हेटौँडा । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गर्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि हेटौँडा उपमहानगरपालिकाले ३० लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।
सोमबार चितवनमा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्माणाधीन रंगशाला हेरेपछि रंगशाला निर्माणका लागि ३० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
धुर्मुस–सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुन लागेकोले स्थानीय सरकारको हैसियतअनुसार हेटौँडाका तर्फबाट सहयोग गर्न लागिएको मेयर महतले बताए । रंगशाला निर्माण हुँदा हेटौँडालाई पनि फाइदा पुग्ने भएकाले सहयोग गर्न लागिएको उनको भनाइ छ ।
मेयर महतले हेटौँडासहित देशैभरिका स्थानीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए । उनले केही दिनमा नै घोषणा गरिएको रकम हस्तान्तरण गर्नेसमेत बताएका छन् ।
३० लाख सहयोग घोषणा भएपछि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले थप हौसला मिलेको बताए ।