कैलाली । कैलालीको मध्यदक्षिणवर्ती लालबोझी गाविस–४ मोहना घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परी मर्नेको सङ्ख्या चार पुगेको छ । दुर्घटनाग्रस्त डुङ्गामा सवार अन्य १८ जना बेपत्ता रहेको बताइएको छ ।
भारतीय क्षेत्र तिकुनिँया बेलुवाबाट हाट बजार गरेर साँझ घर फर्किरहेका मानिसहरू सवार रहेको उक्त डुङ्गा अचानक मोहना घाटमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा लालबोझी गाविस वडा नं ४ का ४५ वर्षीया फूलमती कठरिया, वडा नं ३ का ८ वर्षीय सन्दिप कठरिया, लालबोझीकै रहिस अलिकी नाम खुल्न नसकेकी डेढ वर्षीया नातिनी र हलौना थर भएकी एक मुस्लिम महिला रहेको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ । डुङ्गा बीच नदीमा पुग्दै गर्दा भारतीय क्षेत्रमा अचानक डुब्न पुगेको लालबोझीका राजेन्द्र खनालले बताउनुभयो ।
हलौनाको भारतीय क्षेत्रको एक अस्पतालमा लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको बताइएको छ । नदी किनारसम्म पौडेर किनार लाग्दै गर्दा हलौनालाई स्थानीयवासीले उद्धार गरेको थियो ।
समाचारअनुसार डुङ्गा बीचनदीमा पुग्न लाग्दा पानी भरिएर अचानक डुब्न पुगेको हो । पुल नभएका कारण हरेक वर्ष यस जिल्लाको दक्षिणवर्ती सिमानाका मानिसले वर्षात्को समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । डुङ्गा चालक स्थानीय एक राजी रहेको बताइएको छ । चालकको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त भएको छैन ।
डुङ्गा दुर्घटनापछि शनिबार साँझदेखि स्थानीय जनता उद्धारमा सहभागी भइरहेका छन् ।
Discussion about this post