-वीरेन्द्र पराजुली
नवलपरासी । अमलटारी मध्यवर्ती होमस्टे गाउँ र ‘प्रकृतिका साथीहरु’ संस्थाको संयुक्त आयोजनामा फागुन २३ र २४ गते नवलपरासीको अमलटारीमा लाटोकोसेरो तथा लाटोकोसेरो (हुचिल) उत्सव हुन लागेको छ । लाटोकोसेरो तथा हुचिल चराको चोरी शिकारलाई रोक्न नवलपरासीमा हुचिल उत्सव हुने भएको हो । प्रकृतिप्रेमी संघसंस्थाले नवलपरासीको अमलटारीमा दुई दिने उत्सव गर्ने भएका हुन् ।
उत्सवमा लाटोकोसेरो (हुचिल) को मुकुट, चित्रकला, डकुमेन्ट्री, अनुहारमा लाटोकोसेरोको चित्र बनाइने, फोटो प्रदर्शनी चराका फोटो खिच्न सिकाइने (फोटो वाक) गरिने आयोजकले जनाएका छन् । कार्यक्रममा नेपालमा पाइने २१ प्रजातिमध्ये आठ प्रजातिका लाटोकोसेरोको आवाज सुनाइने प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले बताउनुभयो ।
विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर उत्सव मनाइने गरिन्छ । सुरूको वर्ष धादिङमा र गएको वर्ष चितवनमा यो उत्सव मनाइएको थियो ।
लाटोकोसेरो तथा हुचिल उत्सव विश्वमा नेपालबाहेक अमेरिका र इटालीमा पनि मनाइने गरिन्छ । नेपालमा प्रत्येक वर्ष कम्तीमा २ हजार लाटोकोसेरो तथा हुचिलहरुको अवैध रुपमा चोरी शिकार हुने गरेको पाइएको छ ।
काठमाडाँैस्थित ‘प्रकृतिका साथीहरु’ नामक संस्थाले नेपालको ३० जिल्लामा गरेको सर्वेक्षणले उक्त परिमाण देखाएको विश्व लाटोकोसेरो कोष बेलायतका नेपाल प्रतिनिधि राजु आचार्यले सोमबार अमलटारीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बाघ, गैंडा हिमचितुवाजस्तै लाटोकोसेरोको पनि अवैैध व्यापार हुने गरेकाले विद्यालय क्षेत्रबाट सचेतना जगाउन उत्सव गरिन लागेको हो ।
तीनदेखि चार महिनामा बच्चा कोरल्ने यो प्रजातिको एक परिवारले तीनहजारसम्म मुसा खान सक्छ । त्यसकारण पनि यो चरालाई किसानमैत्री मानिन्छ । आधा केजीदेखि ५ केजीसम्म तौल हुने लाटोकोसेरो तथा हुचिलको चीन तथा मध्यपूर्वका देशमा बढीमात्रामा निकासी हुने गरेको छ । व्यापारीले ५ केजी तौल भएको हुचिललाई ८० हजारसम्ममा किन्ने र चीन अनि मध्यपूर्वका देशहरुमा बिक्री गर्ने गरेको आयोजकले जानकारी दिए । नेपालमा आउने पर्यटकमध्ये पाँच प्रतिशतले चरा नै अवलोकन गर्न आउने भएकाले लाटोकोसेरो महत्वपूर्ण भएको संरक्षणकर्मीले बताएका छन् ।
लाटोकोसेरो मार्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार दुई वर्ष कैद र १० हजार जरिवाना अनी दुबै हुन सक्ने कानुनी व्यवस्था छ । यसको संरक्षणबारे जनतामा राम्रोसँग ज्ञान दिनुपर्ने अवस्था आएको उत्सवका संयोजक छन्नुराम चौधरीले बताउनुभयो ।
नेपालमा पाइने आठ सय ७१ प्रजातिका चरामध्ये लाटोकोसेरो पीडित चरा भएकाले त्यसको संरक्षण आवश्यक भएको प्रकृतिका साथीहरुका निर्देशक आचार्यले बताउनुभयो । तराईको चितवन, नवलपरासीमा धेरै संख्यामा पाइने लाटोकोसेरोको संख्या भने यकिन नभएको आयोजकले जनाएका छन् ।
नेपालमा सन् २००८ मा मनाङ र मुस्ताङमा यसको अध्ययन भएपनि अन्य ठाउ“मा अध्ययन हुन नसक्दा संख्यामा एकिन गर्न कठिन भएको हो । समुद्र सतहदेखि पाँच हजार मिटरसम्म यसको बासस्थान फेला परेको निर्देशक आचार्यको दावी छ ।
Discussion about this post