-केशव भट्टराई
केही वर्षअघि एक जना मित्रले फ्याट्ट भने–
‘लौ न यार, मलाई केटी खोजी दिनुप¥यो ।’
प्रसङ्गबिनै यस्तो आग्रह सुनेपछि भनेँ–
‘म दलाल हुँ र ?’ मेरो अप्रत्याशित जवाफ सुनेर उनले स्पष्ट पारे–
‘मैले तपाईंलाई कहाँ त्यसो भनेको हुँ र ? मैले त बिहेका लागि केटी खोजी दिनुप¥यो भन्न खोजेको पो हुँ त ।’
‘अनि म लमी पनि त होइन नि ?’ मैले उनको प्रश्न भुइँमा झर्न नपाउँदै उत्तर दिएँ ।
खासमा उनले मसँग ठूलै विश्वास गरेर घरजम बसाइदिन आग्रह गरेका थिए । मेरो सम्पर्कमा त्यस्तो होनहार युवती थिइनन् । उनले ‘मेरो त यो जुनीमा बिहे नै नहुने भो’ भनेर गुनासो पोखे । उनले यसअघि पनि सत्ताइसवटी केटी हेरिसकेका थिए । आफूसुहाउँदो फेला पारेपछि लमी नै फेला पारेजसरी मसँग प्रस्तुत भएका थिए ।
‘तपाईंले अठ्ठाइसवटी केटी हेरेँ भनेर गणना गर्नका लागि मलाई लमीका रुपमा उभ्याउन खोज्नुभएको हो ?’ भनेर सोधेँ ।
विचराको व्यथा भने अर्कै रहेछ । चौबीसवटीले त कुरासम्म गर्न चाहेनछन् । दुर्ईवटीमध्ये एउटी आफूभन्दा साह्रै सानी र अर्की बीबीसी नेपाली सेवामा जस्तो प्रश्न सोधेर अत्याइदिने । आफूले एउटा प्रश्न सोध्न नपाउँदै पाँच प्रश्नको उत्तर एकैसाथ दिने स्वभावकी । त्यही कारण उसको घरजम जुर्न सकेन । उसका आफन्तलाई चाहिँ केटी हेर्ने, छान्ने र छाड्ने गरेजस्तो लागेछ । त्यसपछि उसका आफन्तजन ऊप्रति रूष्ट भएका रहेछन् । हेर्नलाई त सत्ताइसवटी नै हेरेको हो । चिया–चमेना पनि सत्ताइस ठाउँमै खाएको हो । तर, उसलाई उल्टै केटीहरुले हेरेर छाडिदिए । केटो जिल्ल परेर फर्किनु परेको थियो । सोही क्रममा पछिल्लो पटक भेटेको केटीले उसलाई केही ‘बोल्ड’ प्रश्नहरु सोधेर हायलकायल बनाइछ । मुख्य संवाद यस्तो छ ः
– तपाईं किन बिहे गर्दै हुनुहुन्छ ?
– उमेर पुगेर, संस्कार धान्न र पारिवारिक आवश्यकताले ।
– बिहेका लागि कस्तोे मापदण्ड खोज्नुभएको छ ?
– सुशील, पढेकी र फरवार्ड..।
– ए…(नाक खुम्च्याउँदैै) तपाईंका योग्यता के–के छन् ?
– आर्थिक रुपमा सम्पन्न, हट्टाकट्टा र सुन्दर छु ।
– अ..हँ…। (फेरि मुख कुच्याउँदै) हुनेवालाको हकमा कत्तिको उदारता देखाउन सक्नुहुन्छ ?
– स्योर…। म उदारवादी पनि छु ।
– प्रेमको विषयमा तपाईंको हृदय कत्तिको फराकिलो छ ?
– यसमा त म झनै खुल्ला छु । प्रेमले सबैलाई छुन्छ । मलाई पनि प्रेमसम्बन्धी राम्रो अनुभूति छ ।
– ‘फिजिकल’सम्बन्धी तपाईंको धारणा ?
– उत्तरआधुनिक जमानामा यस्ता विषय गौण हुन् ।
– तपाईंसँग बिहे हुनेवालाको विषयमा…?
– पास्ट इज पास्ट । आई डोन्ट माइन्ड ।
– ओके…। तर, हुनेवाला ‘प्रिग्नेन्ट’ भए के गर्नुहुन्छ ?
– यस विषयमा त म उदार हुन सक्दिनँ ।
– ‘पास्ट इज पास्ट’ भन्नुभएको होइन र ?
–‘………’
ऊ हेरेको हे¥यै भयो । उसले हिम्मतका साथ उत्तर दिन सकेन । झन्डै–झन्डै बेहोस भएको थियो रे । त्यसपछि रन्थनिँदै केटी खोज्न आग्रह गरेको रहेछ । मैले कसरी उसको पीडा थाहा पाउनु ?
मैले सकेको प्रयत्न गरेँ । उसका लागि म लमी नै बन्न तयार भएँ । त्यसै क्रममा केटी हेर्न पनि गइयो । ऊ एक्कासि यसरी आकर्षित भयो कि मानौँ त्यो उसको पुरानै ससुराल हो । उसले वर्षौं अघिदेखि त्यो केटीसँग प्रेम गर्दै आएको छ । उसका सासू, ससुरा र अन्य नातेदारहरु ऊ नजन्मँदैदेखिका आफन्त हुन् । टीकाटालाअघि नै ज्वाइँ सत्कारका साथ ‘थ्री डेज टु नाइट’को ‘प्याकेज’ बसाइँपछि उसको टीकाटाला सम्पन्न भयो । उसको अनुहारमा छुट्टै आभा देखिएको थियो । मानौँ, वल्र्डकपमा स्ट्राइकरले भर्खर गोल गरेको छ ।
फर्किएपछि बाटोमा भन्यो– ‘म त फसेँ कि क्या हो यार ?’
– किन, के भो र ? मैले सोधेँ ।
– ‘मैले उसका बारेमा केही पनि सोधिनँ । उसको कोही पो थियो कि ?’
– कसको हुँदैन र ? मैले थपेँ ।
– कतै ‘फिजिकल’ पो भएको थियो कि ?
– के नै फरक पर्छ र अब, टीकाटालो भइसकेपछि ? मैले गरम जवाफ दिएँ ।
– अरुकै ‘नासो’ पो छ कि ? उसले आशंका प्रकट ग¥यो ।
– होस् न त, भए जाती नै भो नि । मैले रिसाएको भावमा भनेँ ।
त्यसपछि उसले यस्तो प्रश्न सोधेन । बिहे भयो । उनीहरुबीच प्रेम पनि बस्योे । जोडी मिल्दो केटी भेटिएकोमा खुसी पनि भयो । धेरै समय ऊसँग मेरो भेट भएन । उसले मलाई बिर्सियो कि नवयौवनाको मायामोहले भुल्यायो, थाहा भएन ।
ऊसँग संयोगले केही महिनापछि भेट भयो । भेट हुँदा सगरमाथा नै आरोहण गरेजसरी म त ‘बा’ हुने भएँ यार भनेर खुसी व्यक्त ग¥यो । मैले व्यङ्ग्य कस्दै प्रश्न गरेँ,
तिम्रै हो भन्ने के प्रमाण छ र ? पहिल्यैको नासो पो हो कि ?
ऊ यसपालि चाहिँ नमज्जाले खिन्न भयो, सगरमाथाको आधार शिविर पुगेर फर्कनु परेजस्तै । अनि, आफैँलाई नमज्जा लागेर आयो । त्यसपछि मैले सम्झाएँ–
‘यो सबै विश्वासको कुरा हो मित्र । यस्ता शंका–उपशंकामा रूमल्लियौ भने पारिवारिक सम्बन्धमा खलल पुग्न सक्छ । तिमी ‘बा’ बन्न लागेकोमा बधाई छ । तिमीले यस्तो केटी पाउनु तिम्रा लागि अहोभाग्य हो । अरु भएको भए टीका लगाएकै दिनमा तिमीलाई मैले भकुर्ने थिएँ ।’
त्यसपछि उसले मेरो भनाइको आशय बुझ्यो र यतिबेला आएर बल्ल माफी माग्यो ।
बिहेपछि पारिवारिक जीवन सुखमय हुनैपर्छ । त्यसका लागि बिहेअघि नै धेरै कुरा सोच्नुपर्छ । सोध्ने कुराहरु धक नमानी सोध्नुपर्छ । बुझ्ने कुराहरु अल्छी नमानीकन बुझ्नुपर्छ । रुप–सौन्दर्यको पछि लाग्दा, धन–सम्पत्तिको पछि लाग्दा र नाता–सम्बन्धको पछि लाग्दा धोका हुन पनि सक्छ । बिहे पटकपटक भइरहने विषय होइन । र, यो दस मिनेटको कुराकानीका भरमा निर्णय गर्ने कुरा पनि होइन । जिन्दगी बिताउने कुरा र सँगै सहयात्रा गर्ने सवालमा कोही पनि उदार हुनु आवश्यक छैन ।
कतिपय युवा यसो पनि भन्छन्–
‘तपाईंले हेरेपछि मलाई हुन्छ । तपाईंलाई राम्रो लागेको भए मैले हेर्नुपर्दैन । अर्थात्, यहाँहरुले हेरेको मान्छेप्रति मलाई पूर्ण विश्वास छ ।’
तर, यस्तो दार्शनिक गफले अव चल्दैन, न त बाआमाले हेरेर नै छोराछोरीलाई चित्त बुझ्छ । आधुनिक युग हो भन्दैमा सबैलाई खराब आँखाले हेर्नु पनि हुन्न । र, राम्रा देखिएका मान्छेको पनि पूर्ण रुपमा भर पर्न सकिँदैन । यो पुरूष–महिला दुवैको हकमा लागू हुने कुरा हो । प्रविधिको युगमा पनि लमी लगाएर ‘खानदानी’ गफ चुटेर बिहेबारी गर्ने हो र ? एकअर्काको रूचि र स्वभाव पनि थाहा नपाइकन पनि के बिहे गर्न हतारिनु ?
यस विषयमा एक जना प्राज्ञ तर अविवाहित मित्रको सुझाव यस्तो छ–
‘बिहे त सबैले गर्छन् । एक पटक गर्नुपर्छ । गर्दिनँ भन्न पनि पाइन्छ । तर, बिहे गर्दा एकअर्काबीच खुलस्त हुनुपर्छ । त्यसका लागि सामाजिक सञ्जाल फेसबुक एउटा माध्यम हुनसक्छ । सम्बन्धित उम्मेदवारसँग फेसबुकमार्फत च्याटिङ गर्ने, आ–आफ्ना कुराहरु शेयर गर्ने र इच्छा लागे भेटेरै पनि खुलस्त कुराकानी गर्न सकिन्छ । यस्तैमा कतिको त ‘लभ’समेत पर्न सक्छ । नभए पनि ‘फेसबुक फ्राइन्ड’ त भई नै हालिन्छ । केटी हेर्न जाँदा जन्ती लिएर जाने र चियाचमेना खाएर हल्लीखल्ली मच्चाउनुभन्दा बिहे गर्न तयार हुने दुई प्रतिनिधिबीच भेटघाटको वातावरण मिलाउनु उत्तम हुन्छ ।’
उनको कुराले मन छोयो । उपयुक्त लागे राजी हुन्छन्, नभए पनि साथी बन्न सक्छन् । कम से कम यस्तो अवस्था आयो भने बाबुआमाको करकापले बिहे गरेर पछि पछुताउनु पर्ने, बिहेकै दिनमा टाप कस्नुपर्ने अवस्था आउने थिएन, न त बिहेपछि मेरो फलानोसँग प्रेम थियो भनेर नै पछुताउनु पर्ने अवस्था आउँछ । प्रेम–प्रसङ्ग नै चलेको छ भने आफ्नो रोजाइको मान्छेसँग मेरो प्रेम छ भन्न किन कन्जुस्याइँ गर्नुप¥यो र ? जबर्जस्ती बिहे कसले गर्छ र यो जमानामा ? यत्ति पनि सोच्न नसक्नेले किन बिहे गर्नु ? सोचविचारै नगरी निर्णय गर्दा भविष्यमा पछुताउनुभन्दा अर्को विकल्प रहँदैन ।
एक पटक एक जना आफन्तको बिहेमा जन्ती जाँदा दिदीले ‘फ्लाइङ म्यारिज’ गरेपछि वैकल्पिक रुपमा बहिनी लिएर आउनु परेको थियो । यस्तो अवस्था कसैको पनि नआओस् । अझ पुरूषहरुले त बिहे भइसकेपछि पनि अविवाहित नै हो भनेर झुक्याएर बिहे गरेका दृष्टान्त पनि छन् । टीका लगाइसकेपछि पुरानै गर्लफ्रेन्डलाई लिएर हिँड्दा सामूहिक गोदाइ खाएको र ‘नामर्द’को उपाधि भिर्नु परेका उदाहरणहरु पनि हाम्रै समाजमा भेटिन्छन् । अरुको जीवनमाथि खेलबाड गर्ने छूट कसैलाई पनि हुनुहुँदैन । र, क्षतिपूर्ति तिरेर आत्मसम्मानमा लागेको चोट कहिल्यै पनि पूरा हुन सक्दैन । हतारमा बिहे गरेर फुर्सदमा पछुताउनुभन्दा ‘फुर्सदका कुरा’ मनन् गरेर बिहे गर्नु जाति हुन्छ । उमेर पुगेका र बिहे गर्न इच्छा भएकाहरुले फिल्मी बिहे होइन, अनमेल बिहे पनि होइन, सकिन्छ सबैको सहमतिमा प्रेम बिहे नै गरौँ । र, राम्रोसँग बुझेर मात्र मागी बिहे गरौँ । छानेर बिहे गर्नुभन्दा राम्रोसँग जानेर गरेको घरजम नै स्थायी होला कि कसो ?
Discussion about this post