होमनाथ सापकोटा
सिद्धि । चितवनको पहाडी गाविसमा बसोबास गर्ने चेपाङ समुदायका महिलाहरु पछिल्लो समय प्रजनन् स्वास्थ्यप्रति सचेत बन्दै गएका छन् । पहाडी गाविसमा स्वास्थ्य चेतना बढदै गएकाले चेपाङ महिलाहरु प्रजनन् स्वास्थ्यप्रति हुन थालेका हुन् । चेतनाको अभावमा सुत्केरी व्यथा लाग्दा जंगलतिर दौडने महिलाहरु अहिले नियमित गर्भवती जाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने गरेका छन् ।
परिवार नियोजनको अस्थायी साधनको प्रयोगबारे अनभिज्ञ रहने गरेका चेपाङ समुदायले पछिल्लो समय परिवार नियोजनको अस्थायी साधनसमेत प्रयोग गर्न थालिसकेका छन् । महिला तथा पुरुषलाई प्रजनन् स्वास्थ्यका बारेमा जानकारी गराउन र गाउँ–गाउँमा चेतना फैलाउन जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्वास्थ्य संस्थामार्फत् महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको छ ।
महिला स्वास्थ्य स्वयम्सेविकाको निरन्तरको प्रयासमा चेपाङ महिलाहरुले प्रजनन् स्वास्थ्यबारे जानकारी लिन थालेको पाइएको छ । लाजले सुत्केरी गराउन स्वास्थ्य संस्था नजाने, गर्भवती जाँच नगर्ने र परिवार नियोजनको अस्थायी साधन प्रयोग नगर्ने चेपाङ महिलाहरु अहिले भने खुलेर यी सुविधाको प्रयोग गर्न थालेका छन् । अहिले अवस्था सुधारिएको छ, सिद्धि उपस्वास्थ्य चौकीका सिनियर अहेव ईन्द्रलाल न्यौपानेले भने, ‘पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी गराउने र गर्भवती जाँच गराउने महिलाको संख्या बढन थालेको छ । चेपाङ महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउन थालेपछि उपस्वास्थ्य चौकीले सुत्केरी गराउने सुविधायुक्त ‘बर्थिङ सेन्टर’समेत सञ्चालनमा ल्याएको छ ।
सिद्धि उपस्वास्थ्य चौकीमा मात्र मासिक ५ जना महिला सुत्केरी गराउन तथा १० जना महिला गर्भवती जाँच गराउन आउने गरेको न्यौपानेले बताए । उनले चेपाङ महिलाहरुलाई सुत्केरी गराउन र गर्भवती चेकजाँच गराउन स्वास्थ्य चौकी ल्याउन निरन्तर स्वयम्सेविकालाई गाउँ–गाउँमा परिचालन गरिएको जनाए । लाजले बध्याकरण गर्न नमान्य चेपाङ पुरुषहरु पनि पहिलो समय बध्याकरण गर्न गर्न आउने गरेका छन् । गर्भवती चेकजाँच गराउन आउने महिलाहरुबाट सन्तानको संख्या पत्ता लगाएर पुरुषहरुलाई बध्याकरण गर्न आग्रह गर्ने गरिएको अहेव न्यौपानेले जानकारी दिए ।
महिलाहरु प्रजनन् स्वास्थ्यप्रति सचेत बनेका कारण जन्मान्तरको अनुपातसमेत कम भएको छ । अशिक्षाका कारण १५÷१६ वर्षमै आफूखुसी विवाह गर्ने र एक वर्ष बित्न नपाउँदै बच्चा जन्माउने प्रचलनका कारण चेपाङ समुदायमा जीविकोपार्जनमा समस्या हुने गरेको छ । सानै उमेरमा विवाह गर्दा हुने जोखिम थाहा नपाउँदा चेपाङ किशोरीहरु सानै उमेरमा विवाह गर्ने गरेका छन् । सानै उमेरमा विवाह गर्ने र प्रजनन् स्वास्थ्यका बारेमा चासो नराख्ने गरेकाले समस्या आउने गरेको थियो अनमी तारा थापाले भनिन् ।
अहिले भने प्रजनन् स्वास्थ्यप्रति महिलाहरु केही मात्रामा सचेत भएका छन् । चेपाङ महिलालाई हेर्दा प्रजनन् स्वास्थ्यमा सफलता मिल्यो भन्ने होइन तर सन्तोष हुने ठाउँ भने रहेको उनको भनाइ छ । पहिला सेत्केरी गराउन स्वास्थ्य संस्था नजाने समस्याले कतिपय चेपाङ महिलाहरु सुत्केरी गराउन नसकेर मरेको भए पनि अहिले भने त्यस्तो थाहा नपाएको अनमी थापाको भनाइ छ ।
चेपाङ समुदायमा सुत्केरी व्यथा लागे जडिबुटी खुवाउने, झरफुक गर्ने चलन थियो उनले भनिन्, अहिले त्यो हटेको छ । स्वास्थ्य चौकीसम्म पहुँच भएका चेपाङ समुदायका पहिलाहरुले आवश्यकताअनुसार स्वास्थ्य संस्थामा जाने गरेको भए पनि चितवनका पहाडी गाविसहरुमा ७ घण्टासम्म हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यकारी अवस्था रहेको छ । भौगोलिक विकटताका कारण २५ प्रतिशत चेपाङ महिलाहरुको स्वास्थ्य संस्थाप्रतिको पहँच नरहेको बताइएको छ ।
२०६८ को जनगणनाअनुसार नेपालमा चेपाङको संख्या ६८ हजार ३ सय ९९ रहेको छ । यसको झण्डै ५० प्रतिशत महिला रहेका छन् । चितवनमा चेपाङको संख्या ३२ हजार रहेको छ । चेपाङहरुमा अशिक्षाका कारण एउटी महिलाले १२ जनासम्म सन्तान जन्माएको खबर सुनिने गरेको छ ।
Discussion about this post