खुकुरी प्रहारबाट दुई घाइते २६ जना प्रहरी नियन्त्रणमा [divider]
रत्ननगर । रत्ननगर १ मा दुई जना समूहको खुर्पा प्रहारबाट अपरान्ह दुई जना घाइते भएका छन् । होली पर्व मनाउने क्रममा उच्छृङ्खल रुपमा होली मनाईरहेका रत्ननगर १ का नेत्रप्रसाद लामिछाने र रत्ननगर ८ का प्रकास पराजुलीले प्रहार गरेको खुर्पा लागेर वैरियाका गोपाल थापा र लक्ष्मी रेग्मी घाइते भएका रत्ननगर प्रहरीले बताएको छ ।
खुर्पा प्रहार गर्ने दुवै जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
घाइते थापाको मुख र रेग्मीको हातमा चोट लागेको पोखरेलले वताउनु भयो । होलीलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाए पनि रत्ननगरमा घटना घट्न गएको छ ।
त्यस्तै होली पर्वमा अवाच्छित क्रियाकलाप गर्ने १७ जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ । होलीमा लोला हान्ने, मादक पदार्थ सेवन गर्ने १७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै रत्ननगर प्रहरीले होली पर्वमा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नेपाल उच्च मावि रोडबाट ४ र दुरसञ्चार रोडवाट ५ जनालाई नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै, भरतपुर प्रहरीले आइतबार नै एक सयभन्दा बढी मोटरसाइकल र एउटा म्याजिक भ्यान नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गर्ने, विना हेल्मेट र तीन जना सवार भएर मोटरसाइकल चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सवारी नियम उल्लंघन गर्ने तथा होलीमा होहल्ला गरी सवारी चलाएको भन्दै रत्ननगर प्रहरीले ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । रत्ननगर, पदमपुरलगायतका ठाउँबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।
Discussion about this post