काठमाडौँ । जुनसुकै मुलुकमा विद्यालयका तहका विद्यार्थीले शिक्षामन्त्रीलाई विरलै भेट्न पाउँछन् । ठूलो जनसञ्जाल भएको शिक्षा मन्त्रालय र केन्द्रीय निकायका काममा व्यस्त हुने शिक्षामन्त्रीले विद्यार्थीका चाहना र उनीहरुले विद्यालयमा भोगिरहेका समस्याबारे सोझै जानकारी लिने त्यस्तो प्रणाली हालसम्म विकसित हुन सकेको छैन ।
शिक्षामन्त्रीहरु कुनै विद्यालयको वार्षिकोत्सव वा कार्यक्रममा बोलाइए पनि त्यहाँ शिक्षक र अभिभावकका मन्तव्यका आधारमा विद्यालयको समग्र अवस्थाबारे बुझ्नुपर्ने हुन्छ ।
तर नवनियुक्त शिक्षामन्त्री चित्रलेखा यादवले विद्यालय तहका विद्यार्थीका चाहना, भावना र समस्याबारे उनीहरु पढिरहेको कक्षा कोठामा शिक्षक झैँ छिरेर जानकारी लिने प्रयासको थालनी गर्नुभएको छ ।
केही दिनका लागि तराईका जिल्ला भ्रमणमा जानुभएका उहाँले धनुषा जिल्लाबाट यो नयाँ काम थालनी गर्नुभएको हो । यो प्रयासलाई विद्यालय वा कक्षा कोठाको भौतिक पूर्वाधार अवलोकन तथा स्वागत, बधाईजस्तो औपचारिकतामा सीमित हुने नभई विद्यार्थीसँग शिक्षामन्त्री एक्लैले भलाकुसारी गर्ने प्रकारको कार्यक्रमका रुपमा मन्त्री यादवले नियमित गर्नुहुने भएको छ ।
बुधबार काठमाडौँ आउनुपूर्व उहाँले जनकपुरको सङ्कटमोचन माविको कक्षाहरुमा मन्त्री यादवले विद्यार्थीसँग अरु कर्मचारीबिना एक्लै संवाद गर्नुभयो ।
पूर्व जानकारीबिना सो विद्यालयको कक्षा ९ मा पुग्नुभएका उहाँको यस्ता छड्के भ्रमणले विद्यालय व्यवस्थापनलाई सतर्क त गरायो नै विद्यार्थीले उठाएका समस्याको पनि सिधा अवगत हुने भएको छ । त्यसो त, मन्त्री यादव कुनै बेलाका विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक पनि हुनुहुन्छ । मन्त्री यादवले देशभरका करिब ३४ हजार विद्यालयका करिब ७० हजार विद्यार्थीलाई संवाद गर्न त सम्भव नहोला नै तर प्रतिकात्मकरुपमा यस्ता कार्यक्रममा सकारात्मक प्रभाव त पर्ने नै छ ।
‘मैले भाइ बहिनीहरुलाई यो विद्यालय कस्तो लाग्छ ? यो विद्यालय के के कारणले मन पर्छ ? समस्या के छन् ? भनेर सोधेँ । उनीहरुले शौचालय अभावलगायतका समस्या सुनाए । मैले टिपेर ल्याएको छु ।’ आफ्नो कक्षाकोठा भ्रमणबारे मन्त्री यादवले बुधबार शिक्षा पत्रकार समूहको प्रमण्डललाई सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले अहिलेसम्म शिक्षालाई माथिबाट तल हेर्ने (टप टु डाउन एप्रोच) काम गरेका छौँ, अब तलबाट माथि हेर्ने (डाउन टु टप एप्रोच) गर्नुपर्छ । त्यसकारण म भ्याएसम्म प्रत्येक साता कुनै विद्यालयको कक्षा कोठामा विद्यार्थीसँग संवाद गर्नेछु ।’
मन्त्री यादवले विद्यार्थीलाई असल संस्कार दिइएको छ या छैन या उनीहरुका भावनालाई विद्यालयले सम्बोधन गरेको छ या छैन भन्ने कुरा आफूले प्रत्यक्ष थाहा पाउन र समग्रमा एक प्रकारको नयाँ सन्देश दिनका लागि यस्तो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
Discussion about this post