संविधान ल्याउन खबरदारी गर्नूस् ः गाउँले [divider]
भरतपुर । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले एक वर्षभित्र जनताको लोकतान्त्रिक संविधान बनाउन पत्रकारहरुले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सम्पूर्ण पत्रकारहरुलाई तोकिएको समयमै संविधान ल्याउनको लागि सडकदेखि सदनसम्म सशक्त खबरदारी गर्न आग्रहसमेत गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको दसौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै गाउँलले निर्वाचित भएर गएका सभासदहरुलाई हामीले संविधान बनाउनको लागि खबरदारी गरेनौँ भने फेरि पनि संविधानसभा तुहिन सक्ने भएकोले सडकमै गएर पत्रकार महासंघले खबरदारी गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान सभा प्रेसको एजेण्डा हो, त्यसैले यसलाई समयमै जनतासामु ल्याउनुपर्छ, तब बल्ल विचार र अभिव्यक्तिमा स्वतन्त्र आउँछ ।’ दलकै कार्यकर्ताबाट पत्रकारमाथि आक्रमण भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘दलकै मान्छेबाट पत्रकार पिटिनु, कुटिनुजस्ता कार्य भएकाले पत्राकारको रक्षामा सरकारले महत्वपूर्ण भूमिका नखेलेको आरोपसमेत लगाउनुभयो ।
अध्यक्ष गाउँलले पत्रकारहरुलाई स्वतन्त्रताको रक्षामा कुनै कतै सम्झौता नगर्न पनि उहाँले सुझाव दिनुभयो । पत्रकार आफूले पनि सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्नेमा गाउँलले जोड दिनुभएको थियो ।
उहाँले पत्रकारहरुलाई नियुक्तिपत्र लिएरमात्र काम गर्न सुझाव दिनुभयो । पत्रकारिता गरेको २४० दिन कटेपछि आफूले काम गरेको सञ्चारमाध्यमसँग स्थायी नियुक्ति माग्न समेत उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा सभासद् कृष्णभक्त पोखरेलले पत्रकारको हक हितका सवालमा आफूले संसदमा कुरा उठाउने बताउनुभयो । त्यस्तै एमालेका जिल्ला अध्यक्ष जेएन थपलियाले चितवनमा पत्रकारहरुको तालिम सेन्टर स्थापना गर्नमा जोड दिनुभयो । नेपाली कांग्रेसका सचिव जितनारायण श्रेष्ठले सञ्चारमन्त्रालय कांग्रेसको भागमा परेकाले पत्रकारहरुलाई सरकारले अब केही गर्ने आधार खडा भएको बताउनुभयो ।
एमाओवादीका प्रतिनिधि यमबहादुर परियार, अग्रज पत्रकार दिनेशकुमार थपलिया, पत्रकार महासंघका निवर्तमान अध्यक्ष कृष्ण गिरी, बार एसोसिएसनका अध्यक्ष राजकुमार श्रेष्ठ, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष सूर्यप्रकाश कँडेल, क्रान्तिकारी पत्रकार संघकी अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नवराज ढकाल, प्रेस चौतारीका अध्यक्ष शालिग्राम नेपाल, प्रेस युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम शाखाका अध्यक्ष जनक अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पत्रकारहरु सम्मानित
पत्रकार महासंघ चितवन शाखाले अग्रज तीन पत्रकारहरुलाई सम्मान गरेको छ । अग्रज पत्रकार बाबुराम घिमिरे, विष्णु ओस्ती र रेशम विरहीलाई सम्मान गरिएको पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष जनक अर्यालले बताउनुभयो ।
त्यस्तै पत्रकार महासंघका निवर्तमान अध्यक्ष कृष्ण गिरीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै तिलचन साँखी पत्रकारिता पुरस्कारबाट दुई जना क्रियाशील पत्रकारलाई सम्मान गरिएको छ । पत्रकार सूर्यप्रकाश कँडेल र गणशेखर शर्मालाई सम्मान गरिएको थियो ।
महासंघ चितवनको भवन उद्घाटन
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा चितवनको निमार्णाधीन भवनको सम्पन्न भएको भुईंतलाको नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले उद्घाटन गर्नुभएको छ ।
उहाँले भवन उद्घाटन कार्यक्रममा सबै पत्रकार एकजुट भएर जान सके आफ्नो अधिकार प्राप्त गर्न सकिने बताउनुभएको छ । सो अवसरमा अध्यक्ष गाउँलेले भन्नुभयो, ‘भवन पत्रकारको व्यावसायिकताको विकासका लागि हुनुपर्दछ, त्यसका लागि सबैको मन मिल्नु आवश्यक छ ।’ भवन निर्माणमा सहयोग गर्ने सबैलाई अध्यक्ष गाउँलेले धन्यवादसमेत दिनुभयो ।
सो अवसरमा चितवन शाखाका अध्यक्ष जनक अर्यालले सरकारी, गैरसरकारी र निजी क्षेत्र गरी रु २१ लाख ६९ हजारमा भवनको भुर्इंतला सम्पन्न भएको जानकारी दिनुभयो । निमार्णाधीन भवनको माथिल्लो तला र अन्य पूर्वाधार क्रमशः सम्पन्न गर्दै जाने अध्यक्ष अर्यालले बताउनुभयो ।
Discussion about this post