भरतपुर । चितवन जिल्लामा विभिन्न अभियानमुखी कार्यक्रम सञ्चालन गरिएपछि मकैको बीउको माग अत्यधिक बढेको छ । पहाडका किसानहरु समेत मकैको बीउ लिन यतिबेला चितवन झरेका छन् ।
‘बसन्ते’ नामको मकै लिन नवलपरासी जिल्लाका पहाडी गाविसका किसानहरु चितवन आएका छन् । त्यस्तै सोही मकैको बीउ लिन गोर्खा, लमजुंग, दमौली र पर्वतबाट समेत मकैको बीउ लिनको लागि किसानहरु चितवन आएका जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै, तराईका जिल्लाबाट पनि मकैको बीउ लिन किसानहरु भरतपुर आएका छन् । जसका कारण चितवन जिल्लामा मकैको बीउ अभाव हुन थालेको हो ।
गएको वर्षभन्दा यसवर्ष करिब दोब्बरले मकैको बीउको माग बढेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । माग बढेपछि जिल्लामा ‘बसन्ते’ मकैको बीउमासमेत अभाव देखिन थालेको कृषकले बताएका छन् ।
यस्तै, अन्य जिल्लामा समेत मकै विकासका कार्यक्रम सञ्चालन गरिएकाले तराई र पहाडका विभिन्न जिल्लाबाट मकैको बीउ खरिद गर्न कृषक चितवन आइपुगेको कृषि विकास कार्यालय चितवनका बाली विकास अधिकृत राजन ढकालले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लामा लक्ष्यभन्दा बढी मकैको बीउ बिक्री भइसकेको छ । जिल्लामा ३५० मेट्रिक टन मकैको बीउ जाने देखिएकोमा अहिलेसम्म ४०० मेट्रिक टन मकैको बीउ किसानमाझ पुगिसकेको छ ।
अझै माग देखिएकाले बीउको अभाव हुने देखिएको छ । चितवनमा रामपुरको मकै अनुसन्धान कार्यक्रममार्फत ‘पहाडे मकै विकास’ कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै जिल्ला कृषि विकास कार्यालय चितवनले यस वर्ष एक हजार हेक्टर क्षेत्रमा मकैखेती विस्तार कार्यक्रमसमेत सञ्चालन गरेको छ । जसका कारण मकैको बीउ सोचेभन्दा बढी माग भएको कार्यालयको अनुमान छ ।
कृषि कार्यालयले बीउमा ३३ प्रतिशत अनुदानमा कार्यक्रम सुुरू भएको बाली विकास अधिकृत राजन ढकालले बताउनुभयो । बढीमा प्रतिकिलो रु ६६ सम्म अनुदान दिइएको छ ।
हाल चितवनमा यो समयमा नौ हजार ७०० हेक्टरमा मकैखेती गरिएको छ । एक हजार क्षेत्र विस्तारसँगै यो वर्षबाट साँढे १० हजार हेक्टरमा मकैखेती हुने अनुमान छ । मकैखेती विस्तारका लागि कृषि मन्त्रालयअन्तर्गत बाली विकास निर्देशनालयबाट करिब रु १६ लाख बजेट जिल्लामा आएको छ ।
प्रतिहेक्टर २५ किलोदेखि ३० किलो बीउ लाग्ने भएकाले सोही अनुपातमा ३३ प्रतिशत अनुदानमा बीउ दिएको कृषि विज्ञहरूले बताएका छन् । बीउ सबै वितरण भइसकेको छ । यस्तै पहाडे मकै विकास कार्यक्रममार्फत कृषकले समूहमा लगाउँदा सुरूमा ७५ प्रतिशतसम्म मकैको बीउ अनुदान दिने गरिएको मकै विज्ञ चित्रबहादुर कुँवरले बताउनुभयो । यो कार्यक्रम चितवनलगायत अछाम, डोटी, डडेलधुरा, ताप्लेजुङ, खोटाङ, दैलेख, कास्की, काभ्रे, धनकुटालगायतका क्षेत्रमा लागू गरिएको छ ।
अहिलेसम्म नेपालमा २२ जातका उन्नत मकैको विकास भइसकेको छ । नेपालमा अझै मकैको अभावमा अहिले करिब ५० प्रतिशत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
Discussion about this post