नारायणगढ । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा रु १०, डिजेल र मट्टितेलमा रु ६, आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर रु छ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ ।
मूल्य वृद्धिसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १४०, डिजेल र मट्टितेल रु १०९, हवाई इन्धन प्रतिलिटर रु १४३ र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर ११४ अमेरिकी डलर पुगेको छ ।
निगमको प्रतिमहिना घाटा रु एक अर्ब ६९ करोड ७१ लाख रहेकामा मूल्य समायोजनपछि रु एक अर्ब दुई करोड घाटा हुने निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले जानकारी दिनुभयो । निगमका प्रवक्ता मुकुन्द घिमिरेले अन्तर्राष्ट्रिय बजार मूल्यलाई समायोजन गर्दै आन्तरिक घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिनुभयो ।
यता नेपाल सरकारले शुक्रबार पेट्रोलियम पदार्थमा गरेको चर्को मूल्य वृद्धि फिर्ता गर्न विभिन्न संघ–संगठनहरुले माग गरेका छन् । नेपाल आयाल निगमभित्रको अनियमितता, इन्धनको चुहावट, अनावश्यक रुपमा भर्ती गरिएका कर्मचारीहरूको बोझ र व्यवस्थापनको असमर्थताका कारण निगम घाटामा गएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले मूल्य वृद्धि फिर्ता नलिए सडक आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका जिल्ला सचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी आयम निगम भित्रको व्यापक अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण नगरी मूल्य वृद्धि गर्नु विदेशी दलालको सेवा गर्नु हो भनेका छन् । ‘जनतालाई विभिन्न सुखसुविधाको आश्वासन दिइ जनताको जनजीवनसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्नु कोइराला नेतृत्वको सरकार जनविरोधी भएको प्रष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी नेपाल विद्यार्थी संघ चितवनका सचिव दीपक दवाडीले विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको घोर भत्र्सना गर्दै तत्काल फिर्ता गर्न माग गरेका छन् । मूलय वृद्धिका कारण खाद्यान्न, यातायात, बसोबासर उपचारलगायत जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मूल्य वृद्धिबारे तत्काल पुर्नविचार गर्न सुझाव दिएका छन् ।
यसैबीच, स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसका सभापति निरज भट्टले विज्ञप्तिमार्फत मूल्य वृद्धिको निन्दा एवम् भत्र्सना गरेका छन् । उनले लोकतान्त्रिक सरकारले नै पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गर्नु गैरजिम्मवेवारी कार्य भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा ‘नेपाली जनताको ढाड सेक्ने गरी गरिएको मूल्य वृद्धि तत्काल खारेज गरी वैकल्पिक उपायहरुको खोजी गर्न जोडदार माग गर्दै यस्तो गैरजिम्मेवारपूर्ण कार्यका विरुद्ध सशक्त आन्दोलनमा उत्रने’ चेतावनी दिइएको छ ।
यसैगरी, युवा संघ नेपालका सचिवालय सदस्य खेमराज भट्टराई, वाईसीएल नेपालका जिल्ला अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’, राष्ट्रिय युवा जनस्वयंसेवकका जिल्ला संयोजक किरण पोखरेल ‘केशव’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालका जिल्ला अध्यक्ष भानु खरेललगायतका विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी अविलम्व मूल्य वृद्धि फिर्ता गर्न आग्रह गरेका छन् ।
यस्तै, नेविसंघ चितवनका प्रतिनिधि परमेश्वर खनाल, अखिल क्रान्तिकारी चितवनका अध्यक्ष दिलीप पौडेल, अनेरास्ववियु चितवनका अध्यक्ष केशव कँडेल र अखिल (क्रान्तिकारी) चितवनकी अध्यक्ष सरस्वती अधिकारीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध स्वरुप आज शनिबार एक घण्टे चक्काजाम गर्ने भएका छन् ।
यस्तै, अखिाल नेपाल ट्रेड युनियन महासंघको एक घटक अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सुमन भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दोस्रो संविधानसभाबाट दलहरुले एकवर्ष भित्र संविधान लेख्ने प्रतिवद्धता जनाइरहेको अवस्था संविधान लेखन प्रक्रियालाई अन्यन्त्रै मोड्न पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको आरोप लगाउँदै यसबाट श्रमिक क्षेत्रलाई गम्भीर असर पुग्ने जनाएको छ । मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संघर्षमा उत्रन बाध्य नपार्नसमेत चेतावनी दिइएको छ ।
Discussion about this post