भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा चोरी सिकार हुनबाट जोगाएकामा एक अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको छ ।
चोरी सिकार नियन्त्रणमा निकुञ्ज अब्बल भएकाले उच्च मूल्याङ्कन गर्दै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले अवार्ड प्रदान गरेको निकुञ्जले बिहीबार जानकारी दिएको छ । निकुञ्जले यसलाई आफ्नो उच्च मूल्यांकन भएको ठानेको छ ।
निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार विश्व वन्यजन्तु कोषका अन्तर्राष्ट्रिय अध्यक्ष योलान्दा काकाबात्से आफैँ चितवन आएर उक्त अवार्ड प्रदान गर्नुभएको हो । सो क्रममा उहाँले चितवन निकुञ्जले वर्ष दिनमा संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गर्नुभयो ।
चितवन निकुञ्जसँग शून्य चोरी सिकार अवधि मनाउन सफल वर्दिया राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्रमा काम गर्न आएका नेपाली सेना, मध्यवर्ती व्यवस्थापन समिति तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समेत अवार्ड प्रदान गरेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताउनुभयो । उक्त अवार्ड प्रहरीको अनुसन्धान ब्युरोलाई समेत प्रदान गरिएको छ ।
सन् २०११ मा पनि चिवन राष्ट्रिय निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । त्यसपछिका दुई वर्ष निकुञ्जमा दुई गैँडा चोरी सिकारीबाट मारिएको थियो ।
निकुञ्जमा गत वर्षको फागुन ५ गतेदेखि अहिलेसम्म सिकारीबाट कुनै पनि गैँडा नमरेको भएपनि कालगतिले भने यो वर्ष चितवनमा १० गैँडा मरेको तथ्याङ्क निकुञ्जले दिएको छ ।
पर्यटकका लागि गैँडा आकर्षक मानिन्छ । चितवनमा गैँडा हेर्नकै लागि पर्यटक आउने गरेका छन् । विश्वमै लोप हुन लागेको गैँडा संरक्षणमा चितवन निकुञ्ज उत्कृष्ट रहेको छ ।
पछिल्लो समयमा चोरी सिकारीको आक्रमणलाई कडा निगरानी गरेको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले बताउनुभयो । पछिल्लो गणनामा निकुञ्जमा ५०३ वटा एकसिङ्गे गैँडा रहेको तथ्याङ्क छ ।
Discussion about this post