दिपेन्द्र अधिकारी
भरतपुर । जनता ठग्दै हिँड्नेहरु पक्राउ पर्न थालेका छन् । विभिन्न बहानामा लोभ, प्रलोभन र त्रास देखाइ ठगी हिँड्नेहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ज्योतिष, जादुगर, व्यापारीआदि रहेका छन् । ठग्दै हिँड्नेमा अधिकांश भारतीय नागरिक रहेको र केही नेपाली पनि संलग्न रहेको चितवन प्रहरीले जनाएको छ । ठगहरुको जालो भत्काउन सक्रिय चितवन प्रहरीले भनेको छ,‘अब जनता ठगिनबाट आफै सचेत हुनु जरुरी छ ।’
केही महिनाभित्र चितवनमा भएका यस्ता घटनाहरुबाट चितवनमा ठग्ने र ठगिनेको अवस्था सजिलै पत्ता लगाउन सकिन्छ । गत माघ २९ गते भनपा १ स्थित होटल कँगारुबाट दुई भारतीय पक्राउ परे । भारत घर भएका महर्र्षी दत्तराजनले ज्योतिषी बनी हात हेराउने भन्दै सोझासिधा मानिसहरुसँग जवर्जस्ती रकम उठाएको स्थानीय मानिसहरुबाट गुनासो आएपछि सो कार्यमा संलग्न रहेका महर्षी र सँगै रहेका राजेन्द्र मण्डललाई चितवन प्रहरीले पक्राउ ग¥यो ।
उनीहरुलाई केही सार्वजनिक अपराध शीर्षकमा मुद्दा चलाइयो । ५८ वर्षीय महर्षी र २४ वर्षीय मण्डल फागुन ११ गते जिल्ला प्रशासन चितवनको आदेशबाट पाँचहजार रुपैयाँ धरौटीमा छुटे ।
त्यस्तै फागुन ४ गते २१ वर्षका दुई भारतीय नागरिक रणवीर सिंह र ठाकुर सिंह पक्राउ परे । उनीहरुमाथि ‘अल होम हर्वल क्लिनर’ नामक तरल पदार्थलाई फर्निचर सफा गर्ने केमिकल भन्दै सर्वसाधारणलाई झुक्याई बिक्री गरी ठगी गर्ने गरेको भन्ने जनगुनासो आएपछि चितवन प्रहरीले तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलायो । उनीहरु गत ८ गते जनही तीनहजार रुपैयाँ धरौटीमा प्रशासनको आदेशबाट छुटिसकेका छन् ।
जनता ठगी हिँड्नेहरुलाई निगरानी राख्दै आएको प्रहरीले गत बिहीबारमात्रै महमा अखाद्य पदार्थ मिसावट गरी बेचविखन गरेको आरोपमा १४ जना पक्राउ परे । उनीहरु सबै भारतीय नागरिक हुन् । उनीहरुको साथबाट २ सय ७५ किलो मह बरामद गरिएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
ती अखाद्य मह नष्ट गरिनुका साथै आरोपितलाई चेतावनीका साथ सम्बन्धित व्यक्तिहरुलाई जिम्मा लगाइ छाडिएको प्रहरीले जनाएको छ ।
प्रलोभन तथा झुटा आश्वासन दिएर जनता ठगी हिँड्ने केहीलाई चितवन प्रहरीले पक्राउ गरे पनि यस्तो प्रवृत्ति समाजमा अझै विद्यमान
देखिन्छ । जनता प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठगिँदासमेत जिल्ला प्रशासन र उपभोक्ता अधिकारवादीहरु भने तातेका छैनन् ।
‘जनतालाई ठगी हुनबाट बचाउन हामीले प्रयास गरेकै छौं, प्रहरी प्रमुख कार्कीले भने,‘सरोकारवाला अन्य निकायले पनि उत्तिकै चासो दिएमा यस्ता घटना कम हुने थिए ।’ चितवन प्रहरीले पछिल्लो समय विभिन्न तरिकाले ठगी गरी हिँड्नेलाई पक्राउ गरी मुद्दा चलाउने गरेको छ ।
चितवनमा पसल नै राखेर नियमित ठगी गर्ने गरेको सूचना पाइएकाले छिट्टै त्यस्ता पसलहरुमा छापा मारिने उनले बताए ।
अव जनता आफै पनि सचेत हुने समय आएको छ भन्दै एसपी कार्कीले झुटा आश्वासन दिइ लाभ लिन खोज्नेविरुद्ध तुरुन्त प्रहरीमा सूचना दिन पनि आग्रह गरे ।
‘जनता नठगियून र ठग्दै हिँड्नेहरु कानुनको दायरामा ल्याइ कारवाही गरौं भन्ने हाम्रो उच्चतम प्रयास हो,’ एसपी कार्कीले भने ।
चितवनमा यस्ता घटनाहरु दिनहुँ जसो कहिँ न कतै हुने गरे पनि आफूहरुलाई सूचना नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।
त्यस्तै गत फागुन ५ गते नयाँ मेडिकल कलेज अगाडि जादु देखाइ सर्वसाधारण तथा पैदलयात्रीलाई डर त्रासमा पारी आतंकित बनाई जादु हेरेवापत पैसा दिन बाध्य बनाएको आरोपमा नवलपरासी प्रगतिनगरका ३ जना पक्राउ परे । पक्राउ पर्नेमा वर्ष १३ का दीपक भाट क्षेत्री रहेका छन् ।
यस घटनामा पक्राउ पर्ने अन्यमा प्रगतिनगर ३ का वर्ष ३० का आनन्द सुवेदी र ४ का वर्ष १७ का अनिश जिसी रहेका छन् । उनीहरुलाई पनि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएकोमा गत १४ गते क्षेत्री १५ सय तथा सुवेदी र जिसी ३ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।
अर्को घटना हो गत भदौ महिनाको । भदौ महिनामा चितवन प्रहरीले सुदुर पश्चिम क्षेत्रका तीन युवालाई कालो बजारीअन्तर्गत मुद्दा चलाएको थियो ।
विभिन्न किसिमका शुभ धनवर्षा, फेयर लुकलगायतका सामानहरु स्थानीय मानिसहरुलाई प्रलोभनमा पारी बिक्री गरेको सूचनाको आधारमा सुरेश प्रधानको घरमा राजु विकसमेतका ३ जनाले शुभ धनवर्षा घरमा राखे धन वर्षा हुन्छ, व्यापार व्यवसाय राम्रो हुन्छ, ईजी सिलिम टी खाए शरीरको मोटोपन घटाउँछ, फेयर लुक लगाए अनुहार राम्रो हुन्छ भन्नेजस्ता विभिन्न प्रलोभन देखाइ जनता लुट्ने काम गरेको प्रहरीको आरोप थियो ।
यस घटनामा संलग्न डडेलधुरा जोगबुढा गाविस वडा नं.९ बस्ने वर्ष २८ को गणेश विक लोहार, डडेल्धुरा शीर्ष गाविस वडा नं. ६ बस्ने वर्ष २७ को राजु विक र कञ्चनपुर विचुवा गाविस वडा नं.७ बस्ने वर्ष २० को मनोज बि.क. । गत असोज ३ गते जनही दस हजार धरौटीमा छुटेका थिए ।
Discussion about this post