धनराज गिरी
साहित्यमय दिन तमाम पीडाहरु भुल्ने दिन । एकान्तमा रहँदा मान्छे विगतलाई सम्झिएर छटपटाउँछ, खुशी हुन पनि सक्छ । तर, जीवनको मूल प्रवाह त दुःख नै हो । अपवादलाई छाडेर बुद्धु र बुद्धबाहेक यहाँ सबै दुःखी छन् । सुखी भएको अभिनय गर्न अभिशप्त ! दुःखको पहाडले थिचे पनि मान्छे रमाउनुपर्छ । रमाउन सिक्नुपर्छ । रमाउने तरिका खुशी हुने तरिका आ–आफ्नै हुन्छन् । हरेक मान्छे स्वयम्मा एउटा संसार हो, ब्रह्माण्ड हो । अरुको कुरा गर्न म सक्दिनँ । आफ्नै कुरा गर्ने हो । म कतिखेर रमाउँछु ? म साथीभाइसित रमाउँछु । अनुशासित र गुणग्राही चेलाचेलीहरुसित रमाउँछु । गीत–गजल गाउन पाए रमाउँछु । अघिल्लो शनिबार गते नै सत्र, मलाई सत्र परेको महसुस भयो । म प्राकृतिक रुपमै रमाएको थिएँ । त्यो शनिबार धेरै–धेरै आफन्तहरुसित भेट भयो ।
चितवन गर्व गर्नलायकको जिल्ला हो । चितवन देशलाई हाँक्ने योग्यता राख्दछ । इतिहासमा पटकपटक यो कुरा प्रमाणित भएको छ । आयामिक रुपमै हामी अग्रगमनतिर छौँ । कला, साहित्य र संस्कृति मानवजीवनको अभिन्न अंग । मानवसमाज जतिजति समुन्नत र सभ्य बन्दै जान्छ, वाङ्मयको उन्नयन पनि त्यति नै हुँदै जान्छ । आज यस लेखमा म साहित्यमा मात्र केन्द्रित हुनेछु । यहाँ यस लेखमा म फगत् प्रेम पस्किने छु । यो कसैको अति प्रशंसा होइन, अति अपमान पनि होइन । कति भएमा अति हुन्छ ? त्यो सायद म जान्दिनँ । अस्ति भर्खर चेलीहरुले एउटी अर्की चेलीलाई बोलाएर कवितालाई सम्मान गरे । उनीहरु धन्यवादका पात्र हुन् । कविडाँडा साहित्य समाज नपत्याउँदो पाराले एउटा आशाको केन्द्र बन्दै छ । अक्षर समूह झन् अक्षर समूह भइहाल्यो । ठिटाहरुमा अदम्य साहस र उत्साह छ । चितवन साहित्य परिषद् अभिभावक संस्था हो । यसको आफ्नै गरिमा छ । साहित्य संगम चितवन पनि लालबहादुरका लागि एउटा शीतल चौतारी हो । सबै यात्रीहरु एउटै बसमा अटाउन्नन् । साहित्यिक संस्थाहरु थपिँदै जानु अशुभ संकेत होइन । हरिणको आफ्नै बगाल, मयूरको आफ्नै झून्ड, शाकाहारी वैष्णव मिष्ठान्न भण्डारतिर, अशाकाहारी भेटघाट रेस्टुराँतिर । संसार यस्तै हो । पल्लव साहित्यिक प्रतिष्ठान र गोर्खे साहिँलो शैली पनि चितवनको एउटा परिचय हो । जहाँ नपहुँचे दलाई लामा, त्यहाँ पहुँचे मेरा मामा ! धेरैको नाम लिन थलिएमा मूल कुरा ओझेलमा पर्ने छ ।
हाम्रो मझेरी अर्थात् राम्रो मझेरी निःसन्देह यो युवाहरुको चौतारी हो । यो पुष्पवाटिकामा धेरैधेरै फूलहरु पल्लवित भएका छन् । चितवनको साहित्यिक इतिहास लेखिँदा एउटा नाम छुट्नेछैन, त्यो हो हाम्रो मझेरी । अलिकता आफ्नै विज्ञापन गरौँ । मौकामा चौका हानिहालौँ । आदरणीय गुरूदेव केदारनाथ खनाल अमेरिका जानुभयो । मेरा तारणहार दाजै एलबी क्षेत्री लन्डन घुमेर आउनुभयो । क्षेत्रीज्यू आफ्नै शैलीमा– अरे छोटे, लन्डनमे सब तुझे जानते है । सागर सिलवाल, गोपी सापकोटा, राममणि बर्तौला, ओगेरा ओगेरा सब तेरा नाम लेरहेथे । खनाल बा भन्नुहुन्छ, अमेरिकामा पनि धेरैले तपाईं र पुष्प अञ्जलिको नाम लिए । यो सबै फेसबुकको कमाल । हामी दुई भाइको सरलताको कमाल । अञ्जलिको लगाव र व्यस्तता देखेर म छक्क पर्दछु । चितवनमा भन्दा साहित्यिक यात्रामा बढिरहन्छ मेरो भाइ । म बरू थाकेँ, ऊ जाँगरिलो छ । चितवनको गजल र अञ्जलि पर्यायवाची भएझैँ लाग्दछ । उसले देखाएको जाँगर अनुकरणीय छ । उसले राममात्र कमाएको छैन, धोबीहरु पनि छन् । द्वेष–बजारमा पनि ग्राहकहरु हुन्छन् नै । राम्रोलाई राम्रो भन्ने पनि साहस चाहिन्छ । यो एउटा जोखिमकै कारोबार हो । म यही जोखिम उठाइरहेको छु । मलाई थाहा छ, यही लेखमाथि पनि थुप्रै चोरी औँलाहरु उठ्ने छन् । बेरोजगारहरुले १०–१५ मिनेट रोजगार पाउने छन् । तस्बिर आफैँ बोल्छ । नारायणगढ उद्योग वाणिज्य संघको विशाल हल आफैँ बोल्छ । त्यो सभ्य र भव्य उपस्थितिलाई कसले न्यूनीकरण गर्न सक्छ ? हो, ईष्र्या गर्नलायक छ मेरो भाइको शैली । हाम्रो मायाको थैली कहिल्यै रित्तिन्न ।
हामी प्रेमनगर पुग्ने यात्री हौँ । हाम्रो प्रेमले बिरामी भएका प्राज्ञ, गजलमणि आदरणीय दाजु बूँद रानालाई पनि तानेर नारायणगढ उद्योग वाणिज्य संघको विशाल हलसम्म ल्यायो । यो भक्ति होइन, प्रेमको शक्ति हो । गरेको पनि माया हो र पाएको पनि माया हो । मेरो भतिज विजयराज ज्ञवालीले हाम्रो मझेरी साहित्य उत्सव–२०७० मा आफ्नो उद्घोषण कला देखायो । आसनग्रहणको अवैज्ञानिक परम्परालाई आकर्षक बनायो । कार्यक्रममा प्राण भ¥यो । उसको शैलीले जादु ग¥यो । सम्मान गर्नलायक सम्मानित स्रष्टाहरु सबैलाई बधाई ! छोरी अनिता, मित्र मनोहरबाबु सबैलाई हार्दिक शुभकामना । यो प्रेमानुष्ठान हो, स्नेहमिलन हो, सद्भाव यात्रा हो । मेरो बडेको भाषामा– व दिल मिलेका मेला है । साँच्ची नै हामी हार्दिकता विनिमय गर्न त्यहाँ जम्मा भएका थियौँ । त्यो केही हो भने फगत् प्रेम हो, प्रेम हो, प्रेम हो ।
अलि उता हाम्रै अमरप्रेमको साक्षी बनेर नारायणी बगिरहेकी थिइन् । भनिरहेकी थिइन् कि म जस्तै अविरल हिँडिरहनू, हिँडिरहनू, हिँडिरहनू । आखिर जिन्दगीको अर्को नाम नै चरैवेति, चरैवेति न हो । बस्, अब खाँचो छ आत्मीयताको उज्यालोको । कसैले कसैलाई पनि खेदो नगरौँ । आजका धानक स्रष्टाहरु नै भोलि मानक बन्ने हुन् । झन् नारीले नारीलाई खेद्ने कुरुप परम्परा अझै कायम छ । हृदय अलि फराकिलो बनाउन सके हाम्रा तमाम समस्याहरु नदारत हुन्छन् । हामी नै समस्या हौँ, हामी नै समाधान हौँ । कसैकसैलाई समस्या उत्पादन गर्ने लत लागेको हुन्छ । यस्ता दुव्र्यसनी र लतीहरुबाट हामी जोगिनुपर्दछ ।
भाइ अञ्जलि तिमीलाई फुक्र्याउने काममात्र होइन मेरो । तिमी साहित्यिक ‘भीम’ हौ भने म ‘धर्मराज’ हुँ । तिमीले पनि अझै लामो यात्रा तय गर्नुछ । आत्ममूल्याङ्कन हामी सबैले गर्नुपर्दछ । आँगनमा धेरै गन्धेझारहरु उमार्नुभन्दा एउटै तुलसीको बोट सुन्दर हुन्छ । हामीले संख्यामा होइन, गुणस्तरमा ध्यान दिनुपर्दछ । गुणवत्ताको आधारमा हामी टिक्ने हो र बिक्ने हो । मेरो यो अभिव्यक्ति मेरै लागि पनि हो । म स्वयम् पनि सुध्रिन, परिमार्जित हुन, परिष्कृत हुन चाहन्छु । सस्तो लोकप्रियता हाम्रो गन्तव्य होइन, हुनुहुँदैन । म जमघटमा एउटा हल्काफुल्का असरानी, जगदीप, महमूद टाइप्को विदुषक हुँ भने कक्षा कोठामा एउटा कडा मास्टर हुँ । म आफ्नै कडा आलोचक हुँ । मेरो लेखनयात्रासित म अझै सन्तुष्ट छैन । नक्कली वाह–वाहभन्दा सक्कली हरि अधिकारीहरु रोज्दछु म पनि मनमनै । आत्मसमीक्षा गर्नैपर्दछ । यो कुरा हामी सुटुक्क गरौँला । आजलाई यतिमात्र भनेँ । हामीमाथि समाजको ठूलो जिम्मेवारी छ । यो माटोको ऋण तिर्नुछ । साहित्यलाई माया गरेर साहित्यसेवी बनेर बिस्तारै–बिस्तारै ब्याजसम्म तिरिरहेछौँ । तिर्दै जानेछौँ । हो, नयाँ बिरूवाहरुको जरामा पानी हाल्ने काम पनि हाम्रै हो । जरा उखेल्ने काम हाम्रो होइन । सकारात्मकता हाम्रो गन्तव्य हो । हामी स्वयम् हाम्रै अभिभावक बन्न सक्षम हुनुपर्दछ । धेरै हन्डर र ठोकर खाइसकेका छौँ । तिम्रा हरेक यात्रामा यो दाजुले साथ दिनेछ । हाम्रो मझेरी प्रतिष्ठान परिवारलाई शुभकामना । १७ गतेको दिन एउटा अविस्मरणीय दिन रहने छ । गजलमय दिनलाई सलाम !
Discussion about this post