प्रधानमन्त्रीज्यू,
चितवन जिल्लाबाट प्रकाशन भइरहेको यो लोकप्रिय चितवन पोष्ट दैनिकमार्फत तपाईंको नाममा पत्र लेख्ने म त्यही पत्रकार हुँ जोसँग तपाईंले आजभन्दा २० वर्षअगाडि काठमाडौँको भीमसेनगोलामा झन्डै दुई घन्टा कुराकानी गर्नुभएको थियो । मेरा प्रश्नहरुको बडो रोचक र निकै तथ्यमा अडिएर तपाईंले जवाफ दिनुभएको म आज पनि झल्झली सम्झिन्छु । तपाईं आज सिङ्गो देश हाँक्ने स्थानमा हुनुहुन्छ । लाखौँ जनताको संरक्षण, हित र देशको सिमानासमेत रक्षा गर्ने कर्तव्य बोकेर क्रियाशील हुनुको नाताले त्यो पुरानो अन्तर्वार्ताको क्षण बिर्सनुभएको पनि हुनसक्छ । यो स्वाभाविक पनि हो । यदि नबिर्सिनुभएको भए अझै जाती भो । उतिबेला तपाईं तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । देशमा राजा वीरेन्द्र थिए संवैधानिक राजाका रुपमा । माओवादी सशस्त्र संघर्ष चल्दै थियो, तर उतिसाह्रो माओवादी फस्टाइसकेको भने थिएन । नेपाली कांग्रेस खासगरी गिरिजाप्रसाद कोइरालाको दबदबा त्यतिबेला थियो । देशको अवस्था खासै राम्रो थिएन ।
समय बित्दै गयो । देशमा अनेक खालका घटनाहरु घट्दै गए । दरबार हत्याकाण्डमा वीरेन्द्र राजाका वंशैनास भएर राजा ज्ञानेन्द्र उदाएपछि केही समयको अन्तरालमा राजसंस्था नै खारेज भयो । त्यति सजिलै २४० वर्षे इतिहास भएको राजसंस्था समाप्त हुन्छ भन्ने कुरा सायदै कसैले पत्याएका थिए, तर प्रमाणका आधारमा पत्याउन सबैलाई कर लागेको छ । देशै कता पुग्ने हो भन्ने त्राहिमाम् अवस्थाबाट माओवादी सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा परिणत भयो । नेपालमा संविधानसभा सम्भव थिएन जस्तै लाग्थ्यो सम्भव भयो । दोस्रोपटकको संविधानसभाले २०७२ सालमा नयाँ संविधान दियो । मुलुक संघीयतामा पनि गयो ।
यतिबेला गणतन्त्र नेपाल भनिएको छ । संघीयता र गणतन्त्रले जरा गाड्दै गरेको अवस्था छ । नेपालले यति राजनीतिक यात्रा तय गर्दा तपाईं यो यात्राको साक्षीको रुपमा अन्यझैँ राजनीतिक यात्रीका रुपमा पाइला अगाडि बढाइरहनुभएको छ । भावीले यो देशको दुई–दुईपटक प्रधानमन्त्री हुनू भन्ने लेखिदिएका रहेछन् । दुईपटक नै प्रधानमन्त्री हुनुभो । प्रधानमन्त्री हुने भाग्य प्राप्त भएकोमा पुरानो मित्र पत्रकारको तर्फबाट तपाईंलाई हार्दिक बधाई ज्ञापन गर्दछु । चिट्ठीको गुदीको रुपमा अब केही कुराहरु बुँदागतरुपमा तपाईंको नाममा लेख्न गइरहेको छु ।
१) आर्थिक भ्रष्टाचार
प्रधानमन्त्रीज्यू, तपाईंले नेपाल र नेपाली जनताको भलाइमा केही न केही गर्छु भन्ने संकल्पका साथ राजनीतिमा होमिएर जेलनेल भोगेर आउनुभएको छ । यति लामो राजनीतिक यात्रा तय गर्दा तपाईंलाई देशको सबैभन्दा ठूलो समस्या आर्थिक भ्रष्टाचार हो भन्ने कुरा थाहा भइसकेको हुनुपर्छ । आर्थिक भ्रष्टाचारले देशको आर्थिक समृद्धिलाई टाढा धकेल्नेमात्रै होइन, यसको चौतर्फी नकारात्मक असर पर्छ भन्ने कुरा छर्लंग छ । आज देशका जिम्मेवार निकायमा बस्ने जिम्मेवार नागरिकहरु नै ज्यादा भ्रष्टाचारीको रुपमा देखा परेका छन् । अरु क्षेत्रका भ्रष्टाचार गर्नेलाई कारबाही गर्न उतिसाह्रो कठिनाइ नहोला, तर राजनीति हाँक्ने औजारका रुपमा रहेका नेता तथा कार्यकर्ता नै भ्रष्ट भए भने तिनलाई हाम्रोजस्तो नातावादलाई प्राथमिकता दिने देशमा कानुनी कारबाही गर्न ज्यादै गाह्रो हुन्छ । आज जे नहुनुपथ्र्यो त्यही भएको छ । यो पार्टी वा त्यो पार्टीका भन्नै परेन, प्रायः सबै पार्टीमा भ्रष्ट नेता तथा कार्यकर्ताहरु देखा परेका छन् ।
पञ्चायती व्यवस्थामा सर्वेसर्वा राजा थिए । राजाका नजिकका मान्छे र तिनका नातेदारले आर्थिक भ्रष्टाचार गर्दा राजाले कानुनी कारबाही गर्न सक्थेनन् । बहुदलीय व्यवस्थाको सुरूआतपछि नेपाली कांग्रेसले यो देशमा लामो समय शासन गरेको प्रमाण छ, तर कांग्रेस पनि आफ्नो मान्छे भन्ने नाता लाउने काममा फस्न पुग्यो । यसको परिणाम उसले देशबाट आर्थिक भ्रष्टाचार घटाउन सकेन । नेपाली कांग्रेस पार्टी आन्तरिक कलहमा नराम्ररी फसेपछि बल्ल यो देशमा तपाईंहरुको पालो आयो, अर्थात् कांग्रेस ओरालो लागेपछि कम्युनिस्टहरुले शासन गर्ने अनुभव बटुल्न पाए । तपाईंका साथी, सहयात्रीहरु झलनाथ खनाल प्रधानमन्त्री हुनुभो । माधव नेपाल, बाबुराम भट्टराई र यतिबेलाका तपाईंका भरोसादार पार्टनर प्रचण्ड प्रधानमन्त्री हुनुभो । तर, कामै लागेन । कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीले देशबाट आर्थिक भ्रष्टाचार एक इन्च पनि घटाउन सकेनन् । कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीहरु भएका बखत त झनै भ्रष्टाचार मौलाएको खबर प्राप्त हुन थाल्यो । अरुलाई भ्रष्टाचारी भन्ने र कम्युनिस्टबाट देश स्वर्गको एक टुक्रा हुने विश्वास गर्नेहरुले अहिले नराम्ररी चित्त दुखाएका छन् ।
सरकारी जग्गा हडप्नेमा कम्युनिस्ट पार्टीका नेताहरुको नाम आउने, निजी बोर्डिङ स्कुल, बंैक, निजी अस्पताल र मेडिकल कलेजहरुमा कम्युनिस्ट पार्टीका मान्छेहरुको अधिकतम लगानी हुनु र दाम कमाउने मामलामा कम्युनिस्टका कार्यकर्ताहरुले लटरपटर गरी कमाउने अवस्था जुन देखिएको छ त्यो आज तपाईंको पालामा समेत कम भएको महसुस गरिएको छैन । प्रधानमन्त्रीज्यू, यसो भन्दा चित्त नदुखाउनुहोला ।
अरु कम्युनिस्ट प्रधानमन्त्रीका भाइभतिजा र सालासालीहरु होलान् । दिदीभिनाजु र भान्जाभान्जी पनि होलान् । मायामा फसेर उनीहरुले आँखा चिम्लिँदा आर्थिक भ्रष्टाचार कम गर्न नसकेका पनि होलान्, तर तपाईंको सवाल अल्लि अलग छ । अरुको जस्तो तपाईंको नातापाताका मान्छे यो देशमा छैनन् । छन् भने यो देशका सबै उमेरका जनता तपाईंका नातापाताका मान्छे हुन् । यसलाई यसरी नै बुझ्न कल्याण हुन्छ । अब तपाईंलाई समानुपातिक ढंगले न्याय गर्न कुनै कठिनाइ छैन । तपाईंले जोसुकै आर्थिक भ्रष्टाचारी होस्, कानुनी कारबाही गर्न सक्नुहुन्छ । एकबारको जुनीमा अलिकति आँटचाहिँ गर्नुहोस् । पाकिस्तान आर्थिक भ्रष्टाचारले लंगडो भएको अवस्थामा स्थापित हुन पुगेका अहिलेका प्रधानमन्त्री इमरान खानले जोसुकै होस् कानुनको नजरमा समान भन्दै भ्रष्टाचारीलाई पाता फर्काउन आदेश दिँदा भूतपूर्व राष्ट्रपति असिफ अलि जर्दार र भूतपूर्व प्रधानमन्त्री नवाज सरिफसमेत यतिबेला जेलमा बस्न पुगेका छन् ।
भारतमा भूतपूर्व मन्त्रीहरु जो राजनीतिक फाँटका हुन्, तिनीहरु अहिले पनि जेलमा छन् । संसारका अरु देशमा राष्ट्रपति र प्रधानमन्त्रीहरु पनि आर्थिक भ्रष्टाचार काण्डमा जेल गएका छन् भने हाम्रो देशमा पनि आर्थिक भ्रष्टाचारीहरु अब जेल जानुपर्छ । हिजोका प्रधानमन्त्रीहरुले आर्थिक भ्रष्टाचारीहरुलाई जेल पठाउन सकेनन् । भोलिकाले पनि कुन्नि कुन्नि, तर तपाईंले चाहिँ सक्नुहुन्छ । यसका लागि तपाईंमा बलियो अठोट चाहिन्छ । सबै अवस्थालाई मध्यनजर गर्दा यो तपाईंको अन्तिम प्रधानमन्त्री काल हुनसक्छ । यो तपाईंका लागिमात्रै होइन, आँट गर्नुभयो भने सम्पूर्ण नेपाली जनताका लागि सुवर्ण अवसर हुनसक्छ आर्थिक भ्रष्टाचार घटाउनका लागि । आँट त अब गर्नुस् गर्नुस् ।
२. प्रहरीको भूमिका
प्रधानमन्त्रीज्यू, भन्नेहरुले जेसुकै भनुन् साँचो कुरा यही हो, अपवादलाई छाडेर नेपाल प्रहरीका सबै कर्मचारीहरु योग्य र इमानदार छन् । जनसंख्याको अनुपातमा प्रहरी संख्या कम छ र पनि अपुग संख्या र साधनस्रोतको अभावमा पनि नेपाल प्रहरीले नेपाल सञ्चालनका लागि बडो कठिनाइसाथ मद्दत गरेको छ । तर, इतिहासदेखि आजसम्म यो संगठनको मेहनतलाई कुनै पनि सरकारले सम्मान र सहयोग गरेन । प्रहरीका परिवार पालिन धौधौ छ । तलबभत्ता निकै कम छ । आफू बाँच्न र परिवारलाई बचाउनकै लागि पनि उनीहरुले बिनालाइसेन्स स्कुटर हाँक्नेसँग १ सय रूपैयाँ मागे भने त्यो दोष तिनको होइन सरकारको हो । अब आर्थिक भ्रष्टाचार घटाउनेबित्तिकै एक प्रहरी कर्मचारीलाई कम्तीमा मासिक ५० हजार रूपैयाँ तलब दिन सकिन्छ । निजामती कर्मचारीको पनि कुरा त्यही हो । पुग्ने तलब सुविधा दिने, यो तरिका अपनाउँदा पनि आर्थिक भ्रष्टाचारमा संलग्न हुन्छन् भने कडा कानुनी कारबाही गर्ने ।
३. शिक्षा र स्वास्थ्य क्ष्ोत्रमा भ्रष्टाचार
शिक्षाले मान्छेलाई सभ्य मानव बनाउँछ । सभ्य मानवबिना समाज अघि बढ्दैन । योभन्दा अगाडि मान्छे बाँच्ने कुराले प्राथमिकता पाउनुपर्छ । यस मानेमा स्वास्थ्य अगाडि आउँछ, तर नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भयंकर लुट छ । यो लुटको अन्त्य नगरी नेपाल कुनै पनि हालतमा अघि बढ्न सक्दैन । यसका लागि पनि प्रधानमन्त्रीज्यूले दह्रो आँट गर्न आवश्यक देखिन्छ ।
४. सवारीसाधन दुर्घटना
सवारीसाधन दुर्घटनाले देशका होनहार नागरिकहरुको क्षति हुने क्रम बढेको छ । सवारीसाधनको अवस्था ठीक राख्ने र सरकारले नै चालक उत्पादन गर्ने काम अब नगर्ने हो भने लाइसेन्स बेच्ने काम र कमसल चालकका कारण देशका अब्बल दर्जाका नागरिकहरुको क्षति हुने क्रम रोकिने छैन । यसको व्यवस्थापनका लागि पनि तपाईंले नै मेहनत गर्न जरूरी देखिन्छ ।
५. वैदेशिक सम्बन्ध
अन्य राष्ट्रसँग कस्तो सम्बन्ध कसरी राख्ने भन्ने आजसम्म हाम्रो देशमा प्रस्ट नहुँदा राष्ट्रलाई फाइदा पुगेको छैन । स्वदेशमै कूटनीतिक ट्रेनिङ दिने विद्यालय वा कुनै विशेष संस्था सञ्चालनमार्फत कूटनीतिज्ञ उत्पादन गर्न अब ढिला गर्न हुँदैन । प्रधानमन्त्रीज्यू, हचुवाका भरमा गरिँदै आएको वैदेशिक सम्बन्धले हामीलाई दिनसम्म दुःख दिएको छ । यो अवस्थाबाट मुलुकलाई मुक्ति दिलाउनुपर्छ । यो काम तपाईंबाटै सम्भव छ ।
६. तपाईंको स्वास्थ्यबारे
प्रधानमन्त्रीज्यू, तपाईंको स्वास्थ्य अवस्था खासै राम्रो छैन । तर, पीर मान्न पर्दैन । शरीरमा कुनै न कुनै दिन अवश्य रोग लाग्छ नै । फेरि कसैको पनि शरीर एकदिन ढल्छ नै । शरीर ढल्नुअघि नै आफूले गर्नुपर्ने काम गरिसक्नुपर्छ । आत्तिएर केही हुनेवाला छैन । अहिले भारतले नेपालको सिमाना मिचेको विषय अगाडि आएको छ । यसलाई नम्र कूटनीतिले समाधान गर्न सकिन्छ । हाम्रो भूमि भारतले कब्जा गर्न सक्दैन । हामीले हाम्रो नक्सा बनाएर विश्वमा सार्वजनिक गर्ने हो भने पनि यो समस्या समाधान गर्न सकिन्छ । भारतले हामीलाई भन्दा पाकिस्तानलाई हेरेर त्यो खालको नक्सा सार्वजनिक गरेको हुनसक्छ । यसो भनेर हाम्रो भूमि मिचिएको अवस्थामा हामी चुप लागेर बस्न हुन्न । तपाईंले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधै टेलिफोनमा कुरा गर्न नमिल्ने पनि होइन । तर, यो काम गर्न ढिलाइ गर्न भने हुँदैन । अन्त्यमा, प्रधानमन्त्री श्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दछु ।
पत्रकार वीरेन्द्रमणि