माडी । स्थानीय तहमा जनताको भोटबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको आधा कार्यकाल पूरा भएको छ ।
चितवनको दक्षिणी क्षेत्रमा अवस्थित माडी नगरपालिकामा पनि नगरप्रमुख, उपप्रमुख, नौ वडाका वडाध्यक्ष र सदस्यहरु निर्वाचित भएको साढे दुई वर्ष पुगेको छ ।
माडीमा पूर्वाधार विकास र कृषि तथा पर्यटन क्षेत्रको विकासमा भएका प्रयास र कामहरुप्रति नगरप्रमुख ठाकुरप्रसाद ढकाल सन्तुष्ट छन् । माडीमा साना ठूला गरी २७ वटा खोला रहेका छन् । जसमध्ये अहिले ठूला आठ वटा खोलामा पुल निर्माणको काम भइरहेको छ । एउटा खोलामा पुल बनिसकेको छ ।
‘निर्वाचित भएर आउँदा योजनामा परेका नौ वटा पुलको ईआईए नभएसम्म काम अगाडि बढाउन नदिने भन्ने किसिमले रोकिएको थियो’ उनले भने, ‘हामी आइसकेपछि प्रधानमन्त्री कार्यालयसम्म पुगेर त्यसलाई खोल्यौँ । कामको सुरूवात ग¥यौँ । त्यस्तै रोकिएर बसेको १५ किमि लामो बाटोको म्याद थपेरै भए पनि काम सुरू गराउने काम ग¥यौँ ।’ माडीमा जनप्रतिनिधि आएपछि हाल तेस्रो वर्षको बजेट विनियोजन भई कामहरु भइरहेको छ ।
चुरे पहाडबाट खोलामा बगेर आएको गेगरका कारण खेतीयोग्य जमिनभन्दा खोला अग्लो भएको अवस्था छ । ‘हामी आएपछि सबै खोलाहरु खोल्ने काम ग¥यौँ र ठूला खोलाहरु मगुई, घाँघर, बगई, चितई र मरोठमा ड्याम र ग्यामिङ जाली राखेर तटबन्ध गरेका छौँ’ उनले भने ।
त्यस्तै, रिउ खोलामा बर्सेनि आठ÷दस करोड रुपैयाँ बजेट छुट्याएर तलदेखि माथिसम्म तटबन्ध गर्ने काम भइरहेको ढकालले बताए । डुबानग्रस्त क्षेत्रलाई अहिले न्यूनीकरण गर्न सकिएको उनको भनाइ छ ।
भारतले पटकपटक अतिक्रमण गर्दै आएको माडी–५ मा पर्ने सोमेश्वरगढीको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरूयोजना निर्माण गरिएको छ । सोमेश्वरगढीमा ४५ नम्बर सीमा स्तम्भ रहेको छ । गुरूयोजनाअनुसार एक अर्ब ९ करोड रुपैयाँमा धार्मिक एवम् पुरातात्विक मह¤व रहेको यस क्षेत्रको पर्यटन विकास गरिँदै छ ।
माडीको १५ किमि लामो पूर्व–पश्चिम (बनकट्टा–देवेन्द्रपुर) सडक पनि यसै वर्ष पिच हुँदै छ । नगरपालिका, प्रदेश र संघको बजेटबाट यसवर्ष माडीमा करिब २५ किमि बाटो पिच गर्ने लक्ष्य रहेको उनले बताए ।
‘हामी निर्वाचित भएर आउँदा माडीमा करिब २८ प्रतिशत जनताको घरमा बत्ती बल्दथ्यो’ उनले भने, ‘गतवर्ष सात करोड ३५ लाख रुपैयाँको टेन्डर भएर विद्युतीकरणको काम भइरहेको छ ।
यो वर्ष थप दुई करोड रुपैयाँको बजेटले विद्युतीकरण गर्दा झण्डै ९५ प्रतिशत जनताको घरमा बत्ती बाल्ने गरेर कामको सुरूवाती गरेका छौँ ।’ गाउँगाउँमा अहिले पनि विद्युत् जडानको काम भइरहेको उनले बताए ।
माडी नगरपालिकाको वडा नं १ र २ लाई केन्द्रित गरेर बरुवामा खानेपानीको बोरिङ स्थापना एवम् पानीट्यांकी निर्माण सम्पन्न भएको छ । पाइपलाइन विस्तारका लागि यसवर्ष अढाई करोड रुपैयाँ छुट्याइएको उनले बताए । माडी ६ र ७ लाई केन्द्रित गरेर कीर्तनपुरमा एउटा खानेपानी आयोजना सम्पन्न गरिएको छ ।
वडा नं ३, ४ र ५ लाई केन्द्रित गरेर गतवर्ष बसन्तपुरमा एउटा बोरिङ गाडिएको छ । ट्यांकी निर्माणका लागि यसवर्ष साढे तीन करोड रुपैयाँ बजेट रहेको नगर प्रमुख ढकालले बताए । त्यस्तै, वडा नं १ को भृकुटीनगर, वडा नं ९ को गणेशकुञ्ज, गोविन्दबस्ती र खरीकुनामा साना खानेपानी आयोजना सम्पन्न भइसकेका छन् ।
विद्यालयहरुलाई एकीकरण गर्दै शैक्षिक गुणस्तर सुधार गर्नका लागि चारवटा सरकारी माविमा बस किनिएको उनले बताए ।
जनप्रतिनिधि निर्वाचित भएर आएपछि नै माडीमा प्राविधिक शिक्षालय स्थापना भयो । ‘अब जम्मा ५५ हजार रुपैयाँमा माडीका विद्यार्थीले इन्जिनियरिङ पास गर्न सक्छ’ उनले भने ।
जीवनस्तर उकास्न कृषि र पर्यटन
माडीवासीको आर्थिक जीवनस्तर उकास्न नगरपालिकाले कृषि र पर्यटन विकासलाई प्राथमिकता दिएको छ । पर्यटकहरुलाई लक्षितगरी माडीमा चार ठाउँमा होमस्टे सञ्चालनमा आएका छन् ।
सोमेश्वरगढी, गोद्धक, बैकुण्ठेश्वर ताललगायतको क्षेत्रलाई नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै छ । वैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई स्वदेशमा नै व्यावसायिक कृषि कर्ममा लगाउन वार्षिक चार प्रतिशतमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि नगरपालिकाले साढे ११ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यससँगै सामान्य बाख्रापालन गर्ने किसानले पनि वार्षिक दुई लाख रुपैयाँको खसी बिक्री गर्न सक्ने अवस्थामा पुगेको नगरप्रमुख ढकालले दाबी गरे । कृषिमा सामूहिक खेतीको अवधारणा कार्यान्वयनमा लगिएको उनले बताए ।
माडीमा ९० प्रतिशत मानिसहरु कृषिमा आधारित छन् । कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र वैज्ञानिकरण गर्न कृषि औजार र बोरिङमा किसानलाई ५० प्रतिशत अनुदान दिइएको छ ।
व्यावसायिक किसानलाई काउलीमा प्रतिकिलो तीन रुपैयाँ, खसीमा प्रतिकिलो २५ रुपैयाँ, एक लिटर दूधमा तीन रुपैयाँ र प्रतिकिलो च्याउमा पाँच रुपैयाँ अनुदान दिइँदै आएकाले उनले बताए । विभिन्न ठाउँबाट खसी ल्याएर मासु बिक्री गर्दै आएका यहाँका किसान र व्यवसायीहरुले अहिले यहाँबाट अन्यत्र ठाउँमा बिक्री गर्न थालेको उनको भनाइ छ ।
विकासको बाधक निकुञ्ज
‘माडी विकासको मुख्य चुनौती चितवन राष्ट्रिय निकुञ्ज नै हो’ माडी नगरप्रमुख ढकालले भने, ‘निकुञ्जको २०२९ को ऐनका कारण स्थानीय खोलामा प्रसस्त रहेको ग्राभेल निकाल्न पाउँदैनौँ ।’ नगरपालिकाले आफ्ना योजनामा स्थानीय कच्चापदार्थ प्रयोग गर्न एउटा क्रसर प्लाण्ट स्थापना गरेको छ । तर, अहिले त्यसका लागि चाहिने नदीजन्य पदार्थ निकाल्न नपाइएको उनले बताए ।
एक मिटर बाटो पनि पिच नभएको अवस्थामा जनप्रतिनिधि भएर आउँदा चुनौतीपूर्ण बनेको उनले बताए । ‘जनताको इच्छा र आकांक्षा पूरा गर्न उपयुक्त बजेट छैन । हामी निर्वाचित भएर आउँदा नगरपालिकाको वार्षिक ६५ लाख रुपैयाँ आम्दानी थियो । अहिले करको दरभन्दा पनि दायरालाई बढाएर कार्यकाल सकिँदासम्म नगरपालिकाको वार्षिक आम्दानी २० करोड रुपैयाँसम्म पु¥याउने लक्ष्य छ ।’ उनले भने ।
यो आवमा नगरपालिकाको वार्षिक १३ करोड रुपैयाँ आन्तरिक आम्दानी पु¥याउने लक्ष्य राखिएको छ । आम्दानीको मुख्य स्रोत नदीजन्य पदार्थ नै भएकाले निकुञ्ज ऐनले बाधा पु¥याइरहेको छ । सेनामा अझै पनि लोकतन्त्रीकरण नआउनु र निकुञ्जको प्रशासनिक कामका कारण समस्या र चुनौतीहरु थपिएको उनको भनाइ छ ।
निकुञ्जकै कारण अझै पनि माडीवासीहरु चौबीसैघन्टा भरतपुर ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । माडीमा भएका उत्पादनहरु भरतपुर लगेर बेच्न सक्ने अवस्था छैन ।
रिउ करिडोर अत्यावश्यक
जंगली जनावरहरुको आतंकबाट मुक्त हुनका लागि माडीवासीले रिउ करिडोर निर्माणलाई जोडदार रुपले उठाउनुपर्ने देखिएको छ । जंगली जनावरहरुको आक्रमण कम गर्न पीडितहरुलाई राहत दिएरमात्रै नहुने नगरप्रमुख ढकाल बताउँछन् ।
पाण्डवनगरदेखि बगईसम्म रिउ करिडोर निर्माण गर्न राष्ट्रिय निकुञ्जबाट जनावर आउन नसक्नेगरी पाँच फिट अग्लो ड्याम र कंक्रिट वाल लगाउनुपर्ने उनले बताए ।
‘रिउ करिडोरको आवश्यकता छ तर बनाउन सकिएको छैन’ उनले भने, ‘करिडोर निर्माणका लागि एक अर्ब ३९ करोडको डिपीआर बनेको छ । यसलाई हामीले जति गर्दा पनि ओझेलमा पर्छ । जसका कारण जंगली जनावरबाट सुरक्षित भएर बाँच्न सक्छु भनेर भन्न सकिने अवस्था छैन ।’
त्यस्तै, दक्षिणी भेगको जंगलबाट पनि जनावरहरुले किसानले लगाएको खेती खाइदिने गरेको छ । यसले गर्दा जंगली जनावरप्रति माडीवासीको वितृष्णा रहेको उनको भनाइ छ । यस भेगमा पनि आइरन पोलमा मेसजाली लगाउनुपर्ने अहिले आवश्यकता छ ।
जंगली जनावरले गर्ने आक्रमण र जनधनको क्षति कम गर्न नसक्दा आत्मग्लानि भने भइरहेको उनले बताए । माडीमा २० वर्षको अवधिमा ६८ भन्दा बढीको मृत्यु जंगली जनावरको आक्रमणबाट भएको छ ।
निकुञ्जको अवरोध र जनावरको आक्रमण नहटेसम्म पूर्णसन्तुष्ट हुने अवस्था नरहेको नगरप्रमुख ढकालले बताए । ढकालले यसका लागि पटकपटक अनसन बस्ने चेतावनीसमेत सरकारलाई दिँदै आएका छन् ।
निकुञ्जको एउटा कर्मचारीले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई गुमराहमा राखिरहेको उनको भनाइ छ । रिउ करिडोर र दक्षिणी भेगमा मेसजाली राख्नको लागि पहल गर्न पुनः प्रधानमन्त्रीलाई भेट्न जाने तयारी भइरहेको ढकालले जानकारी दिए । यी मागहरुमध्ये कुनै पनि पूरा नहुनेजस्तो भए अनसन बस्ने उनले बताए ।
स्वास्थ्य सेवामा सुधार
जनप्रतिनिधि आएपछि माडीको बघौडा अस्पतालको सेवामा सुधार आएको छ । प्रसूतिका विशिष्टताबाहेकका सबै अप्रेसन यहीँ हुने गरेको छ । जनप्रतिनिधि आउनुअघि दैनिक चार/पाँच जनाले मात्रै स्वास्थ्य सेवा लिने अस्पतालबाट अहिले दैनिक औसत ३५० सेवाग्राहीले सेवा लिइरहेको नगरप्रमुख ढकालको भनाइ छ ।
अहिले चिकित्सकहरुले पनि चौबीसैघन्टा काम गरिरहेको उनले बताए । बघौडा अस्पतालमा अहिले नौ जना चिकित्सक, चार जना स्टाफ नर्स र पर्याप्त कर्मचारी भएकाले जनताको विश्वास जित्न सफल भएको उनले बताए । अस्पतालको ओपिडी हल निर्माणका लागि नगरपालिकाले यस बर्ष एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
न्यायिक सेवामा बढी समय : उपप्रमुख
माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतोले न्यायिक सेवामा बढी समय खर्चिनुपरेको बताइन् । कानुनी दफा हेरेर उपप्रमुखले न्यायिक फैसला गर्नुपर्ने भएकाले बढी समय खर्चिनुपरेको उनले बताइन् ।
आधा कार्यकाल बिताइरहँदा हालसम्म १४५ भन्दा बढी मुद्दाको फैसला गरिएको उनले बताइन् । ‘कानुनका दफा हेरेर फैसला गर्नुपर्ने भएकाले गाह्रो पनि छ’, उनले भनिन्, ‘प्रत्येक वडामा पनि मेलमिलाप समिति गठन गरेका छौँ । यसको अलवा नगरभित्र सञ्चालित योजनाहरुको अनुगमन गर्ने अधिकार पनि हाम्र्रो हो ।’
नगरपालिकामा पर्याप्त प्राविधिकहरुको दरबन्दी नहुँदा योजना अनुगमन प्रभावकारी नभएको उनको भनाइ छ । करारमा प्राविधिक राखेर काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ठूला बजेटको योजना अनुगमन गर्न वडास्तरीय अनुगमन समिति पनि गठन गरिएको उनले जानकारी दिइन् ।
यो वर्षदेखि उपप्रमुखको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण गर्ने जिम्मेवारी पनि बढेको उनले बताइन् । तीन चरणमा गरी ४६ जना अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र वितरण गरिएको उनको भनाइ छ ।
जनमुखी कार्यक्रम भएन : प्रतिपक्ष
माडी नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपाबाट छन् । प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको नेपाली कांग्रेसले भने नगरपालिकाले ल्याएको कार्यक्रम जनमुखी नभएको आरोप लगाएको छ ।
नेपाली कांग्रेस माडीका सभापति कोमलनाथ भूषालले जनताले अपेक्षा गरेअनुसार काम नभएको बताए । ‘जनताले अपेक्षा गरेअनुसार काम भएको छैन’ उनले भने,‘बजेट पनि ठीक सदुपयोग भएको छैन । राजनीतिक पुर्वाग्रह राखेर अघि बढिएको छ ।’
कृषि अनुदान वितरण पनि व्यावहारिक नभएको उनको भनाइ छ । ‘हामीले आवश्यकताअनुसार मात्रै खर्च गर्न सुझाव दिन चाहन्छौँ । नगरप्रमुखले प्रमुख प्रतिपक्ष पनि छ भनेर भन्ने काम भएको छैन’ उनले भने । योजनाको ठेक्कापट्टा मात्रै भएको र त्यसपछिको काम नभएको उनले बताए ।