नेपाली लोकसंगीत र पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा विशेष योगदान गर्दै आएका गायक मिलन लामा यतिबेला चितवन हात्ती महोत्सवको सांस्कृतिक तयारीमा व्यस्त छन् । चितवनको पर्यटकीय नगरी सौराहाले उनलाई गायक बनायो । त्यसैले संगीतको पहिलो पाठशाला सौराहा हो भन्दा उनलाई गर्वको अनुभूति हुन्छ । बीस वर्षअघि सौराहामा उनले सांस्कृतिक कार्यक्रम गर्दा यस पंक्तिकारले उनीसँग पहिलो अन्तर्वार्ता लिएको थियो । बीस वर्षमा राप्ती र नारायणी नदीमा धेरै पानी बगे । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । उनका समकालीन कलाकार तथा गायक कोही विदेश पलायन भए, कोही गुमनाम रहे । तर, मिलन लामा गीतसंगीतको क्षेत्रमै लागिपरिरहे, रमाइरहे । जन्मथलो र देशलाई माया गर्ने यी कलाकारले मायाप्रेम, प्रकृति, पर्यटकीय क्षेत्र र नयाँनयाँ गन्तव्यका बारेमा गीतमार्फत् नै प्रवद्र्धन गरिरहे । उनले २०० भन्दा बढी गीत गाए । आजको जस्तो सूचना प्रविधि र सामाजिक सञ्जालको व्यापकता नरहँदासमेत एकपछि अर्को लोकप्रिय गीत पस्किएर आमस्रोताको मन जिते । उनी कहिले विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त हुन्छन् त कहिले विपन्न माझी, मुसहर र थारुको घर बनाउन तल्लीन । सधैँ व्यस्त र मस्त रहने सबैको मन र मुटुमा बस्न सफल गायक मिलन लामासँग दुई दशकपछि पुनः चितवन पोष्ट दैनिकका सहसम्पादक केशव भट्टराईले गरेको साक्षात्कार यहाँ प्रस्तुत गरिएको छ ।
१) दुई दशकपछि फेरि अन्तर्वार्ता लिने मौका मिलेको छ । अहिले दिनचर्या कसरी बितिरहेको छ ?
– गीतसंगीतबाहेक मेरो अन्य पेसा व्यवसाय केही छैन । जीवनपर्यन्त म यसैमा व्यस्त रहन्छु । मलाई गायकका रुपमा स्थापित गर्ने मेरो प्यारो पर्यटकीय नगरीमा १६औँ संस्करणको चितवन हात्ती महोत्सव पुस १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुँदैछ । महोत्सवको सांस्कृतिक उपसंयोजकको हैसियतले कलाकार निमन्त्रणा गर्ने र महोत्सव सफल बनाउने अभियानमा व्यस्त भइरहेको छु ।
२) भ्रमण वर्ष सन् २०२० पनि संघारमै आउँदैछ । भ्रमण वर्षलाई लक्षित गरी कुनै गीत ल्याउँदै हुनुहुन्छ कि ?
– अहिले नयाँ गीत तामाङ सेलो र गुरुङ चुड्का गीत आउने तयारीमा छ । अंग्रेजी नयाँ वर्षसँगै भ्रमण वर्षमा पर्यटकीय क्षेत्र मेघौलीलाई लक्षित गरी नयाँ गीत आउँदैछ । ‘खुसीयाली थाल्नेछन् वर्षमा हात्ती चढी गैँडाको दर्शन, रमाउँछ तिम्रो आत्मा मोटरमा सरर, आउनु है घुम्न मेघौली गोलाघाटमा’ बोलको गीत रेकर्ड भइसकेको छ । अब छायांकनको तयारी हुँदैछ ।
३) पहिले र अहिले गीतसंगीतको माहोलमा के भिन्नता पाउनुभयो ?
– पहिले गीतको क्यासेट निकालेर बेच्नुपथ्र्यो । अहिले सामाजिक सञ्जालका कारण क्यासेट बिक्री गर्ने झन्झट हुँदैन । युट्युब, फेसबुकको जमाना छ । एउटै गीतले भाइरल हुन सकिन्छ । तर, अहिलेको चुनौती यो छ कि एउटा गीतमा भाइरल बनेको गायक अर्को गीतमा गुमनाम हुन पनि सक्छ । गीतसंगीतमा स्थापित भइरहन निकै चुनौती छ । प्रतिस्पर्धा बढ्दो छ । अहिले टिभी हेरेर र क्यासेट सुनेरमात्र गायक बन्न सकिँदैन । कलाकार बन्न सजिलो छैन । टिक्न उत्तिकै गाह्रो छ । मलाई कृष्णभीरमा जाम, माझीदाइ पोखरा, हङकङ आईडीले जस्ता गीतले स्थापित गरेको हो । त्यसबेला युट्युब र सामाजिक सञ्जाल नभए पनि विदेशका दर्जनौँ कार्यक्रममा गाउने अवसर मिल्यो । जसका कारण म यस क्षेत्रमा निरन्तररुपमा लागिरहन सकेँ ।
४) तपाईंका समकालीन गायकहरु विदेश पलायन भएका छन्, तपाईंलाई विदेशमोहले किन छोएन ?
– गीतसंगीतले नै बाँच्न पुगेर होला भनौँ । कलाकार भएर ४० वटा भन्दा देशमा कार्यक्रम गर्न सकेँ । अमेरिकामा नै ६ पटक कार्यक्रम गरेँ । जनवरी २५ मा भियनामा करिब एकसाताको कार्यक्रमका लागि जाँदैछु । विदेश जानुपर्ने उमेरमा आकर्षण भएन । अवसर नआएको पनि होइन । आजका दिनसम्म विदेशमोह छैन भनौँ । भोलि के हुन्छ भन्न सक्दिन । सांगीतिक क्षेत्रका साथीहरु क्यानडा, अमेरिका, युरोपमा हुनुहुन्छ । तर, कुनै गुनासो छैन । उहाँहरु त्यहाँ भएर मलाई सहयोग नै पुगेको छ । काठमाडौँमा घर बनाउने इच्छा अधुरै रहे पनि गीतसंगीतकै कमाइले खोलाको बगरमा केही जग्गा जोडेँ । जुन जग्गा पर्यटकीय आकर्षणको केन्द्र बनिदियो । अहिले खोलाको छेउमै पर्यटक आउँछन्, घुम्छन्, रमाउँछन् । काठमाडौँमा जग्गा नकिनेर राम्रो गरेछु भन्ने लाग्छ । जन्मथलोलाई नै माया गरेर गीत गाएर यही थलोमा मर्ने मेरो चाहना छ ।
५) तपाईंले मुसहर, माझीजस्ता विपन्न परिवारका लागि घर बनाउने अभियान पनि चलाउनुभएको थियो, त्यो अभियान कहाँ पुग्यो ?
– समाजमा रहने हरेक व्यक्तिको समाजप्रति उत्तरदायित्व रहन्छ, रहनुपर्छ । एउटा कलाकार हुनुको नाताले मेरा पनि केही सामाजिक उत्तरदायित्व थिए, छन् । जसअनुसार मैले ‘मिलन होम्स्’ अभियान चलाएँ । यस अभियानमा हालसम्म १२ वटा घर तयार गरी घरविहीनलाई हस्तान्तरण गरेँ । यो निरन्तर चलिरहेको छ । घर आवश्यकताअनुसार बनाउने हो जसका लागि पर्याप्त आर्थिक स्रोत पनि चाहिन्छ । अहिले घर बनाउन कतैबाट सहयोग आएको छैन । पहिले देशविदेशमा रहने साथीभाइ, शुभेच्छुकहरुले सहयोग गर्नुभयो । मेरो जीवनकालसम्म एक सय वटा घर बनाउने मेरो उद्देश्य हो । यो मेरो जीवनपर्यन्तसम्म निरन्तर चलिरहन्छ । अहिलेचाहिँ शिक्षाका लागि आवाज भन्ने अभियानका साथ विपन्न बालबालिकाहरुलाई कापीकलम वितरण गरिरहेको छु ।
६) तपाईं कहिले विपन्नका लागि घर बनाइदिनु हुन्छ, कहिले दुःखमा सहयोग पनि गर्नुहुन्छ । यसको स्रोतचाहिँ कसरी जुटाउनुहुन्छ ?
– म विदेशका विभिन्न स्टेज कार्यक्रम गरिरहन्छु । संगीतप्रेमी दाजुभाइ दिदीबहिनीले गीत मन मराएर फूल लगाइदिन्छन्, टोपीमा जम्मा भएको रकम सामाजिक काममा खर्च गर्छु । त्यही रकमले कापीकलम वितरण गर्दै आएको छु । घर बनाउने रकमचाहिँ साथीभाइसँग आग्रह गर्छु । मेरो कुनै एनजीओ÷आईएनजीओ छैन । कुनै पनि संस्थाबाट सहयोग आउँदैन । नितान्त व्यक्तिगत प्रस्तुति र साथीभाइले प्रदान गर्ने सहयोगबाट घर बनाइदिएको हुँ । टोपी थापेर जम्मा भएको सहयोग वा कुनै कार्यक्रमको च्यारिटीबाट आउने सहयोगबाटै मेरो अभियान चल्दै आएको छ ।
७) अहिले विभिन्न मेलामहोत्सवमा कलाकारहरु देश दौडाहामा छन् । तपाईंको दौडधूप कस्तो छ ?
– सबै कलाकारले आफ्नै क्षेत्रलाई बढी प्राथमिकता दिएका हुन्छन् । मलाई देशभर थुप्रै ठाउँबाट निम्तो आइरहेको छ । कति ठाउँमा पुगेँ । कति कार्यक्रममा जान असमर्थ छु । मैले गीतसंगीतका माध्यमबाट विभिन्न पर्यटकीय क्षेत्र र त्यहाँका विशेष ठाउँहरुको प्रवद्र्धन गरिरहेको छु । भ्रमण वर्षको दौरानमा आफ्नै ठाउँमा हात्ती महोत्सव भएकाले चितवनकै पर्यटन प्रवद्र्धनका लागि जुट्दैछु । सौराहा मेरो गीतसंगीतको पाठशाला पनि भएकाले सौराहाको महोत्सवपछि अन्य कार्यक्रममा व्यस्त हुनेछु ।