दिपेन्द्र अधिकारी
नारायणगढ । डब्लुडब्लुइको आयोजनामा टिभी च्यानलहरुमा रेसलिङ हेरेर मज्जा लिइरहेका चितवनवासीले आइतबार प्रत्यक्ष अवलोकन गरी यस खेलबाट मनोरञ्जन लिएका छन् ।
नारायणगढ क्याम्पाचौरमा आइतबार भएको रेसलिङ प्रतियोगितामा १३ जना रेसलरहरुले सहभागिता जनाएका थिए । रेसलिङ जोन–२०१४ नाम दिइएको यस कार्यक्रमको आयोजक इन्टरनेशनल रेसलिङ एकाडेमी (आइडब्लुए) रहेको थियो ।
चितवनमा यस्तो कार्यक्रम भएको पहिलो पटक हो । टिभी च्यानलमा मात्र देखिने यस्ता खेल प्रत्यक्ष हेर्न पाउँदा दर्शकहरु निकै खुशी देखिन्थे । रक, मेस्टेरियो, जोन सिना आदिको खेल टिभीमा हेरेका दर्शकले प्रत्यक्ष रुपमा नेपाली रेसलर सहभागी भएको खेल हेर्दा निकै अचम्मसमेत मानेका थिए । खेल हेर्नका लागि बालकदेखि वृद्धसम्मको उपस्थिति रहेको थियो ।
चितवन, काठमाडौं, भक्तपुर, मकवानपुरलगायतका विभिन्न जिल्लाबाट उपस्थित खेलाडीहरुले खेल प्रदर्शन गरेका थिए । यस पटक देशका तीन सहरमा कार्यक्रम आयोजना गरिएको छ । खेल अवधिमा खेलाडीबीच प्रतिस्पर्धा हुँदा केही प्रहार वास्तविक लागे पनि अधिकांश सामान्य देखिन्थ्यो । वास्तविकतामा आधारित नभएको भनी दर्शकहरुले ‘कमेडी शो’ भनी खेलको प्रतिक्रियासमेत दिएका थिए ।
सहभागी खेलाडीमध्ये चितवनको राइनो रहेका थिए । अन्य जिल्लाका लिजार्ड किङ, अजिङगर, म्याक्स बी, मिस्टर यती, किङ कोब्रा, मिस्टर वारियर, कोजु, नुवाकोटे टाइगर, स्कोर्पीयन, आर बी, हिमालय टाइगर र नेपलीज लायन रहेका थिए । सहभागी खेलाडी र रेफ्री अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको आयोजकको दावी छ ।
टिभीमा देखिने यस्ता खेलहरुको मज्जा स्थानीय तहमा दिनको लागि कार्यक्रम आयोजना गरिएको आइडब्लुएका सीइओ मनोहर बस्नेतले बताए । रेसलिङ खेलप्रति आममानिसको रूचि बढ्दै गएकाले स्थानीयस्तरमा प्रत्यक्ष खेल आयोजना गरी मनोरञ्जन दिलाउन कार्यक्रम आयोजना गरिएको बस्नेतले जनाए ।
यसअघि इटहरीमा भइसकेको कार्यक्रम अर्को हप्ता पोखरामा हुने आयोजकले जनाएको छ । स्थानीय तहमा फोर स्टार युथ क्लब भरतपुरसँगको सहकार्यमा क्याम्पाचौरमा यो खेल आयोजना गरिएको थियो । यस्तो खेलको नक्कल नगर्न आयोजकले सवैमा अनुरोधसमेत गरेको छ ।
Discussion about this post