछि आइतबार साँझ बच्चा कोरलेको निकुञ्जले जनाएको छ ।
‘प्राकृतिक बासस्थलबाहेक अन्यत्र प्रजनन् केन्द्रमा हुर्केको गिद्धले नेपालमै पहिलो पटक बच्चा कोरल्न सफलता मिलेको छ’ चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निकुञ्जले विसं. २०६५ सालको वैशाखमा १२ लाख रूपैयाँ खर्च गरेर आधुनिक खोर बनाएको थियो । निकुञ्जले खोरमा सुरूमा गिद्धका १४ वटा बच्चा राखेको थियो ।
प्रजनन् केन्द्रमा हाल हुर्केका ५७ वटा डंगर गिद्ध रहेका छन् । केन्द्र प्रमुख तथा निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार चार वर्ष भएपछि गिद्धले अण्डा पार्न सुरू गर्छ । गत वर्षदेखि १२ वटा गिद्धले अण्डा पारेका थिए । तर बच्चा कोरल्न कसैले सकेनन् । एउटा गिद्धले एक वर्षमा एउटा मात्रै अण्डा दिन्छ ।
आफँै गुँड बनाएर गिद्धले कात्तिक मंसिरमा अण्डा पार्छ । ‘प्रजनन् केन्द्रका गिद्धले पनि गत वर्ष गुँड लगायो, अण्डा पनि पा¥यो । हामी खुसी थियौँ तर बच्चा कसैले कोरलेन त्यसैले अलि निराश थियौँ’ केन्द्र प्रमुख खड्काले भने । यस पटक बच्चा जन्मदा प्रजनन् केन्द्रमात्रै नभएर सिंगो संरक्षण क्षेत्रमा खुसी छाएको उनले बताए ।
कास्की, पाल्पा, रूपन्देही, कपिलवस्तुलगायतका स्थानमा माउले बनाएको गुँडका बच्चा झिकेर प्रजनन् केन्द्रमा ल्याइएको थियो । आमाको समूहमा बस्न नपाएकाले उनीहरुले धेरै कुरा सिक्न नसकेको र बच्चा कोरल्ने विधि पनि जान्न नपाएको केन्द्रका कर्मचारीहरुको अनुमान थियो ।
प्रजनन् केन्द्रमा जन्मेका गिद्ध एक वर्षपछि खुला जंगलमा छाड्ने योजना रहेको उनले बताए । मरेको जनावर र कुहेका पदार्थ खाएर गिद्धले वातावरणलाई सफा राख्न निकै ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले यसलाई नासिन नदिन प्रजनन् केन्द्र खोलेको हो । विज्ञहरु गिद्धलाई प्राकृतिक कुचिकार भन्ने गर्छन् । यसको आहार सिनोमात्र हुने भएकाले दुर्गन्ध फैलाउने वस्तुहरुलाई यसले सिनित्तै पार्छ ।
त्यसैले यो पंंक्षीलाई गुणकारी मानिएको हो । तर केही वर्षयता यसको संख्या निकै घटेको छ । यो सम्पूर्ण रूपमा मासिएर जाने खतरा बढेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा प्रजनन् केन्द्र खुलेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंक्षी संरक्षण संघले यसमा सहयोग गरेका छन् ।
नेपाल पंक्षी संरक्षण संघ चितवन जिल्ला कार्य समितिका पूर्वअध्यक्ष हेम सुवेदी नेपालमा १५ वर्षअघिको तुलनामा गिद्धको संख्या निकै कम भएको बताउ“छन् । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध र सुन गिद्ध गरेर आठ प्रकारका गिद्ध पाइने गर्छन् । त्यसमध्ये डंगर र सानो खैरो गिद्ध लोप हुने अवस्थामा पुगेको छ । प्रजनन् केन्द्रमा रहेका बच्चा त्यही डंगर गिद्धको हो ।
गिद्ध नास हुनुको मुख्य कारण पशुमा प्रयोग हुने डाइक्लोफेनेक नामक औषधी रहेको सुवेदी बताउँछन् । मरेको पशुमा सो औषधीको मात्रा रहेमा त्यस्तो सिनो खाने गिद्ध मिर्गाैलामा समस्या आएर तत्कालै मर्ने उनले बताए । प्रजनन् केन्द्रमा रहेका गिद्धलाई डाइक्लोफेनेकबाट मुक्त भएको राँगाको मासु खुवाउने गरिन्छ । सरकारले पनि अचेल डाइक्लोफेनेकलाई प्रतिबन्ध लगाएको छ ।
बेलायतको जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नामक संस्था र रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्ड (आरएसपीबी) ले यसमा आर्थिक सहयोग गरिरहने छन् । केन्द्रमा वर्षको ५० लाख रूपैयाँ खर्च हुने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिए ।
[divider]फोटो क्याप्सन ः प्रजनन् केन्द्रमा रहेको एउटा गिद्ध ।
Discussion about this post