लागतसमेत उठ्न नसकेको किसानको गुनासो [divider]
भरतपुर । चितवनमा यस वर्ष आलुको उत्पादनमा कमी आएको छ । लगातार परेको शितलहरको असरले आलु उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस वर्ष शीतलहरका कारण करिब सात प्रतिशतले आलु उत्पादनमा कमी भएको कार्यालयको भनाइ छ । आलु उत्पादनमा कमी आएपछि आलुको मूल्य बढ्ने संभावना पनि त्यतिकै रहेको छ । ‘शितलहरले आलुको उत्पादन घटेको हो’ एक कृषकले भने, ‘आलुखेतीमा यसपटक फाइदा हुन सकेन ।’
यस वर्ष आलु लगाएको क्षेत्र बढेको भए पनि उत्पादन भने घटेको कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार चितवनमा अघिल्लो वर्ष एक हजार ९१० हेक्टर क्षेत्रमा आलु लगाइएको थियो । यो वर्ष पाँच हेक्टर क्षेत्र बढाएर एक हजार ९१५ हेक्टर क्षेत्रमा आलु लगाइएको थियो ।
क्षेत्र बढाए पनि उत्पादनमा भने कमी आएको छ । अघिल्लो वर्ष ३५ हजार ७१७ मेट्रिक टन आलु उत्पादन भएकोमा यो वर्ष अहिलेसम्म ३२ हजार मेट्रिक टन मात्रै आलु उत्पादन भएको छ । अब केही टन आलु आउन बाँकी भएको थापाले बताउनुभयो । उहाँले यो वर्ष ३४ हजार मेट्रिक टन हुने अनुमान गरिएको बताउनुभयो ।
कात्तिक मङ्सिरमा लगाइएको आलु माघ फागुनमा निकालिन्छ । पुस र माघमा पटकपटक केही दिनसम्म लगातार शीतलहर भएको थियो । सो समयमा घामसमेत नलागेकाले चिसोका कारण आलुलाई असर परेको कृषि कार्यालयले जनाएको छ । कतिपय कृषकले भने लागतसमेत उठ्न नसकेको बताएका छन् ।
यस वर्ष कार्यालयले आलुखेती विस्तारको कार्यक्रमसमेत सञ्चालन गरेको र पाँच हेक्टर क्षेत्र विस्तार गर्ने बताइएको छ । अहिले कृषकलाई आलु भण्डारणका लागि अनुदान दिइएको बागवानी विकास अधिकृत थापाले बताउनुभयो । प्रतिकेजी डेढ रुपैयाँका दरले आलु भण्डारणमा अनुदान दिइएको छ ।
Discussion about this post