नारायणगढ । उद्योग वाणिज्य संघ–चितवनले २०७०–२०७२ कार्यकालमा सम्पन्न गर्ने कार्यक्रम तथा क्रियाकलापहरुको कार्ययोजना तय गर्ने उद्देश्यले सौराहामा पहिलो चरणको कार्ययोजना तर्जुमा गोष्ठी भएको छ ।
संघका कार्यक्रम अधिकृत दीपकराज विष्टले सञ्चालन गर्नुभएको कार्ययोजना तर्जुमा गोष्ठीको समुद्घाटन सत्रमा उपस्थित सबैलाई स्वागत गर्दै संघका अध्यक्ष कल्याण जोशीले समग्र जिल्लाका व्यवसायीहरुको हितका लागि केन्द्रित भई आगामी कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दि“दै सोही अनुसारका योजनाहरु प्रस्तुत गर्न उपस्थित सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो ।
समुद्घाटनपछि भएको गोष्ठीले आगामी दिनमा समावेश गराउनुपर्ने कार्यक्रमहरुको कार्ययोजना तयार पारेको थियो । तयार पारिएको कार्ययोजनालाई आगामी फागुनको २९ गते सम्पन्न हुने अन्तिम चरणको कार्ययोजना तर्जुमा गोष्ठीमा पुनः छलफल गरी आगामी २ वर्षका लागि संघबाट सम्पन्न गरिने कार्ययोजनामा समावेश गराइने योजना रहेको छ । संघका पूर्वअध्यक्ष मित्रराज दवाडीले सहजीकरण गर्नुभएको कार्यशाला गोष्ठीमा वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
गोष्ठीमा संघका निवर्तमान अध्यक्ष डा. तिलचन्द्र भट्टराईलगायत पदाधिकारीहरु, वस्तुगत संघ र कर्पाेरेट क्षेत्रबाट निर्वाचित कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक रसिक प्रधानका साथै संघका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post