-‘नियन्त्रण नभए धेरै चराहरु लोप’
बसन्त पराजुली
भरतपुर । चितवनमा झण्डै ४५ हजार स्कुले बालबालिकाले गुलेली प्रयोग गरी चरा मार्ने गरेका छन् । १० देखि १७ वर्ष उमेरका स्कुल पढ्ने बालबालिकाहरुले बढीमात्रामा गुलेली प्रयोग गरेको पाइन्छ ।
‘गुलेलीबाट चरा मार्ने क्रम बढ्दो छ’, चरा संरक्षण अभियानमा जुटेको ‘प्रकृतिका साथीहरु’ नामक गैरसरकारी संस्थाका निर्देशक राजु आचार्यले भने, ‘बढी चरा गुलेलीबाटै मारिएका छन् । यसको नियन्त्रण हुन जरूरी छ ।’ उहाँले ३० प्रतिशत स्कुल उमेरका बालबालिकाले चितवनमा गुलेली प्रयोग गरिरहेको जानकारी दिनुभयो । चितवनमा डेढ लाख बालबालिका अहिले स्कुलमा पढ्दैछन् ।
‘स्कुल जाँदैमा झोलामा गुलेली लिएर जाने र विद्यालयबाट फर्कदा चरा मार्दै फर्कने गर्छन्’, आचार्यले थपे, ‘गुलेली नियन्त्रण नगर्ने हो भने अझै धेरै संकटापन्न चराहरु लोप हुँदै जानेछन् ।
समथर भू–भागका तुलनामा अलि बढी पहाडी क्षेत्रका विद्यार्थीहरु गुलेली प्रयोग गर्छन् । मासु खानकै लागि उनीहरुले चरा मार्ने गरेका हुन् । चरा संरक्षण र अनुसन्धानमा क्रियाशील बासु बिडारी गुलेली प्रयोगमा निरूत्साहित गराउन नसक्दा यसको प्रयोग बढेको बताउँछन् ।
‘कालिज, ढुकुर, सुगा र मैना जातका डांग्रे, तित्रा, वनकुखुरा बढी मारिन्छन्’, उनले थपे, ‘चरा मारिने मुख्य साधन नै गुलेली हो ।’
‘तित्रा लोप हँुदै छ । वनकुखुरा संरक्षित क्षेत्रमा मात्रै देख्न पाइन्छ’, विडारीले भने, ‘ गुलेलीको प्रयोग रोक्न सकिएन भने चरा अझै संकटमा पर्नेछ ।’ एक हप्ताअघि झोलामा गुलेली राखेर विद्यालय जाँदै गर्दा शक्तिखोरमा भेटिएका एक विद्यार्थी मासु खानकै लागि चरा मार्ने गरेको बताए ।
‘बढी चमेरो मारिन्छ । अरू पाएका चराहरु पनि छाँडिदैन’, उनले भने, ‘चरा मा¥यो तरकारी खायो ।’ जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक बाबुराम दवाडी स्कुल उमेरका बालबालिका बढी जिज्ञासु हुने भएकाले पनि गर्न नहुने काम प्रति बढी उत्साहित हुने बताउँछन् ।
‘साथी भाइको संगत र बेफाइदाका बारेमा जानकारी दिन नसक्नु नै विद्यार्थीहरु गलत काममा लाग्नुको परिणाम हो’, उनले भने, ‘आज चरा मार्नेले भोलि मृग गैँडा मार्न पनि सक्छ । यो हिंसाको रूप हो, रोकिनुपर्छ ।’ अध्ययनकर्ता बिडारी जनचेतनाको कमीले गुलेली बढी प्रयोग भइरहेको बताउँछन् ।
‘गुलेली नियन्त्रणका लागि नेपालको कानुन फितलो छ । गुलेली निरूत्साहितका लागि जनचेतना जगाउन जरूरी छ’, बिडारीले भने । तर विद्यालय निरीक्षक दवाडी भने विद्यालयकै शैक्षिक कोषमै राम्रा नराम्रा कामका बारेमा जानकारी दिने काम गरेको प्रतिकृया दिन्छन् ।
‘सामाजिक सद्भाव, परिवार र सामाजिक सम्बन्ध, स्वास्थ्य र शारीरिक व्यायमलाई पाठ्यक्रममा समावेश गरिएका छन्’, दवाडीले थपे, ‘यो सवै विद्यार्थीलाई नैतिकवान बनाउन हो ।’ सैद्धान्तिक शिक्षाले मात्रै नभई व्यवहारिक रूपमै पनि परिवारदेखि नै गुलेली प्रयोग गर्न नहुने सम्बन्धमा चेतना जगाउन जरूरी रहेको उनले सुझाव दिए ।
Discussion about this post