मोटरसाइकलको यात्रा जोखिमपूर्ण : दुर्घटनाबाट मृत्यु हुनेमा युवाहरु बढी

अन‌ि यो पनि

भरतपुर । लापर्बाहीका कारण मोटरसाइकलको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । युवाहरुले मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटनाको दर बढेको छ । सवारी दुर्घटनाबाट मृत्यु हुनेहरुमध्ये करिब ५० प्रतिशत मानिस युवा समूहका रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालू आव २०७६÷७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको छ, जसमा मोटरसाइकल दुर्घटनामा त्यसमा सवार २१ जनाको मृत्यु भयो भने १५ जना पैदलयात्रीको मृत्यु भएको छ । अन्य सवारी दुर्घटनाबाट नौ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनाबाट मृत्यु हुने ४५ जनामध्ये १८ वर्षदेखि ३० वर्ष उमेर समूहका २१ जना रहेका छन् । तथ्याङ्कअनुसार सवारी दुर्घटनामा मोटरसाइकल दुर्घटना उच्च छ भने मृत्यु हुनेहरुमा युवाहरुको संख्या धेरै छ । मोटरसाइकलमा पछाडि सवार व्यक्तिले पनि हेलमेट नलगाउँदा मृत्यु हुनेहरुको संख्या बढेको ट्राफिकको भनाइ छ ।

पहिलो चौमासिक (साउन–कार्तिक)सम्ममा सवारी दुर्घटनाबाट पूर्वपश्चिम राजमार्गमा १० जना, नारायणगढ–मुग्लिन सडकमा ११ जना, पृथ्वी राजमार्गमा चार जना, भरतपुर नगरमा पाँच जना र अन्य स्थानीय तहका भित्री सडकमा १५ जनाको मृत्यु भएको छ ।

महिनाअनुसार हेर्दा साउनमा १२ जना, भदौमा १२ जना, असोजमा नौ जना र कार्तिकमा १२ जनाको दुर्घटनाबाट मृत्यु भएको देखिन्छ । यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ११ हजार ५३४ सवारीलाई कारबाही गरी ८७ लाख ९८ हजार ६८ रूपैयाँ राजस्व संकलन गरिएको छ । कारबाहीमा पनि सबैभन्दा बढी मोटरसाइकल नै परेका छन् । तीन हजार २२९ मोटरसाइकल, दुई हजार १०६ बस, दुई हजार ३७ ट्रक र दुई हजार ७३३ कार/जिप/भ्यान कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना बढेको बताए । ‘टोल, वडादेखि विद्यालय तहसम्म ट्राफिक सचेतना बढाउने काम गरिरहेका छौँ’, उनले भने, ‘मोटरसाइकल चलाउँदा बढी हतार गर्ने, हेलमेट राम्रोसँग नलगाउने, जथाभावी मोड्ने गर्नाले दुर्घटना भइरहेको छ । त्यसलाई न्यूनीकरण गर्न सचेतना कक्षाहरु सञ्चालन गरिरहेका छौँ ।’ विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी ज्ञान दिनका लागि प्रहरीले ३३६ विद्यालयमा ट्राफिक शिक्षकको व्यवस्था गरेको छ ।

गत आव २०७५/७६ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु भएको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ३९७ सवारीसाधनलाई कारबाही गरी ९९ लाख ४१ हजार रूपैयाँ राजस्व संकलन गरिएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया