विभिन्न प्रकार र शैलीमा जनतालाई ठगी गर्ने व्यक्तिहरु चितवनमा प्रहरी कारबाहीमा परेका छन् । सर्वसाधारण जनतालाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने व्यक्तिहरु यसरी कारबाहीमा पर्नुलाई सकारात्मक कदमका रुपमा लिइएको छ । तर, सम्पूर्ण विकृति र विसंगतिमाथि भने प्रहरीको आँखा पुग्न सकेको छैन । खासगरी, लागूपदार्थ सेवन गर्ने युवायुवतीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । प्रहरीले सीमित स्रोत र साधनबाट यो समस्याको समाधान गर्न सकिरहेको छैन । यो समस्यालाई गहिराइसम्म पुगेर निराकरण गर्न व्यापारीहरुमाथि निगरानी गर्नु अत्यावश्यक देखिएको छ ।
वैदेशिक रोजगारी र जग्गा दलाली गर्ने गिरोहले पनि साधारण जनतालाई ठगी गर्ने काम गरिरहेको जनगुनासो पटकपटक सार्वजनिक हुने गरेको छ । कानुनको पहुँचभन्दा टाढा रहेका यी ठग प्रवृत्तिका विरूद्ध जनता स्वयम् पनि सचेत हुनुपर्दछ । विभिन्न प्रलोभनमा परेर ठगिनुपूर्व सम्बन्धित काम कति भरपर्दो र विश्वसनीय छ भनेर एक पटक सोच्नु अब जरूरी भैसकेको छ । कानुनी ज्ञान र चेतनाको अभावमा नेपाली जनता ठगिने क्रम बढ्दै गएको अनुभव गरिएको छ ।
चितवनका प्रहरी प्रमुखले जिल्लाको शान्ति सुरक्षा र ठगी अपराधविरूद्ध सक्रियता देखाएको कुरा आफैँमा स्वागतयोग्य छ । यो कदमलाई निरन्तरता दिएर सुशासनको अनुभूति दिलाउन प्रहरी प्रमुखले अझ बढी सक्रियता देखाउने अपेक्षा चितवनका जनताले गरेका छन् । यी बाहेक सामाजिक विकृति फैलाउने विभिन्न प्रकृतिका अपराधमाथि पनि प्रहरी निगरानी बढाउनु पर्ने आवश्यकता महसुस गरिएको छ ।
देशमा लामो समयको संक्रमणकाल अन्त्य भएको छ र नयाँ सरकारले आफ्नो कार्यभार सम्हालिसकेको छ । अब जनताले सरकारबाट महँगी नियन्त्रण, सुशासन र अपराधमुक्त समाजको परिकल्पना गरिरहेका छन् । चितवनमा अपराध प्रवृत्तिविरूद्ध केही समयअघिदेखि ठोस कामहरु भएका छन् । तर, अझै पनि गुन्डागर्दी नियन्त्रण भैसकेको छैन । प्रहरी सक्रियताभन्दा पनि बढी मात्रामा अपराधीहरुको जन्म भइरहेको छ । नयाँनयाँ शैलीको अपराधले जनता चिन्तित बनिरहेका छन् । कतिपय मामिलामा जनता आफैँ पनि सचेत बन्नु जरूरी भैसकेको छ । भविष्यमा चितवन प्रहरीले अपराध नियन्त्रणतर्फ अझ बढी सक्रियता देखाउने अपेक्षा गरिएको छ ।
Discussion about this post