भरतपुर । यात्राका लागि जति सहज छ त्यति नै असुरक्षित बन्दै गएको छ, मोटरसाइकल र स्कुटरको यात्रा । पछिल्लो समयमा भएका दुर्घटनालाई हेर्ने हो भने दैनिकजसो मोटरसाइकल पल्टेको, ठोक्किएको सुन्न पाइन्छ ।
त्यतिमात्रै होइन, घटनाहरु केही गम्भीर हुँदा केहीले ज्यानै गुमाउनु परेको छ । केही गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा १८ देखि ४० वर्ष अर्थात् युवाहरु बढी रहेका छन् ।
मोटरसाइकलको लापर्बाहपूर्ण चलाइले पैदलयात्रुले पनि व्यर्थमा ज्यान गुमाइरहेका छन्, जसले गर्दा सडकयात्रा सुरक्षित छैन भन्ने बुझ्न सकिन्छ । अन्य गाडीसँग ठोक्किएरभन्दा पनि आफैँ अनियन्त्रित भई दुर्घटना हुने क्रम बढेको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।
चितवनमा एक हप्ताको अवधिमा चार जनाको ज्यान गएको छ । कात्तिक महिनाको हालसम्म सात जनाको ज्यान गएको छ । ‘आफैँ अनियन्त्रित भई मोटरसाइकल पल्टँदा वा पिल्लरमा ठक्कर खाँदा दैनिकजसो दर्जन बढी दुर्घटनाको टिपोट हुन्छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रनि चन्द्रकुमार गिरीले भने, ‘चालक आफैँ सचेत नभएसम्म दुर्घटना र यसबाट हुने क्षति रोक्न सकिँदैन ।’
चालकहरु लक्षित गरी पटकपटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरे पनि लापर्बाहीपूर्ण चलाइले अत्यधिक दुर्घटना हुने गरेको उनले बताए ।
‘भरतपुर बसपार्कमा दुर्घटना भयो भनेर ट्राफिक घटनास्थलमा जाँचका लागि पुग्दा नपुग्दै अर्को ठाउँमा दुर्घटना भयो भन्ने खबर आउँछ’, प्रनि गिरीले भने, ‘सडकको अवस्था पुरानै तर गाडीको संख्या अत्यधिक बढेकाले समस्या भएको छ ।’
कात्तिक २४ गते, २२ गते, २१ गते, १९ गते, १२ गते, ११ गते र १० गते भएका दुर्घटनामा मोटरसाइकल चालक र एक पैदलयात्रीको मृत्यु भएको छ ।
‘दुर्घटनामा पर्नुको मुख्य कारण तीव्र गति, सडकको अवस्था, गाडीको चाप, मोटरसाइकलकै अवस्था नहेरी जथाभावी हुइँक्याउने प्रवृत्ति छ, जसले दुर्घटना निम्त्याएको छ’, उनले भने । मोटरसाइकल दुर्घटनाको अर्को कारण भनेको मादक पदार्थ सेवनसमेत रहेको उनले बताए ।
ट्राफिक सचेतना र चेकजाँचको गतिविधि दैनिकरुपमा भए पनि दुर्घटनामा कमी नआएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हेल्मेट लाउने, हेल्मेटको लुपी लाउने, लाइसेन्स र ब्लुबुक बोक्ने ट्राफिकका लागि हो जस्तो गरिदिन्छन्’, उनले भने ।
लाइसेन्स फरक पर्दा गलत सूचना
कात्तिक २४ गते बिहानै ट्राफिकले सूचना दियो, भरतपुर–७ तेह्रसालचोकमा भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भयो ।
दुर्घटनापछि ट्राफिकले मृतकको परिचय खोज्न थाल्यो । स्कुटरको डिकीमा भरतपुर ११ का सुवास गुरूडको लाइसेन्स फोटोकपी भेटियो । मृतक पनि लाइसेन्सवाला नै भएको ट्राफिकले सूचना लियो । केही सञ्चारमाध्यम र मातहतमा पनि मृतक सुवास नै भएको भनी सूचना गयो ।
तर, सोधखोज गर्दै जाँदा मृतकले चलाएको स्कुटर र लाइसेन्स गुरूङको रहेछ । मृतक भने भरतपुर–५ का १८ वर्षीय भीमसेन पोखरेल रहेछन् । ट्राफिकले तत्कालै सूचना सच्याई पुनः खबर गरेपछि वास्तविक मृतकबारे थाहा भएको हो ।