भरतपुर । नेपाल पत्रकार महासंघ चितवनको आगामी फागुन २१ गते हुन गइरहेको दसौं अधिवेशनका लागि स्वतन्त्र पत्रकार संघको अगुवाइमा व्यवसायिक तथा क्रियाशील पत्रकारहरुले समूह (प्यानल) घोषणा गरिएको छ ।
क्रियाशील पत्रकारको भेलाले महासंघको वर्तमान कार्यसमिति उपाध्यक्ष रहेका रमेशकुमार पौडेलको नेतृत्वमा चुनावी मैदानमा जाने निर्णय गरेको स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेलले जानकारी दिनुभयो । क्रियाशील पत्रकारहरुको प्यानलमा उपाध्यक्षमा दीपेन्द्र बडुवाल, सचिवमा विनोदबाबु रिजाल, कोषाध्यक्षमा राजेश घिमिरे र सदस्य (खुला) मा बालगोविन्द न्यौपानेलाई उम्मेदवार प्रस्तुत गरिएको छ । साथै केन्द्रीय पार्सदमा संघका अध्यक्ष सूर्यप्रकाश कँडेल तथा क्रियाशील पत्रकारहरु चाँदनी हमाल, नारायण ढुंगाना, विमल खतिवडा, वीरेन्द्रमणि पौडेल, सुरज पौडेल, रमेश पौडेल र सन्तकुमार चौधरीलाई उम्मेदवार घोषणा गरिएको छ ।
त्यस्तै क्रियाशील पत्रकार महिला तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का तर्फबाट प्रस्तुत सहसचिवका उम्मेदवार सविता श्रेष्ठ, महिला आरक्षित सदस्य पदमा शान्ता अधिकारी तथा आदिवासी जनजाति आरक्षित सदस्य पदका उम्मेदवार राजु चौधरीलाई समर्थन गर्ने निर्णय गरिएको जनाइएको छ ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा श्रमजीवी, व्यवसायिक तथा क्रियाशील पत्रकारको सही प्रतिनिधित्व भएमात्र सबै पत्रकारको हित हुने भन्दै सो समूहले क्रियाशील पत्रकारसँगै महिला, आदिवासी जनजाति, दलित तथा मधेसी समुदायको समावेशी प्रतिनिधित्व प्राथमिकतामा राखेको जनाएको छ ।
Discussion about this post