भरतपुर । चितवनका दुग्ध उत्पादक सहकारीहरु प्रविधिमैत्री बनिरहेका छन् । यहाँ रहेका १०४ वटा दुग्ध सहकारीहरु प्रविधिमैत्री बनेका हुन् ।
चितवनका सबै दुग्ध सहकारीहरुले सम्पूर्ण आर्थिक कारोबारका लागि कम्प्युटर सिस्टम प्रणाली अपनाएका छन् । सहकारीहरुमा किसानले ल्याएका दूधको एसएनएफ र फ्याट हेर्नका लागि एनालाइजर मेसिन जडान भएको छ ।
दुग्ध सहकारीहरु प्रविधिमैत्री बनेसँगै किसान र सहकारीबीचको अन्तर्विरोधको दूरी कम हुँदै गएको छ । दुग्ध किसानको संख्या पनि क्रमशः बढ्दै गइरहेको छ ।
‘कुनै समय एसएनएफ र फ्याट राम्रो दिएन भनेर किसान दुग्ध सहकारीलाई गाली गर्थे, सहकारीले किसानले दूधमा पानी हालेर ल्याए भन्ने आरोप लगाउने गर्थे’, केन्द्रीय दुग्ध सहकारी संघका सदस्य भागीरथ तिमिल्सिनाले भने, ‘अहिले दुग्ध सहकारीहरु प्रविधिमैत्री बनेपछि किसान र सहकारीबीच हुने गरेको अन्तर्विरोध कम हुँदै गएको छ ।
उनका अनुसार दुग्ध उत्पादक सहकारीहरुले एनालाइजर राखेपछि किसानले आफ्नो दूधको ठीक मूल्य पाएको महसुुुस गरेका छन् । ‘एनालाइजरले दूधमा आएको एसएनएफ र फ्याट सबै देखाइदिन्छ, किसानले आफैँले हेर्न पाउँछन्’, तिमिल्सिनाले भने, ‘एसएनएफ र फ्याटको आधारमा पैसा पाउँछन्, सहकारीहरुले एनालाइजर मेसिन राखेपछि कसैले एसएनएफ र फ्याटमा झुक्याउन पाएनन्, किसानले दुहेको भाँडो पखालेर ल्याए पनि दूधको मूल्य घट्ने भयो ।’
नीति, विधि र प्रविधिमा सहकारीहरुले सुधार गरेसँगै किसान र संस्थाबीचको सम्बन्ध सुमधुर हुँदै गएको छ । ‘सबै दुग्ध सहकारीहरु प्रविधिमैत्री छन्, लगभग सबै सहकारीले एनालाइजरको प्रयोग पनि गरेका छन्’, जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले भने ।
चितवनका ९९ वटा दुग्ध सहकारीहरुले एनालाइजर मेसिनको प्रयोग गरिरहेका अध्यक्ष न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘कति सहकारीले अनुदान पाए, कति आफैँले खरिद गरे, अब दुई÷चारवटा सहकारीले एनालाइजरको प्रयोग गर्न बाँकी छ ।’
किसानहरुका अनुसार हिजो सहकारीबाट दूधको मूल्य पाइएन भनेर गाईभैँसी बेच्नेहरु सहकारीमा एनालाइजरको प्रयोग हुन थालेपछि फेरि गाईभैँसी किनेर गोठमा बाँध्न थालेका छन् ।
जिल्ला दुग्ध सहकारी संघका सचिव किशोर बगालेले सहकारीहरुले एनालाइजरको प्रयोगमात्र होइन, जिल्लाका आधाभन्दा बढी सहकारीहरुले चिलिङ भ्याटको समेत प्रयोग गरिरहेका जानकारी दिए । उनले भने, ‘अब किसानका संघहरु पनि प्रविधिमैत्री हुन जरूरी छ, जिल्ला दुग्ध सहकारी संघ त्यही बाटोमा दौडिरहेको छ ।’
चितवन जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. दयाराम चापागाईंले गत वर्ष १३ वटा चिलिङ भ्याट र १७ वटा मिल्क एनालाइजर अनुदानमा वितरण गरेको र यसवर्ष पनि अनुदानका कार्यक्रमहरु भएको बताए । उनी दुग्ध सहकारीहरु मिल्क एनालाइजरको प्रयोग गरी प्रविधिमैत्री बनेका बताउँछन् ।
चितवनका सहकारीका कर्मचारीहरुलाई मिल्क एनालाइजर प्रयोगबारे तालिमहरु दिन सुरू गरिएको दुग्ध सहकारीले जनाएको छ ।
भरतपुर ६, केशरवागको अन्नपूर्ण दुग्ध सहकारी संघमा २५ जना विभिन्न सहकारीका कर्मचारीहरुलाई एनालाइजर चलाउनका लागि आधारभूत तालिम दिइएको छ । मत्स्य विकास निर्देशनालय प्रदेश नं ३ को सहयोगमा केन्द्रीय दुग्ध सहकारी संघले एनालाइजर तालिम उपलब्ध गराएको अन्नपूर्ण दुग्ध सहकारीका अध्यक्ष ऋषिराम चापागाईंले जानकारी दिए ।
जिल्ला दुग्ध सहकारीका अनुसार चितवनमा दैनिक दुई लाख ८९ हजार लिटर दूध उत्पादन भएको छ । किसानले न्यूनतम एक लिटर दूधको ५२ रूपैयाँ ४८ पैसा पाएका छन् ।