बसन्त पराजुली
भरतपुर । क्यान्सर रोग नियन्त्रणका लागि प्रयोग गरिने केमोको औषधि राखिने भाँडा (बोतल) को उचित र वैज्ञानिक व्यवस्थापन हुन सकेको छैन । बोतल व्यवस्थापनमा देखिएको लापरबाहीले मानवीय स्वास्थ्यमा गंभीर प्रभाव पार्न सक्ने औंल्याइएको छ ।
‘केमो प्रयोग गरे पछिको बोतल र लगाउन प्रयोग गरिने सुई निर्मलीकरण गर्ने कार्यमा त्रुटी छ’ अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि अभियान चलाइरहेको संस्था हेल्थ केयर फाउण्डेशन नेपालका निर्देशक महेश नकर्मीले भने, ‘केमो औषधिले आफँैमा पनि केही नकरात्मक प्रभाव पार्छ । तर त्यसको बोतल जथाभावी फालिँदा त्यसको प्रत्यक्ष प्रभाव जनमानसमा देखिने सम्भावना छ ।’
क्यान्सर भएको कोशिका नियन्त्रणका लागि चिकित्सकको सिफारिसमा केमो प्रयोग गरिन्छ । यसले शरीरका कोशिकाहरु मार्ने काम गर्छ । यसरी जथाभावी फालिएका बोतलहरुमा रहेको केमोको मात्राले पनि असर गर्छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अंकोलोजी विभाग प्रमुख डा. भोला रौनियारले केमो चलाइएका बिरामीमा पनि यसका केही असर देखिन सकिने बताए ।
‘केमो लगाइएका बिरामीकै पनि कपाल झर्ने, शरीर पोल्ने र शरीरका अन्य कोशिकाहरु मरेर त्यसले असर गर्नेसम्म पनि हुन सक्छ’, उनले चितवन पोष्टसँग भने, ‘यसरी औषधि प्रयोग गरी फालिएका बोतलहरुको तत्काल गंभीर प्रभाव नदेखिए पनि मानिसको शरीरमा त्यो औषधिको मात्रा परे त्यसले असर गर्छ ।’
केमोका कारण मानिसको रगत कम भई रक्तअल्पताका कारण देखिने संक्रमणहरु पनि देखिन सक्छ । केमो चलाउने अस्पतालहरुले समेत यस्ता कुरालाई ध्यान दिई बिरामीलाई केमो चलाउनकै लागि विशेष कक्षसमेत बनाएको पाइन्छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नर्सिङ विभाग प्रमुख सरोजिनी शर्मा केमोका बोतलहरु निर्मुलीकरण नगरी फ्याकिँदा समस्या आउने बताउँछिन् ।
‘क्यान्सर अस्पतालले केमोको बोतल निर्मुलीकरणका लागि वैज्ञानिक विधि अपनाइएको छ’, उनले थपिन्, ‘केमोको व्यवस्थापनकै लागि बायोसेफ्टी क्याबिनेट (सुरक्षित औषधि बनाउने ठाउँ) जरूरी छ त्यो अस्पतालले बनाएको छ ।’
‘यो औषधि लगाउँदामै स्वास्थ्यकर्मीले समेत विशेष सावधानी अपनाउनुपर्छ’, शर्माले भनिन्, ‘बोतल त्यसै फाल्दा कस्तो प्रभाव होला ।’ क्यान्सर अस्पतालले यस्ता संक्रमणजन्य फोहोर तथा बोतल र सुइहरुलाई निर्मुलीकरण गरी जलाउँछ । औषधिका बोतल त्यसै फालिने समस्या निजी अस्पतालहरुमा बढी पाइन्छ ।
‘निजी अस्पतालहरुले त केमोको बोतल पनि सामान्य फोहोरमै राखेर फालिरहेका छन्’, निर्देशक नकर्मीले थपे, ‘बोतललाई निर्मुलीकरण गर्नुपर्ने हो त्यो हुन सकेको छैन ।’
संक्रमणजन्य फोहोर तथा बोतललाई अटोक्रेप (प्रेसर कुकरजस्तै भाँडो जसमा राखेपछि निर्मुलीकरण हुन्छ ) मा राखेर निर्मुलीकरण गरिनुपर्छ ।
चितवनमा कति केमो प्रयोग हुन्छ यकिन तथ्याङ्क पाइँदैन । तर पनि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले मात्रै दैनिक ११५ केमो चलाउँछ । चितवनका आधा दर्जनभन्दा बढी निजी अस्पतालले पनि यही हाराहारीमा केमो चलाउने गर्छन् । तर उनीहरुले केमो चलाएपछि बोतल व्यवस्थापनमा कमजोरी छ । निजी अस्पताल समन्वय समिति चितवनका नवनिर्वाचित उपाध्याक्ष केशव देवकोटा भने निजी अस्पतालहरुले फोहोर व्यवस्थापनका लागि पहल गरिरहेको दावी गर्नुभयो ।
‘अस्पतालबाट निस्कने संक्रमणजन्य फोहोरअन्तर्गत नै केमोका बोतलहरु पर्छन् । यसको वैज्ञानिक निर्मुलीकरणमा हाम्रो प्रयास जारी छ’, उनले दावी गरे ।
Discussion about this post