भरतपुर । दुई जना विदेशीले चितवनलगायत विभिन्न जिल्लाका युवासँग लाखौँ रकम ठगेको खुलासा भएको छ । मलेसियामा जागिर लगाइदिने भन्दै उनीहरूले नेपालीलाई ठगेका हुन् ।
चितवन, नवलपरासी र कास्कीका १११ जनाभन्दा बढी युवासँग करिब रु ७५ लाख ठगेर उनीहरू बेपत्ता भएको पीडित युवाले बताएका छन् । मलेसियाका नुरुत तोजा र पाकिस्तानी नागरिक मोहम्मद खान नेपाल आई यसरी रकम ठगेर बेपत्ता भएका हुन् । ठगिनेमा चितवनका मात्रै ५४ जना छन् । अन्य पोखरा र नवलपरासीका छन् ।
५० हजारदेखि लाखौँ रकम उठाएर उनीहरू बेपत्ता भएको भरतपुर चितवनका योगेश थापाले बताउनुभयो । उहाँले आफ्नो तीन दाजुभाइबाट रु दुई लाख लगेको बताउनुभयो । माघ अन्तिम सातासम्म उनीहरू पैसा उठाउँदै विभिन्न जिल्लामा बसेको भए पनि अहिले भने बेपत्ता भएको थापाको भनाइ छ ।
आफूहरू ठगिएको थाहा पाएपछि ती युवा कहिले प्रहरी कार्यालय र कहिले पत्रकारहरूलाई दुखेसो पोख्न भौँतारिन थालेका छन् । ठगहरूले गाउँका युवालाई मलेसियाको कम्पनीमा आकर्षक तलब दिनेगरी जागिर लगाइदिन्छु भन्दै पैसा उठाएको पीडितहरूले बताएका छन् । ती ठगहरूलाई पक्राउ गरी रकम असुलीको मागसहित अफूहरूले हालै हनुमानढोका प्रहरीमा उजुरीसमेत दिएको पीडित विजय विकले बताउनुभयो । रासस
Discussion about this post