नारायणगढ । नारायणगढ बजारलाई पटकपटक व्यवस्थित गर्ने भन्दै सहमति र प्रतिबद्धताहरु भए पनि नारायणगढको रुप भने झन–झन् कुरुप बन्दै गएको छ । वि.सं. २०६८ फागुन १६ गते चितवनका दुई दर्जन बढी सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले नगर क्षेत्र व्यवस्थित गराउने तथा पार्किङलाई व्यवस्थित गर्ने भन्दै प्रतिबद्धता जाहेर गरेका थिए । तर, प्रतिबद्धता अनुरुप काम भने हुन सकेको छैन् ।
नारायणगढलाई व्यवस्थित गर्न प्रशासनले सडकलाई मिचेर बनेका भौतिक संरचना भत्काएको थियो भने नगरपालिकाले पार्किङ क्षेत्र निर्धारण गरी जथाभावी पार्किङमा रोक लगाएको थियो । त्यस्तै सडक पेटीमा रहेका व्यवसायीलाई हटाउने काम गरेको थियो । अहिले त्यसले निरन्तरता पाउन नसक्दा नगर क्षेत्र फेरि पहिलेकै अवस्थामा फर्किएको छ ।
सडकमा जथाभावी सवारी रोकेर यात्रु चढाउने र आराल्ने गरेको पाइन्छ भने सडकमा नै ठूला तथा साना सवारी पार्किङ गरेको पाइन्छ । २०६८ सालमा भएको सहमति र प्रतिबद्धतामा नारायणगढमा भित्रिने यात्रुवाहक गाडीहरु भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनल, नारायणगढको पोखरा बसपार्क, छहारी बसपार्क तथा गणेश हल पछाडिको खाली स्थानमा सार्वजनिक यात्रु गाडीहरु पार्किङ गर्ने व्यवस्था गरिएको थियो । यसको उल्लंघन गर्ने जुनसुकै सवारीसाधनलाई पहिलो पटकमा एक हजार रुपैयाँसम्म जरिवाना गर्ने सहमति भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
सहमति कार्यान्वयन नहुनु प्रशासनको कमजोरी भएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले बताए । शुक्रबार नारायणगढमा सिनर्जी एफएमले गरेको नारायणगढ क्षेत्रको पार्किङ कसरी व्यवस्थित गर्ने विषयको जनबहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामीले त सहकार्य गर्ने हो, कारवाही गर्ने र कार्यान्वयन गर्ने काम प्रशासनको हो’, उनले भने, ‘प्रशासनले कारवाही गर्न सकेन्, सहमति कार्यान्वयनतर्फ ध्यान दिन सकेन् ।’
कार्यक्रममा बोल्दै भरतपुर नगरपालिकाका कर अधिकृत तथा बजार व्यवस्थापन समितिका सदस्यसचिव लीलाराज खरेलले नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा नगरपालिकाले काम गरे पनि सरोकारवाला पक्षले त्यसको उल्लंघन गर्दा समस्या देखा परेको बताए ।
‘सहमति कार्यान्वयन गर्नेहरुले नै उल्लंघन गर्दा समस्या आएको हो’, खरेलले भने, ‘हामीलाई कारवाहीको अधिकार छैन्, प्रतिबद्धता जाहेर गर्नेहरुबाट नै सडकमा सवारी साधन पार्किङ गर्दा समस्या देखिएको छ ।’ नगरपालिकाले फुटपाथ र सवारी व्यवस्थापनको लागि प्रयास जारी राखेकोसमेत उनले बताए ।
नगरपालिकाले डेढ वर्ष पहिले ट्राफिक व्यवस्थापनका लागि भन्दै नारायणगढ क्षेत्रमा सःशुल्क पार्किङ थालेको थियो । तर, स्थानीय व्यवसायीको विरोधका कारण उक्त कार्य धेरै दिन टिक्न सकेन् । त्यसलगत्तै कर अधिकृत खरेलले व्यवसायीका मागलाई सम्बोधन गर्दै पुनः व्यवस्थित पार्किङ थाल्ने बताएका थिए । तर, अहिलेसम्म त्यसको थालनी भएको छैन् ।
यता नगर क्षेत्रभित्र ट्राफिक व्यवस्थापनका लागि प्रयाप्त मात्रामा जनशक्ति नभएका कारण समस्या आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रामचन्द्र घिमिरेले बताए । सवारी व्यवस्थापनको लागि प्रयास भए पनि सबैको समन्वय नहुँदा समस्या देखिएको बताए ।
‘नगर क्षेत्रभित्र रहेका व्यवसायिक प्रतिष्ठानहरुका छुट्टै पार्किङ क्षेत्र नहुँदा समस्या देखिएको छ’, ट्राफिक प्रमुख घिमिरेले भने, ‘नारायणगढ क्षेत्रका मुख्य सडकसँग जोडिएका ४७ बढी बैंक तथा वित्तीय संस्थाहरु छन्, तिनीहरुलाई छुट्टै पार्किङ क्षेत्र तोक्न एकहप्ते निर्देशन दिएका छौँ ।’
निर्देशन कार्यान्वयन नभए सडकमा पार्किङ गरिएका सवारी साधनलाई सवारी नियम उल्लंघन पूर्जी (टीभीटी) कारवाही गर्ने उनले बताए । यता कार्यक्रममा सहभागीहरुले सवारी व्यवस्थापनका लागि छुट्टै पार्किङ क्षेत्र तोक्ने र नारायणगढ व्यवसायिक प्रयोजनका लागि भित्रिने सबै निजी सवारी साधनलाई एकै स्थानमा पार्किङ गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।
Discussion about this post