नारायणगढ । तपाईँ पताउनु हुन्छ ? कसैले तपाईँको सवारी साधन चोरेर लैजाँदै छ भने तपाईँले चलिरहेको सवारी साधनलाई एक एसएमएसबाट बन्द गर्न सक्नुहुन्छ । सवारी साधनको चोरीको बिगबिगी बढिरहेको बेला नारायणगढमा यो प्रविधि भित्रिएको छ ।
सुरक्षा टे«डिङले ओरेण्टल सेक्युरिटी सर्भिसेजको सहकार्यमा नारायणगढमा सवारी सुरक्षाको लागि अत्याधुनिक इलेक्ट्रोनिक टिआर लक प्रविधि चितवनमा भित्रिएको हो । सिंगापुरमा प्रयोगमा रहेको यो प्रविधि पाँच महिनाअघि नेपालमा भित्रिएको हो । सोमबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी यसको विधिवत् सुरूवात् भएको घोषणा सुरक्षा टेडिङकी निरु कार्कीले गरिन् ।
यो प्रविधिले सामान्य एक विद्युतीय यन्त्रमा मोबाइल सिमको प्रयोग गरी त्यसबाट गाडीको निगरानी गर्न सकिने टिआर लकका नेपालका आधिकारिक वितरक ओरेण्टल सेक्युरिटी सर्भिसेज काठमाडौँका प्रबन्ध निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
आफ्नो साधनमा जडान गरिएको यन्त्रमा रहेको सिमले सवारी धनीलाई गाडीको अवस्थाबारे हरेक क्षण एसएमएस गरेर जानकारी दिने उनले बताए । ‘सवारी धनीले कतै गाडी पार्किङ गरिसकेपछि गाडीको यन्त्रमा रहेको सिममा फोन गर्नुपर्छ’, पौडेलले भने, ‘तीन घण्टी गएपछि फोन काटिन्छ, कसैले गाडीलाई चोरी गरेर लग्यो भने त्यसले तपाईँलाई सात सेकेण्डभित्रमा एसएमएस गरेर सूचना दिन्छ ।’
यन्त्रजडित गाडी कहाँ छ भन्ने पनि हेर्न मिल्ने उनले जानकारी दिए । उपग्रहको माध्यमबाट गाडीको लोकेसन, स्पिडलगायतको जानकारी पाउन सकिने उनले बताए । ‘त्यतिमात्र होइन, तपाईँले कसैलाई गाडी दिनुभएको छ, त्यसले गाडी अधिक गतिमा चलाइरहेको छ भने पनि गति कम गराउन सक्नुहुन्छ’, उनले भने, ‘यसले इन्धन र लोडको बारेमा पनि जानकारी दिन्छ ।’
यो यन्त्र साना ठूला गाडीमा जडान गर्न सकिने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । यो यन्त्र चलाउनको लागि बेलाबेलामा मोबाइल सिम रिचार्ज गर्नुपर्ने हुन्छ ।
चोरिएको गाडीबाट चोरले यन्त्र निकालेर फाले पनि त्यसको जानकारी सवारीधनीलाई एसएमएसमार्फत डिभाइसले दिने उनले बताए । ‘यसलाई कसैले निकालेर फालिदिए पनि त्यसको जानकारी सवारी धनीलाई दिन्छ’, पत्रकारको एक जिज्ञासामा पौडेलले भने, ‘कसैले यन्त्र फालिदियो भने पनि फालेलगत्तै व्याट्री डिस्कनेक्टेड भन्दै एसएमएस लगातार चार घण्टासम्म आइरहन्छ ।’
पत्रकार सम्मेलनमा यो प्रविधिले काम गर्ने तरिकाका बारेमा गाडीमा प्रयोग गरि देखाइएको थियो ।
Discussion about this post