परासी । नवलपरासी जिल्लाका पहाडी गाविसका कृषक कफीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । आम्दानी राम्रो भएपछि किसानहरु कफिखेतीमा आकर्षित भएका हुन् । वैदेशिक रोजगारीमा यहाँका युवापलायन हुने क्रम तीव्र भए पनि स्वदेशमै बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् ।
जिल्लाको रतनपुर, रुचाङ, नरम, रकुवा, धौवादीलगायतका गाविसका २७५ कृषक परिवारले कफीखेतीबाट आम्दानी लिन सफल भएका रुचाङका शिवलाल थापाले बताउनुभयो ।
रुचाङ–४ का शिवराज राना भीरपाखामा व्यावसायिक कफीखेती सुरु गरेपछि वार्षिक रु एक लाखदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । बजार सुनिश्चित भएका कारण कफीखेती गर्ने कृषकको सङ्ख्या बढेको हो । गत वर्षको तुलनामा यो वर्ष कफी उत्पादनमा वृद्धि भएको कृषकले बताएका छन् ।
यहाँका कृषकले १० हजारदेखि २८ हजारसम्म कफीका बिरुवा रोपेका छन् । नवलपरासीमा उत्पादित कफी विदेशमा पनि निर्यात हुन थालेको स्थानीय शिवलाल थापाले बताउनुभयो ।
यहाँ उत्पादित कफी काठमाडौँ र काभ्रेबाट खरिद हुने गरेको र त्यहाँबाट विदेश निर्यात हुने गरेको कृषकले बताएका छन् । फ्रेन्चेरी, ड्राइपार्चमन्ट नामक कफीतर्फ आकर्षित नवलपरासीका कृषकलाई सरकारी निकायबाट सहयोग नभए पनि स्थानीय सङ्घसंस्था, गैरसरकारी निकायबाट भने प्राविधिक र आर्थिक सहयोग भइरहेको कृषकले बताएका छन् ।
नवलपरासीको पहाडी क्षेत्रमा बसोबास गर्ने कृषक कफीतर्फ आकर्षित हुन थालेपछि राम्रो आम्दानी लिन सफल भएका छन्, यी कृषकलाई थप प्राविधिक सहयोग उपलब्ध भएमा यसप्रति आकर्षित हुनेको सङ्ख्या अझै बढ्ने कृषकको भनाइ छ । रासस
Discussion about this post