बसन्त पराजुली
भरतपुर । नेपालमा चराको संख्या बढे पनि प्रजातिको संख्या घट्दै गएको प्रतिवेदन सार्वजनिक हुँदैछ । हालै गरिएको चरा गणनाको प्रतिवेदनमा चराको वर्तमान अवस्थाका बारेमा जानकारी दिने प्रयास गरिएको छ । विभिन्न चरा संरक्षणमा जुटेका संघ–संस्थाहरुले गरेका अध्ययन प्रतिवेदन एक महिनाभित्र सार्वजनिक हुँदैछ ।
‘चराको अध्यययन पूरा भयो अव यसको अध्ययन प्रतिवेदन सार्वजनिक हुन्छ’, अध्ययनमा संलग्न वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष बासुदेव बिडारीले भने, ‘अध्ययन प्रतिवेदन एक महिनाभित्र सार्वजनिक हुँदैछ । चराको संख्या बढेको र प्रजातिको संख्या घटेको प्रारम्भिक प्रतिवेदन छ ।’ कति प्रकारका चराका प्रजाति घटे भन्ने कुरा यसै भन्न नसकिने उनले बताए ।
सोसाइटीसहित नेपाल पक्षी विद् संघ, नेपाल पक्षी संरक्षण संघ, हिमालयन नेचर गाइड संस्थाले चराको अध्ययन गरेका थिए । ‘गिद्धका चार प्रजाति, खर मजुरका दुई प्रजाति, गरुणका दुई प्रजातिलगायत चराहरु अति लोपोन्मुख अवस्थामा पुगेका छन्’, अध्ययनबाट प्राप्त निचोडका बारेमा जानकारी दिँदै उनले थपे, ‘अति संकटापन्न सूचीमा रहेका धेरै चराहरु लोप हुँदैछन् ।’
सन् २०१० को चरा गणनाअनुसार नेपालमा ८७१ प्रजातिका चरा भेटिएका थिए । जसमध्ये चितवनमा ५६८ छन् । नेपालमा पाइने चरामध्ये झण्डै डेड सय प्रजाति संकटापन्न सूचीमा रहेका छन् । जसमध्ये ३६ प्रजातिका चरा अति संकटापन्न सूचीका हुन् । यस्ता चरा चितवनमा मात्रै २२ प्रजातिका छन् ।
‘विगतमा पाइएका धेरै चरा अहिले हराएका छन् । नयाँ चरा पनि देखिएका छन्’ नेपाल पक्षी संरक्षण संघका स्थल जीव विज्ञ कृष्णप्रसाद भुसालले भने, ‘नयाँ अध्ययन प्रतिवेदनले चराको अहिलेको वस्तुस्थिति सार्वजनिक गर्नेछ ।’ चार प्रजातिका गिद्ध, दुई दुई प्रजातिका खरमजुर र गरुण, सारस लगायतका चराहरु अहिले संकटमा पुगेको पनि उनले बताए ।
‘बढ्दो वासस्थान विनास, कृषि बालीमा विषादीको प्रयोग र चोरी शिकारी नै चराको प्रजाति घट्नुको कारण हो’, चराको अध्ययनकर्तासमेत रहेका बिँडारीले भने, ‘संकटमा परेका चराको त कुरै छाँडौ अति संकटमा परेकाको पनि सरकारले संरक्षणका लागि खासै चासो नदिँदा समस्या आएको हो ।’
चराको संरक्षणमा लागेका केही गैरसरकारी संस्थाहरुको पहलले मात्रै चरा संरक्षण हुन नसक्ने निष्कर्ष यो क्षेत्रका विज्ञहरुको छ । ‘कमसेकम खतराको सूचीमा रहेका चराहरुको संरक्षणका लागि भए पनि सरकारी पहल सुरु हुन जरुरी छ’, विज्ञ भूसालले भने, ‘चरामा हुने अवैध चोरी निकासी र सिकार रोक्न सकियो भने पनि यसको संरक्षणका लागि कोषेढँुगा सावित हुनेछ ।’
चरा संरक्षणसम्बन्धी कानुनको अभाव रहेको पनि बताइएको छ । चराविज्ञहरु भन्छन, ‘जसरी हुन्छ चराको संरक्षणमा ठोस कार्यक्रम चाँडै अगाडि आओस् ।’
Discussion about this post