–दिपेन्द्र अधिकारी
भरतपुर । उपचारका लागि घरबाट एक्लै अस्पताल आइपुगेको व्यक्तिको उपचारको क्रममा ज्यानै जाला भनेर कसले सोचेको हुन्छ र ? तर, नाकभित्र पलाएको मासुको सामान्य अप्रेसन गरी उपचार गर्न अस्पताल पुगेका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।
उपचारका लागि २५ गते नारायणी सामुदायिक हस्पिटल भरतपुर पुगेका कृष्णपुर निवासी ४२ वर्षीय कर्णबहादुर गुरूङको उपचारको क्रममा भएकोे लापरबाहीका कारण ज्यान गएको छ । अप्रेसनपश्चात् पनि लामो समय होसमा नआएपछि गुरूङलाई मृत्यु घोषणा गरिएको थियो ।
यस अस्पतालमा उपचारमा लापरबाही भएको यो नै पहिलो घटना भने होइन । यसअघि पनि धेरै बिरामीको उपचारमा लापरबाही भएको आरोप लागेको थियो । हस्पिटलले गुपचुप रुपमा हिसाबकिताब मिलाउने गरेको आरोप यअघि लागेको थियो । कतिपयलाई राहतस्वरुप लाखाँै दिएर, कतिलाई जागिरको प्रलोभन दिएर तथा जीवनभर उपचार गरिदिने सहमति गरेर हस्पिटलले यस्ता घटना सकेसम्म लुकाउने गरेको आरोप छ ।
‘गम्भीर खालका उपचारमा कसैको मृत्यु हुनु अस्वभाविक होइन । तर, सामान्य अप्रेसनमा भएको लापरबाहीबाट मृृत्यु हुनाले उपचारका लागि आउँदा मलामी पनि सँगै ल्याउनुपर्ने अवस्था आएको छ, मंगलबार हस्पिटल परिसरमा भेटिएका एक व्यक्तिले भने, ‘ज्यान जोगाउन आउँदा ज्यान खतरामा पर्ने भयो ।’
हस्पिटल र चिकित्सकको चरम लापरबाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तले सोमबार बेलुकी नै हस्पिटल परिसरमा विरोध प्रदर्शन गरेका थिए । हस्पिटलमा सुरक्षाका लागि सोमबार राति र मंगलबार दिनभर नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो ।
गोरखा बतासे ६ स्थायी घर भएका गुरूङ उपचारका लागि एक्लै अस्पताल आएका थिए । उनलाई अस्पतालमा सम्बद्ध डाक्टरले सोही दिन बेलुकी नै अप्रेसनका लागि तयार रहन सुझाएका थिए ।
विदेशमा काम गर्दै आएका गुरूङ केही समय अघिमात्रै यहाँ आएका थिए । उपचारका लागि हस्पिटल आइपुगेको व्यक्तिको असमायिक निधनले नारायणी सामुदायिक हस्पिटलको लापरबाहीपूर्ण उपचार श्रृंखला उदाङ्गो भएको छ ।
अस्पतालमा हुने लापरबाहीपूर्ण उपचारलाई भित्रभित्रै गुपचुपका साथ पीडित पक्षसँग मिलाउँदै आएको नारायणी सामुदायिक हस्पिटल प्रशासनले यस घटनालाई पनि गुपचुप राख्ने प्रयास गरेको थियो । पीडित पक्षसँगको मंगलबारको वार्तामा हस्पिटल प्रशासनले यस घटनालाई मिडियामा सार्वजनिक नगर्न पीडित पक्षसँग सर्त नै राखेका थिए ।
पीडित पक्षका एक सदस्यले भने, ‘जे नहुने भैहाल्योे, तपाइँ हामी मिले सबै मिल्छ, कृपया घटनालाई यतिमै सीमित राखिदिनुहोस्’, अस्पताल प्रशासनको भनाइ उदृत गर्दै पीडित पक्षका एक सदस्यले भने ।
घटना सार्वजनिक भएमा आफूहरुको बदनाम हुने भन्दै हस्पिटल प्रशासनले पीडित पक्षलाई सार्वजनिक नगर्न वार्ताको सर्त नै बनाएका थिए । मृतक गुरूङकी छोरीको बीएन पढाइ पूरा गराउने र श्रीमतीको आजीवन उपचार गर्ने सहमति वार्तामा भएको हस्पिटलले जनाएको छ ।
अप्रेशनमा नाक, कान र घाँटीका डाक्टर अमर श्रेष्ठ संलग्न थिए । क्यान्सर अस्पताल भरतपुरमा कार्यरत अधिकांश डाक्टरहरु यस हस्पिटलमा काम गर्छन् । क्यान्सरमा आउने बिरामीलाई पनि उपचारका लागि यसै अस्पतालमा आउन डाक्टरहरुले सिफारिस गर्छन् ।
Discussion about this post