‘संरक्षणमा ठोस कार्यक्रम नल्याए दस वर्षमा लोप’
बसन्त पराजुली
भरतपुर । नेपालमा पाइने लाटोकोसेरो (हुचिल) मध्ये आठ प्रजातिका लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपालमा २१ प्रजातिका लाटोकोसेरो पाइन्छन् । जसमध्ये आठ प्रजातिका लाटोकोसेरो अत्यन्तै संकटापन्न अवस्थामा पुगेका चराविज्ञहरुले बताएका छन् ।
‘लाटोकोसेरो संरक्षणमा धेरै चुनौती थपिदै छ’, लाटोकोसेरो संरक्षणमा विशेष अभियान र जनचेतना फैलाउँदै आएको ‘प्रकृतिका साथीहरु’का निर्देशक राजु आचार्यले भने, ‘बासस्थान विनास, चोरी शिकार, गुलेली तथा कृषिमा बढ्दो विषादीका कारण लाटोकोसेरोको संरक्षणमा चुनौती देखिएको हो ।’
तथ्याङ्कअनुसार नेपालबाट अहिले वर्षमा दुई हजारको हाराहारीमा जिउँदा लाटोकोसेरो विभिन्न देशहरुमा निर्यात हुन्छन् । त्यही संख्यामा मारिन्छन् पनि । यसरी जिउँदै लाटोकोसेरो बाहिर पठाइने जिल्लामा चितवन र नवलपरासी पनि पर्छन् । आचार्यका अनुसार अहिले पनि चितवनबाट ५० र नवलपरासीबाट ६० का हाराहारीमा जिउँदा लाटोकोसेरो विदेश निर्यात भइरहेका छन् भने त्यतिकै हाराहारीमा मारिएका पनि छन् ।
‘बाघ गैँडा जसरी नै लाटोकोसेरोको अवैध व्यापार भइरहेको छ, त्यसलाई रोक्न सकिएको छैन’, आचार्यले थपे, ‘अहिले रहेका झण्डै ३० प्रतिशत विद्यार्थीहरुले गुलेली प्रयोग गर्ने हुँदा लाटोकोसेरोलगायतका चराहरु संरक्षणमा समस्या भइरहेको छ ।’
नेपालबाटै लोप हुन लागेका लाटोकोसेरोहरुमा लोखर्के उल्लुक, गोठे लाटोकोसेरो, घाँसे लाटोकोसेरो, भासोलुक लाटोकोसेरो, कैलोमलाह हुचिल, कैलो पहाडी उलुकलगायतका छन् ।
‘संरक्षणका लागि तत्काल ठोस कार्यक्रम नल्याउने हो भने संकटापन्न सूचीमा रहेका लाटोकोसेरोहरु १० वर्षपछि लोप भएरै जाने छन्’, चराविज्ञ कृष्णप्रसाद भुसालले भने, ‘चोरी शिकार नै लाटोकोसेरो संकटमा पर्नुको मुख्य कारण हो ।’
नेपाली लाटोकोसेरो छिमेकी देश भारत, चीनमा तान्त्रिक विधि प्रयोग गर्न लगिन्छ । मध्यपूर्वका देशहरु, पाकिस्तान, भियतनामलगायतका देशहरुमा पनि यसको प्रयोग बढ्दै छ । दमलगायतका विभिन्न खालका औषधि र यौन क्षमता वृद्धिका लागि पनि यो चराको मासु प्रयोग गरिने गलत संस्कार बढ्दै गएकाले पनि यसको संख्या घट्दै गएको अनुमान विज्ञहरुको छ ।
लाटोकोसेरो चरालाई किसानको साथीका रुपमा पनि लिइन्छ । वर्षमा एउटा लाटोकोसेरोले तीन हजार मुसा खाने भएकाले पनि यसलाई किसानको साथीका रुपमा लिइन्छ । मुसाले किसानको अन्नबाली खाई उत्पादनमा कमी ल्याउने भएकाले यसको नियन्त्रणमा लाटोकोसेरोलाई सहयोगी मानिन्छ । तर मुसा मार्ने नाममा प्रयोग गरिने विषादीले पनि लाटोकोसेरो संकटमा परेको छ ।
‘विषले मरेको मुसा लाटोकोसेरोले खाएपछि त्यो पनि मर्छ’, आचार्यले भने, ‘किसानलाई आफ्नो खेतीपातीमा मुसा मार्नकै लागि विष प्रयोग गर्न हुँदैन भन्ने जनचेतना जगाउनु अहिलेको प्राथमिकता हो ।’ खेतबारीमा बढ्दो विषादीले किराफट्याग्रामा पर्ने प्रभावले पनि लाटोकोसेरोलाई समेत असर गरिरहेको छ ।
विश्वमा २२५ प्रजातिका लाटोकोसेरो पाइन्छ । जसमध्ये नेपालमा पाइने २१ प्रजाति मात्रै हुन् । नेपालका तराई, पहाड, हिमाल जताततै लाटोकोसेरोको बासस्थान भएको पाइन्छ । तर पछिल्लो समय यसको बासस्थानमा बढ्दो अतिक्रमणले पनि प्रभाव पार्दै छ । नेपाल पंक्षी संरक्षण संघमा आबद्ध रहेका चराविज्ञ भुसाल भन्छन्, ‘बढ्दो चोरी शिकार रोकेर पनि लाटोकोसेरोको संरक्षण गर्नु जरूरी छ ।
लाटोकोसेरो संरक्षण गर्न सकिएन भने प्रकृति र मानव चक्रमा समेत प्रभाव पर्ने भएकाले पनि यसतर्फ चासो बढ्नु जरूरी छ ।’ यसको संरक्षणको लागि जनचेतना फैलाउने उद्देश्यले नवलपरासीको अग्र्यौली गाविसको अमलटारीमा उत्सव आयोजना गरिएको छ ।
Discussion about this post