-हिमांशु चौधरी
जनकपुरधाम । मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फागुको रौनक छाइरहेको छ ।
जातिपाति, छुवाछूत, सानो ठूलो, धनी गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावनाको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो ।
फागु पर्वको इतिहास वसन्त र वसन्तका मदन अर्थात् कामदेवको पूजाबाट सुरु हुन्छ । त्यसैले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रुपमा पनि मनाइन्छ । वसन्तोत्सवले हाम्रो जीवनमा यौवन भरी प्रकृतिको सौन्दर्यबाट हामीलाई प्रशन्न तुल्याउँछ ।
प्रकृतिको सुन्दरतामा मनुष्यलाई प्रशन्न गरी उसका सबै घाउलाई भर्न सकिने क्षमता छ । अतः मानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने हुँदा प्रकृतिको सौन्दर्य पर्व मनाउनलाई पाश्चात्य देशहरूमा एउटी सुन्दरी बालिकालाई छानेर उक्त बालिकालाई प्राकृतिक फूलैफूलले सजाई सौन्दर्य रानीको संज्ञा दिई वसन्त पर्व मनाउने चलन पनि पाइन्छ ।
पर–परा यी दुईटा शब्दहरू मिली परम्परा शब्द बन्छ, अत ः परम्परा भन्नाले उत्तरोत्तर विकसित हुनु हो । यसर्थ, परम्परा कहिल्यै मर्दैन बरु यसमा परिवर्तन भइरहन्छ । प्राचीनकालमा वसन्तोत्सवको रुपमा मनाइने चाड कालान्तरमा प्रल्हाद, कृष्ण, होलिका, ढुण्ढा आदिका कथा माध्यमले फागु, फगुवा, होली, होरी, नाउँबाट पुकार्न थालियो ।
फाल्गुने पूर्णिमायां तु दुग्धा भवति होलिका ः।
पश्चात् प्रात ः समुत्थाय होलिकोत्सव ः ।।
अर्थात् फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ, त्यसको अर्को दिन बिहानै उठेर होलिकात्सव मनाइन्छ ।
होलिका वसन्त आरम्भको बेलाका एक लोकप्रिय पर्व हो । फागुलाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ । मिथिलाञ्चलमा यो पर्व अत्यन्त लोकप्रिय मानिन्छ । यो पर्व प्राचीनकालदेखि नै मनाइने गरिएको तथ्यहरू पाइन्छ ।
बराह पुराणमा फागुन पूर्णिमालाई पटवास बिनासनी भनिएको छ । पटवास भनेको अबिर जस्तो चूर्णलाई भनिन्छ । पौराणिक कथनअनुसार, यस उत्सवको आरम्भ रघुराजाबाट भएको हो । यो पर्व बाल स्वास्थ्य तथा नारी सौभाग्यसित पनि सम्बन्धित रहेको छ ।
सत्य तथा ज्ञानको प्रतीक प्रल्हाद र विज्ञान तथा भौतिकवादी हीरण्यकश्यपुको कथासँग यो पर्वलाई अध्यात्मवाद र भौतिकवादको द्वन्द्वको रुपमा पनि लिइन्छ । कृष्णले आफूलाई विषयुक्त दूध पिलाउने पुतना राक्षसीको वध गरेपछि गोप गोपिनीले रास लीलाका साथ रङ्ग खेलेर उत्सव मनाएको तथ्य पनि पाइन्छ ।
ब्रम्हाले सृष्टिको शुभारम्भ पनि फागु पर्व मनाउने वसन्त ऋतुमा नै गरेको कुरा यस श्लोकबाट प्रमाणित हुन्छ – चैत्रेमासे जगद् ब्रम्ह ससर्ज प्रथमे हनि ।
भगवान् विष्णुले पनि सत्ययुगमा यसैदिन मत्स्यावतार धारण गरेको शास्त्रहरूमा उल्लेख पाइन्छ । प्रतापी राजा रघुको राज्यमा अमनचैन सुखशान्ति हँुदाहँुदै त्यहाँ कुनै ठाउँमा ढुण्ढी नामकी राक्षसीले बालबालिकाको अपहरण गरी दुःख दिएको हुँदा चिन्तित राजाले राक्षसीलाई राज्यबाट निकाल्ने प्रयास गरे तर सफल भएनन् । अनि वशिष्ठ ऋषिसँग अत्याचारबाट मुक्त हुन राक्षसी हटाउने सुझाव लिए ।
कुनै ठाउँमा अग्निकुण्ड बनाई प्रचण्ड अग्नि जलाई सो रापले नभेट्ने ठाउँमा बालबच्चा र ठूला शक्तिको उल्लासपूर्ण भेला र नाचगान गराउँदा राक्षसी आउँछे । त्यसैबखत अश्लील गालीगलौच गर्दै लखेट्दा थकाइले आफैँ मर्छे भने सुझाव दिए र त्यस्तै भयो । राक्षसीको मृत शरीर जलाई सो खरानी सबैले उडाए र टीका लगाए ।
नराम्रो प्रवृति उन्मूलनको खुशियालीमा वर्ष दिनमा एक पटक फागु पूर्णिमा तिथिमा अबिर आदि रङ्ग र फूलका रसहरू खेल्दै परस्परमा मनोरञ्जन गर्ने होली उत्सव मनाए । कुनै कालखण्डको फागुन तिथिमा महादेवले कामदेवलाई नाश गरेको खुशियालीको सन्दर्भमा यो पर्वको विशेषता र सुरुवात भएको मदन तथा कामदेवको भावलाई पूर्वीय तथा पाश्चात्य विद्वान वात्स्यायन र फ्रायडको विचारमा एकरुपता भएको पुष्टि विश्वप्रसिद्ध छ । दुवैको निष्कर्षमा रङ्ग र पानीबाहेक यो पर्वलाई रति र कामको पूजन पर्व मदनोत्सव पनि भनियो ।
श्रीमद् भागवत पुराणमा पुतना राक्षसीले बच्चाबच्चीलाई दूध चुसाउने निहुँमा दुःख दिएको, कसैलाई मारिदिएको, कृष्णलाई समेत त्यसै गर्न लाग्दा कृष्णले पुतनालाई नै मारिदिए । नगरवासीले राक्षसीको लास जलाएको खरानीले नै होली खेले । गोपिनीले रङ्गको उत्सव मनाएका र कृष्णले शृङ्गार रसकी राधालगायत अन्य सहेली साथीसँग फागु खेलेका कथा पनि पाइन्छ । साथै हिमालमा शिव पार्वतीले फागु उत्सव मनाएका, लङ्का युद्धमा रावणसँग विजयपछि अयोध्यावासीसँग राजा रामले खुशियालीका रुपमा फागु खेलेका आदि कथाले असत्यमा सत्यको, अर्धमा धर्मको, कुकर्ममा सुकर्मको जितको परिणाम उल्लेख छ ।
फागुने पौर्णमासी च सदा बालविकासिनी ।
ज्ञेया फाल्गुनिका सा ज्ञेया लोकविभूतये ।।
अर्थात्, फागु पू्र्णिमा पर्व बालक्रिडा र बालविकासका लागि मनाइन्छ । फागु दुनियाँलाई धन्यधान्यबाट समृद्ध गरी मनोरञ्जक क्रिडाका लागि प्रसिद्ध छ । यसैगरी, बराह पुराणमा पनि फागुलाई फाल्गुनिका धनी यस पर्वमा अबिर जस्तो चूर्ण प्रयोग गरी क्रिडा गरेमा सबैको भलो हुने कुरा उल्लेख छ ।
श्री हर्षचरित संस्कृतको रत्नावली नाटिकामा पनि कोशाम्बी नगरीमा अबिर आदि रङ्ग परस्परमा छ्याप्दै फागु खेलेको चित्रण पाइन्छ । आयुर्वेद शास्त्रमा केशरी, अबिर जस्ता प्राकृतिक रङ्गको प्रयोगले जीवनमा खुुसी भरी छालालाई सफा गर्ने कुराको सङ्केत पाइन्छ । कृषि शास्त्रको दृष्टिले पनि होलक लातीति होलिका अर्थात् केराउ, चना आदिका बालालाई भुट्ने, पोल्ने कामलाई होलक भनिन्छ र चना जौ, गहुँ आदि नयाँ अन्न अग्निलाई भोग लगाउने समय जुन पर्वले ल्याउँछ, त्यो पर्व नै होलिका हो ।
फागुको समयमा पाकेका चना आदि प्राणपोषक नयाँ अन्नलाई अग्नि देवतालाई चढाएर मात्र घरमा भित्र्याउने परम्परा विशेषरुपमा मिथिलाञ्चलमा रही आएको छ । होली सबै प्रकारको राग, द्धेषरहित सद्भाव र समताको पर्व हो भन्ने कुरा यसरी स्पष्ट हुन्छ – होलास्ति समतापर्वः
पौराणिक कथाअनुसार, प्रह्लादकी फुपू होलिकालाई भष्म नहुने बरदान प्राप्त थियो । आफ्नो दाइ हिरण्यकश्यपुको आज्ञाअनुसार उनी प्रह्लादलाई मार्न उसलाई काखमा राखेर आगोमा पस्दा मरिन् तर ईश्वरभक्त प्रह्लादलाई केही भएन । यसैको सम्झनामा होलिकालाई जलाएर होलिकोत्सव मनाइने गरिएको पनि पाइन्छ ।
होली पर्वमा विभिन्न धर्मावलम्बीहरू सहभागी भएर यसको सांस्कृतिक पक्षलाई सबल र सशक्त बनाउँदै आएको पाइन्छ । यहाँसम्म की अचेल हिन्दू र मुस्लिमसँगै मिलेर अबिर आपसमा दलेर, अङ्कमाल गरेर फागुको सद्भावना र शुभेच्छा सम्प्रेषित गरेर यस पर्वमा सहभागी हुन्छन् । यसकारण पनि मिथिलाञ्चलमा अहिले फागुका गीतहरू यसरी प्रतिध्वनित भइरहेका छन् –
जनकपुर रङ्गमहल होरी
किनकाके हाथ कनक पिचकारी
किनकाके हाथ अबीर झोरी
रामके हाथ कनक पिचकारी
लक्ष्मण हाथ अबिर झोरी
जनकपुर रङ्गमहल होरी ।। रासस
Discussion about this post