काठमाडौँ । महिलालाई समान अधिकार दिनुपर्छ भनेर सार्वजनिक भाषण गर्ने तर घरमा भने आफ्नै श्रीमतीलाई दासजस्तो व्यवहार गर्ने प्रवृत्ति भएका पुरुषहरूको बाहुल्य कायमै रहेकाले आशा गरेअनुरूप महिला वर्गले समानताको अनुभव गर्न नपाइरहेको अनुभव गरिएको छ ।
त्यसो त, महिला अधिकारका ठूला कुरा गर्ने महिलाहरूबाटै कमजोर स्थितिका महिलाहरू शोषित हुने गरेका तीतो यथार्थलाई पनि भुल्न सकिँदैन ।
‘कुटपिट ग¥यो भने अरूले थाहा पाउँछन् भन्ने डरले पनि होला, महिलामाथि हुने हिंसा शारीरिक रूपमा केही कम भएजस्तो देखिए पनि मानसिक रूपमा हुने हिंसा घटेको छैन’ एक पीडित महिलाको अभिव्यक्ति हो यो ।
अधिकारकर्मीका श्रीमतीले मात्र हैन, पढेलेखेका, झट्ट सुन्दा नाम कहलिएका पुरुषहरूले पनि महिलालाई कुनै न कुनै रूपले हेला गर्ने, होच्याउने, मानसिक रूपमा तनाब दिने गरेका उदाहरण समाजमा यथावत छन् । ‘आफँै आर्थिकरूपमा सक्षम नभएसम्म महिलामाथि हुने विभेद कम हुँदैन, महिला सशक्तीकरण पनि सम्भव छैन’, राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीले भन्नुभयो, ‘राज्यको नीति निर्माण गर्ने तहमा महिलाको सहभागिता अनिवार्य हुनुपर्छ, तबमात्र महिलाका हकअधिकार सुनिश्चित हुन्छन् ।’
‘पहिलाको तुलनामा महिलामा चेतनामा वृद्धि भएको छ, हिंसा अपराध हो भनेर उजुरी गर्न सुरुवात गरेका छन्, उहाँले थप्नुभयो, ‘अहिले पनि सहरी क्षेत्रका १७ प्रतिशत र ग्रामीण भेगका ८२ प्रतिशत महिलामा चेतना आउनु जरुरी छ ।’
कानुनी रूपमा महिलाका हकअधिकार सुनिश्चित भएपछि महिलामाथिको विभेद क्रमशः कम हुँदै जान्छ, महिला अधिकारकर्मी शर्मिला कार्कीले भन्नुभयो, ‘राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिता अनिवार्यका साथै स्थानीय निकायमा महिलाको ५० प्रतिशत सहभागिता भएमात्र उनीहरूमा सशक्तीकरण आउने छ ।’
‘निर्णायक तहमा महिला नभएसम्म महिलामैत्री आर्थिक तथा राजनीतिक व्यवस्था सम्भव छैन, निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म महिलाको सोचअनुरूप विकास पनि सम्भव छैन ।’ उहाँले थप्नुभयो, ‘अन्तर्राष्ट्रिय रूपमा जवाफदेही बनाउन अन्तर्राष्ट्रिय महिला दिवसले सहयोग गर्छ, जति पनि नीतिगत रूपमा कानुनहरू बनेका छन्, त्यसलाई कार्यान्वयन गरी व्यवहारमा उतार्न सके यस्ता खालका दिवसहरू मनाउन जरुरी छ’, महिला अधिकारकर्मी शर्मिला कार्कीले भन्नुभयो ।
‘संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता थियो, यो पटक संविधानसभामा ३० प्रतिशत महिला मात्र संविधानसभामा भएकाले सन्तोष मान्न सक्ने अवस्था छैन, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले भन्नुभयो, ‘कानुन निर्माण गर्ने तहमा महिलाको उपस्थिति कमजोर हुनु भनेको महिला कमजोर हुनु हो ।’
‘पहिलाको तुलनामा छोरीलाई पनि पढाउने क्रम बढेको देखिन्छ, सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि महिलाको सहभागिता पनि सकरात्मक छ, उहाँले थप्नुभयो, ‘सबै क्षेत्रमा महिलाको उपस्थिति प्रभावकारी भए पनि निर्णय गर्ने स्थानमा महिलामैत्री वातावरण सिर्जना नभएसम्म महिलाको विकास हुन सक्दैन ।’
‘महिला आन्दोलनको कुरा गर्दा अग्रणी महिलाको महत्वपूर्ण योगदान छ, यो आन्दोलनप्रति प्रतिबद्ध भएर लाग्ने इमान्दार महिलाको सम्मान पनि हुनसकेको छैन, नेत्री पन्तले भन्नुभयो, ‘अग्रणी महिला नेत्रीहरूको प्रेरणादायी भूमिका अनुसरण गर्दै महिला अगाडि बढ्नुपर्ने जरुरी छ ।’
‘पैतृक सम्पत्तिमा महिलाले समान हक नपाएसम्म र निर्णय गर्ने तहमा महिलाको सम्मानजनक सहभागिता नभएसम्म महिला आन्दोलनको उपलब्धि संस्थागत हुन सक्दैन’, नेकपा–माओवादी केन्द्रीय सदस्य सरला रेग्मीले भन्नुभयो ।
अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि हरेक वर्ष मनाइन्छ । महिलामाथि विभेद अन्त्यका लागि थुप्रै कानुन छन्, तर त्यसको कार्यान्वयन भएको भने देखिदैन, औपचारिक रूपमा महिलालाई मात्र होइन पुरुषलाई समेत यो दिवसको अवसरमा सरकारी बिदा दिएपनि महिलाकामाथिको विभेद घटेको अनुभव गर्न सकिने गरी ठोस काम हुन सकेको पाइदैन ।
हरेक वर्ष जस्तै यो वर्ष पनि ‘महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधानसभासम्म’ भन्ने राष्ट्रिय नारा तय भएको छ भने अन्तर्राष्ट्रियरूपमा ‘समानता महिलाका लागि, प्रगति सबैका लागि’ भन्ने नाराका साथ १०४ औँ अन्तर्राष्ट्रिय महिला दिवस २०१४ विश्वभरिका महिलाले एकैसाथ मनाउँदैछन् ।
नेपालको अन्तरिम संविधान २०६३, विभिन्न कानुनी तथा नीतिगत व्यवस्था, अन्तर्राष्ट्रिय सन्धिहरूले नेपाली महिलाको अवस्थामा उल्लेखनीय परिवर्तनका पहल गरे तापनि कार्यान्वयनको तहमा कमजोर रहेकाले ती कानुनी व्यवस्था कागजमा सीमित रहन पुगेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको वास्तविक उत्पत्ति अमेरिका तथा युरोपका श्रमिक महिलामाथि गरिएको सैनिक दमनपश्चात भएको सामाजिक उथलपुथल तथा औद्योगिक क्रान्तिको परिमाणस्वरूप सन् १९ औँ शताब्दीमा भएको हो ।
सन् १८५९ मार्च ८, मा कपडा उद्योगमा कार्यरत श्रमिक महिलाले आफूलाई कम ज्याला दिएको तथा १२ घण्टासम्म काममा लगाई अमानवीय कार्य गरेको भन्दै सोका विरुद्ध अमेरिकाको न्युयोर्कमा विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपबाट कैयाँै महिला पक्राउ पर्नुका साथै घाइतेसमेत भएका थिए ।
समाजको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको चौतर्फी विकास नभएसम्म समाजको अग्रगामी परिवर्तन सम्भव छैन भन्ने विश्वासका साथ बिहीबार पनि सम्पूर्ण विश्वका महिला ऐक्यबद्ध भएर यो दिवस मनाइरहेका छन् ।
Discussion about this post