सौराहा । पोल्ट्री व्यवसायीहरुले कुखुराजन्य उत्पादनका प्रविधिको प्रयोग गरेर लागत मूल्य घटाउन व्यवसायीहरु सचेत भएको बताएका छन् । सौराहामा शनिबार आयोजना गरिएको नेपाल दाना उद्योग संघ चितवनको १३ औैैं साधारण सभामा बोल्ने व्यवसायीहरुले पोल्ट्री उत्पादनमा प्रविधिको प्रयोग गरी गुणस्तरीय उत्पादन बजारमा पठाउन सके अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिने घारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले उत्पादन मूल्य घटाउन पोल्ट्रीमा प्रविधिको प्रयोग हुन जरुरी रहेकाले नयाँ–नयाँ प्रविधिको खोजी भइरहेको बताउनुभयो । उहाँले दाना बनाउने कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने बाध्यकारी अवस्था रहेकाले नेपालमा कुखुराको उत्पादनमा लागत मूल्य बढी पर्न भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष डा.तिलचन्द्र भट्टराईले कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सके लागत मूल्य घटाउन सकिने सुझाव दिनुभयो । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको भन्दै उहाँले स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न सके पोल्ट्री उत्पादनको लागत घटाउन सकिने बताउनुभयो ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले दानाको उपभोग र बजारको प्रर्बद्धनको लागि विज्ञापनलाई जोड दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान, नेपाल ह्याचरी संघका वरिष्ठ उपाध्यक्ष टीकाराम पोखरेल, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलियालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा चितवनका पहिलो दाना व्यवसायी कृष्णबन्दु पिया, दाना उद्योग संघ चितवनका पूर्वअध्यक्ष भुवानीप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल दाना उद्योग संघ चितवनका निर्वतमान अध्यक्ष शंकरप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post