-दीपेन्द्र अधिकारी
पत्रकारिता समाजको ऐना हो, जसले समाजमा भए गरेका गतिविधिलाई छर्लङ्ग पार्ने काम गर्छ । पत्रकारितालाई यसै कारण चौँथो अंग पनि भनिन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि पत्रकारितालाई मुख्य स्थान दिएर चौँथो अंग मानिएको हो ।
पत्रकारिता पेसालाई उच्च सम्मानका साथ चौँथो अंग भनिरहँदा नेपालमा अहिले अभ्यासमा रहेको यो पेसा साँच्चै चौँथो अंगका रुपमा विश्वसनीय र उत्तिकै उत्तरदायीपूर्ण छ त ? रोगमा उपचार, राजनीतिमा न्याय, शिक्षामा आलोचनात्मक सोचाइ र पत्रकारितामा सत्य भन्ने मुख्य धर्म हो ।
विद्वान्हरु भन्छन्, पत्रकारिता समाजको वाचडग हो । हरेक गतिविधिको पत्रकारहरुले निष्पक्ष ढंगले निगरानी गरिरहेका हुन्छन् । तर, हामी पत्रकारिताको मूल्यमान्यता र सिद्धान्तलाई पन्छाएर ल्यापडगको अभ्यास गरिहेका छौँ । किनकि, हाम्रो पत्रकारिता निहित स्वार्थी समूहबाट सञ्चालित छ । विज्ञापनमुखी पत्रकारिताको शैलीले हाम्रो विश्वास गुमिरहेको छ । समाचार झिकेर विज्ञापन हाल्न तयार हुन्छौँ हामी । अनि, विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्न कत्ति पनि संकोच मान्दैनौँ । पत्रकारिता होइन, अपत्रकारिताको अभ्यास गरिरहेछौँ हामी ।
स्वतन्त्रता, निष्पक्षता, धैर्यता, वस्तुगत, सन्तुलनजस्ता मान्यताहरु विज्ञापनको टोकरीमा फालेर आग्रह, पूर्वाग्रह र स्वार्थहरु समाचारको टोकरीबाट झिकेर हामी छाती फुलाएर कलम चलाइरहेकै छौँ । कुहिरोको काग बनेका छौंँ । रूमल्लिरहेका छौँ, कुनै खास उद्देश्य र गन्तव्य छैन ।
जीवन्त चलिरहने यस पेसामा विषादी भर्ने काम मिडिया सञ्चालक र पत्रकारहरुबाटै भएका छन् । पीत पत्रकारितालाई नियन्त्रण गर्न कानुन, आचारसंहिता बने पनि हामी त्यसको ख्याल गर्दैनौँ । हामीमा घमण्ड छ, हामी पत्रकार हौंँ ।
प्रेस काउन्सिल नेपालको नेपाली पत्रकारहरुका लागि जारी गरेको २४ (२०६४ संशोधनं) हेर्ने हो भने पत्रकारले गर्न हुने ११ र गर्न नहुने १३ वटा काम रहेका छन् । यसरी हेर्दा गर्नेभन्दा गर्न नहुने काम धेरै छन् । जुन कामले हामीलाई थप व्यावसायिक, नैतिकवान बनाउँछ । तर, हाम्रो ध्यान र काम यसप्रति केन्द्रित छैन ।
नेपाली पत्रकारितामा अहिले यसको मूल धर्म सत्यमाथि बहस भइरहेको पाइन्छ । खासगरी, सत्यतामा रमाउने हाम्रो पेसागत कला मूल धर्मबाट बाइपास भइरहँदा हामीमाथि चुनौती थपिएको छ । आग्रह, पूर्वाग्रह र निहित स्वार्थका कारण हाम्रो पेसागत धर्म विचलित बन्दै छ ।
दलीय आस्थामा केन्द्रित रहेर पत्रकारिताको अभ्यास गरिरहँदा हामीप्रतिको विश्वास घट्दो छ, बढ्दो छ त केवल जनगुनासो । किनकि कुनै दलविशेषकोे पत्रकार बनेर हिँड्दा हाम्रो समाचार र विचारले केही स्वार्थी समूहलाई खुशी बनाउला, तर आमजनसमुुदायको भावनाचाहिँ सम्बोधन हुँदैन ।
विभिन्न पार्टी र समूहको पछाडि आस्थाका नाममा हामी पूर्णकालीन प्रचारमन्त्री बनिरहेका छौँ । हिटलरको दोस्रो विश्वयुद्धमा गोयवललाई प्रयोग गरी जसरी प्रोपोगान्डा फैलाइयो, आज हामी पत्रकारहरु आस्था मिल्ने नाममा पार्टीको पिछलग्गु भएर गोयवल शैलीमा अघि बढिरहेका छौँ, जसले विकासशील समाजमा धेरै अर्थ राखे पनि सकारात्मक र मह¤वपूर्ण अर्थ भने राख्दैन । र, पार्टीका पिछलग्गु पत्रकारहरुको पतन निश्चित छ । पेसागत हकहित, व्यावसायिक अभ्यास, श्रमजीवी समस्याहरु स्वतन्त्र रुपमा आउनेभन्दा पनि पार्टीको टीके पद्धतिमा हाम्रा नेताहरु चुनिन्छन् । भोट हाल्ने ठाउँमा मात्र पार्टीगत आस्था देखाउने र अन्य समयमा स्वतन्त्र भएर उभिने क्षमता नराखेसम्म हामीलाई आममान्छेले किन पत्याउने ?
सन् १९४० मा अमेरिकाको टाइम्स म्यागेजिनका मालिकले रोबर्ट हचिन्स नामक सञ्चारविद्लाई त्यस बेलाको बिग्रँदो पत्रकारिता अभ्यासबारे अध्ययन गरी प्रतिवेदन बनाउन नियुक्त गरेका थिए । सन् १९४७ मा हचिन्स कमिसन नाम दिइएको यस संस्थाले त्यस बेलाको दलीय पत्रकारिता, प्रोपोगान्डा, बढी व्यापारमुखी, बढी उत्तेजनापूर्ण रहेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने सुझाव दिएको थियो ।
पत्रकारितामा सामाजिक उत्तरदायित्वको सिद्धान्त देखा पर्नु उनको अध्ययनको निष्कर्ष थियो । यसै सिद्धान्तबाट अघि बढेको वर्तमान विश्व पत्रकारितामा केही खडेरी पनि देखा परेको छ । नेपालजस्तो विभिन्न खाले (राजनीतिक, आर्थिक, सांस्कृतिक) संक्रमणकालबाट गुज्रिरहेको देशमा अहिलेको पत्रकारिता अपवादबाहेक समाजमैत्री, देशमैत्री भएको पाइन्न ।
पत्रकारहरु देशको स्वार्थमा काम गर्नुभन्दा पनि दलीय स्वार्थमा काम गर्न रूचाउँछन् । यसले गर्दा आमसमाजले हाम्रो काम र कामको प्रभावको दैनिक मूल्यांकन गरिरहेको छ । अझ भनौँ, जनताका नजरमा हाम्रो अभ्यास दैनिकजसो परीक्षा भैरहेको छ भने हामी दैनिक परीक्षा दिइरहेका छौँ .।
व्यक्तिगत रुपमा भन्नुपर्दा जनताले हामीलाई पास मार्क पनि दिन हिच्किचाइरहेका छन्, किनकि जनताको भावना सम्बोधन हुनेगरी हामीले निष्पक्ष र सत्यतापूर्ण पत्रकारिताको अभ्यास गरेकै छैनौँ । अरुको गल्ती र कमजोरी कोट्याउँदै हिँड्ने हामी पत्रकारहरु कहिले आफ्नो गल्ती र कमजोरीबाट माथि उठेर समाजको सर्वहितमा समर्पण हुने होला ?
Discussion about this post