वीरेन्द्रमणि पौडेल
धेरै मान्छेहरु भन्ने गर्छन्– हेर्दाहेर्दै गयो जीवन । उमेर ढल्किएको पत्तै भएन । कतिखेर कपाल फुल्यो, कतिखेर दाह्रीजुँगा फुले थाहै नपाइकन निधार र गाला चाउरिए । छोराछोरी हुर्किएर ठूला भइसके । कोही पढ्दै छन्, कोही पढाइ सिध्याउने तर्खरमा छन् । पहिले–पहिलेको जस्तो जमाना हुँदो हो त आज सम्धी भएर हजुरबासम्म भइन्थ्यो । ढिला बिहे गर्ने, केही बनेर वा गरेर बिहे गर्ने चलन आएकैले हो, होइन भने आज नातिनातिनाले काँध चढेर पिसाब चुहाइसकेका हुन्थे ।
जसरी ख्यालख्यालमै आमनेपालीहरुको उमेर ढल्किन्छ, त्यसरी नै मेरो उमेर पनि ढल्कियो, ढल्किँदै छ । सबैको अनुभवले एउटै निष्कर्ष निकाल्दो रहेछ– “आहा ! त्यो मेरो बाल्यकाल र त्यतिबेलाका निर्दोष र कपटरहित व्यवहार र बोलीहरु ।” अरुको जस्तै मेरो पनि बाल्यकाल रमाइलो, हाँसो, रूवाइ, अभाव र गन्तव्यबिनाको हिँडाइमा बितेको
थियो । सबैले बाल्यकालका खासखास क्रियाकलाप सम्झिन्छन् र रमाइलो मान्छन् । रमाइलो मान्नुपछाडिको कारण एउटै हुनुपर्छ कि ती दिनहरु अब फर्केर आउँदैनन् । त्यसैले महँगा सावित भएका छन् । कुनै मूल्य तिरेर प्राप्त गर्न नसकिने, अनमोल ।
बाल्यकालका ती अनमोल सम्झनाहरुमध्ये यो कलम समाएर लेखौँलेखौँ सोचिरहँदा अकस्मात मस्तिष्कले आजभन्दा झन्डै २४ वर्षअगाडि बाल्यकालका साथीहरुसँग गोर्खा जिल्ला घुमेको र घुमाइ ताका प्राप्त अनुभव सम्झना भएसम्म लेख्न आदेश दिएबमोजिम यो कलम अघि बढिरहेको छ । सोच्दैछु, यो संस्मरणले पाठक महोदयहरुलाई दिक्क बनाउने छ्रैन ।
भरतपुर नगरपालिकाभित्र कृष्णपुर नामको सहर उन्मुख गाउँ छ । आजभन्दा ४२ वर्षअघि म त्यही गाउँमा चित्राले बारेको खरले छाएको घरमा जन्मिएको हुँ । अघि–पछि गरेर मेरा बाआमाको १० वटा सन्तान जन्मिए । २ छोरी र ८ भाइ छोरा । एक बहिनीको ८ वर्षको उमेर र एक भाइको रामपुर कलेजमा बीएसी तेश्रो वर्षमा अध्ययन गरिरहँदा ब्लड क्यान्सरका कारण निधन भयो । हामी अहिले ७ भाइ छोरा र एक छोरी जीवित छौँ । चुलबुले स्वभावको म उठ्नेबित्तिकै पुष्करको घरमा
जान्थेँ । पुष्कर र मेरो घर करिब २०० मिटरको दूरीमा थियो । ऊ मेरो बाल्यकालको औधी मिल्ने साथी, सँगै खेल्थ्यौँ । कृष्णपुरबाट उसको परिवार केही समयका लागि भण्डारा बसाइँ स¥यो, संगत छुट्यो । केही वर्षपछि फर्किए । यतिबेला पुष्कर क्यान्सर अस्पतालमा जागिरे छ । रामेश्वर र राजकुमार पराजुली, निरञ्जन र निर्मल शर्मा, कृष्णराज मरहट्ठा, चूडामणि वकिलको भाइ कृष्णप्रसाद सापकोटा, तुलसीप्रसाद ओस्ती, युगमणि काफ्ले, कमलप्रसाद शर्मा भट्ट, सुदर्शन सोती, मिरे कामी, बाबुराम देवकोटा, डोलराज, देवबहादुर गुरूङ, अजिप श्रेष्ठ, गौतम, गोविन्द गौतम, केशव गौतम, उद्धव केसी, राजेन्द्र श्रेष्ठ, भविलाल तामाङ, प्रकाश केसी, सानुबाबु अधिकारी, कमलबहादुर अधिकारी, बुद्धिराज बज्गाईं, भरत बज्गाई, उपेन्द्रबहादुर थापा, दिलीप भण्डारी, राजुबहादुर खनाल, भोलाबहादुर खनाल, शिवराम मिश्र, तामाङ गाउँका मनबहादुर लामा उमेरले अलिकति जेठा भए पनि दीपक भण्डारी र विजयमणि काफ्ले मेरा बाल्यकालका साथीहरु हुन् । हरि, राम, भोजबहादुर, कृष्ण, ठाकुर र वेदप्रसाद बज्गाईं उमेरले मेरा दाइहरु हुन् । राजेन्द्र खनाल, शीतल ढकाल, रामशरण सत्याल, बालकृष्ण पौडेल, रामनाथ खनाल, शेखरनाथ खनाल, मिनबहादुर तामाङ, श्यामप्रसाद लामिछाने, विष्णुप्रसाद आचार्य, हरिराम र बाबुराम मिश्र, अमृत ढकाल, बुद्धिबहादुर गुरूङ, द्वारिका गौतम, बद्रि गौतम, नारायण लौडारी, शिव बोहरा, दीपेन्द्रराज पौडेल, सुशील, कमल, दीपक र तिलक गौतम, लक्ष्मणप्रसाद पौडेल, अनिलराज पौडेल, शरद परासर, भीमबहादुर पौडेल, प्रेमबहादुर पौडेल, अर्जुनबहादुर खड्का त्यतिबेलाका मेरा गाउँले दाइहरु हुन् । उल्लेखित नामहरुमध्ये बालकृष्ण पौडेल दाइ जनयुद्ध ताका राज्यपक्षद्वारा मारिनुभयो कृष्णपुरवासीलाई रूवाएर भने शिव बोहराको सवारी दुर्घटनामा परेर निधन भयो । नारायण बज्गाईं, सुरज थापा, सनतकुमार लामिछाने, नीलकण्ठ खरेल, झुलप्रसाद ठूलोबाका छोरा दीपेन्द्रराज पौडेल, सीताराम आचार्य, ईश्वर कँडेल, उपेन्द्र त्रिपाठी, उद्धव त्रिपाठी, हरि त्रिपाठी, गोपाल आचार्य, राजु, विष्णु र गोपी पौडेल, शेषराम मिश्र मेरा गाउँले भाइहरुका रुपमा थिए । यतिबेला को कहाँ छन्, थाहा छैन । कोही गाउँमै छन् । कोही जागिरको सिलसिलामा स्वदेश र विदेशका विभिन्न ठाउँमा गएका
छन् । उमेरले दाइहरु, भाइहरु र साथीहरुको मलाई बारम्बार सम्झना आउँछ । तर, सबै साथीहरुमध्ये मेरा बाल्यकालका अति नै घनिष्टमध्येका तीन साथीहरु हुन्, राजेन्द्रमणि काफ्ले, मेखबहादुर पौडेल र भरतमणि पौडेल । मसहितको चार जनाको टोलीले बाल्यकालको निकै लामो समय एकसाथ बितायौँ । राजेन्द्र र मेखबहादुर अन्तर्मुखी स्वभावका, भरत र म बहिर्मुखी खालको । को कति चलाख थियौँ, छुट्याउनै
मुस्किल । सबै करिब–करिब उत्तिकै बाठा । अहिले हामी सबै जना चालीस वर्ष कटिसक्यौँ । पछिल्ला दिनहरुमा कसले कति सुखभोग ग¥यो, थाहा छैन । तर, केही अति नै दुःख लाग्ने खालका चोट हामीले व्यहोरेका छौँ । भरतको आमा बित्नुभयो, मेखबहादुरको बुवा । राजेन्द्रकी श्रीमती राधाको अल्पायुमै निधन भयो । मेरी छोरी जिज्ञासा तीनै वर्षको कलिलो उमेरमा परलोक गइन् । बूढै भइसकेको हुँदा भरतकी आमा र मेखबहादुरको बुबाको निधनबाट उनीहरुलाई त्यति धेरै चोट लागेन होला, जति राजेन्द्र र मलाई लाग्यो । तामाको मुनाजस्ती मेरी छोरीको देहान्तले मेरो छाती चिरियो । साना–साना तीनवटा बाबुनानीलाई छोडेर राजेन्द्रकी अर्धाङ्गिनी राधा परलोक जाँदा राजेन्द्रको हृदय कति रोयो होला, हृदय हुनेहरुले मात्रै महसुस गर्न सक्लान् ।
राजेन्द्रमणि, मेखबहादुर, भरतमणि र म २०४३ सालमा के सुर चल्यो कुन्नि एसएलसीको जाँच सिध्याएर गोर्खा घुम्न जाने निधो ग¥यौँ । बाटोखर्च कति लाग्छ, कसैलाई थाहा थिएन । खर्च जुटाउन सजिलो थिएन । हामी सबैका बाबुआमा नपढेका, गाउँले सोझा र सरल थिए, छन् । जाँच सिध्याएर घुम्न जान्छु भन्छन् जाऊन् भनेर खर्च दिनुपर्छ, उनीहरुलाई यस्तो ज्ञान थिएन वा घरपरिवार धान्न मुस्किल थियो । जेसुकै भए पनि हामीलाई खर्च जुटाउन मुस्किल भयो । हामी अल्लारे बाबुआमाको दुःख बुझ्थेनौँ, आफ्नै दुःख बुझ्थ्यौँ । पैसा माग्दा नपाउँदा हामी घरका अन्न चोरेर बिक्री गथ्र्यौं । मकै, गहुँ, धानभन्दा तोरी बेच्दा पैसा बढी आउँथ्यो, हामी धेरैजसो तोरी नै बेच्थ्यौँ । बीउको तोरीको बोरा नै बेचिदिएको मलाई सम्झना छ । जसरी तसरी खर्च जुटाएर हामी गोर्खा हानियौँ । सबै कुरा मलाई जस्ताको तस्तै याद छैन । केही ताजा र केही धमिला सम्झना छन् ।
हामी नारायणगढबाट गाडी चढ्यौँ । १३ किलो भन्ने ठाउँमा ओर्लियौँ । त्यसरात एउटा घरजस्तो घुम्तीमा सुन्तला खाएर सुत्यौँ । सायद, हाम्रो झोलामा चामल र दाल पनि थियो, त्यो पकाएर खाने मौका
जुटेन । गएकै दिनको अपरान्हतिर हुनुपर्छ, जिल्लास्तरीय महिला ह्यान्ड बल प्रतियोगिता भइरहेको रहेछ, जिल्ला विकास समिति गोर्खाको आँगनमा । बुङ्बुङ् धूलो उडिरहेको थियो । रातो जर्सीमा चितवनकै टोली अर्को टिमसँग खेलिरहेको रहेछ । हामीले चिनेका केटीहरु जमुना अधिकारी, मेनका सोती, मीठू श्रेष्ठ र अरूणा गुरूङ हुनुपर्छ । हामीले उनीहरुको फोटो खिच्यौँ । जमुना, मेनका र मीठू कता छन् थाहा छैन, तर अरूणा गुरूङले खेल जीवनलाई निरन्तरता दिइन् । सायद, अहिले खेल प्रशिक्षक र फुटबल रेफ्री भएकी छिन् । यदाकदा नारायणगढतिर
भेट हुन्छ ।
गोर्खा बजारतिर एक रात बिताएपछि बिहान ७–८ बजेतिर हामी गाउँतिर घुम्न निस्कियौँ । करिब १०–११ जस्तै बजेको हुँदो हो, एउटा घरमा पुग्यौँ । बार्दली भएको ढुंगाले छाएको रहेछ । एउटा महिला रहिछन्, करिब ४५–५० वर्षकी । हामीले एक स्वरमा नमस्कार
ग¥यौँ । महिलाले हाँसेर नमस्कार फर्काएर सोधिन्–
“कहाँबाट किन आउनुभएको होला ?”
मैले भनेँ– “हामी पाहुना लाग्न आएका । गोर्खा मनकामना घुम्न भनेर आएका । खाने बेला भयो । सामल झोलामा छ । यसो सहयोग पाएदेखि पकाएर खाऊँ कि भनेर….. ।”
महिलाले “माथि बार्दलीमा बस्दै गर्नुस्, उहाँ बाहिर जानुभा’छ, आउँदै हुनुहोला” भनिन् ।
उनको संकेत उनका श्रीमान्तर्फ रहेछ । बार्दलीमा गएर जुत्ता खोलेर बस्यौँ । जुत्ता खोल्ने बित्तिकै त्यस घरका मान्छे बेहोस हुनेगरी हाम्रा मोजा गन्हाए । गन्धले हामीलाई केही फरक पर्नेवाला थिएन, किनकि हामीलाई गन्ध सुँघ्ने बानी नै परिसकेको
थियो । आधा घन्टाजति आपसमा कुराकानी गरेर बसिरहेका थियौँ, एक पुरूष एउटा ८–१० वर्षकी बच्चीलाई लिएर माथि उक्लिए । आउने बित्तिकै उनैले सोधे–
“पाहुना हुनुहुन्छ कि कसो ?”
हामीले “हो हजुर” भनेर नमस्कार ग¥यौँ । उनले वर्षौंसम्म नमाझेको दाँत देखाउँदै नमस्कार फर्काए । हामी सबैको मोजामा हेरे । फुकालेर राखेको जुत्तामा हेरे, झिँगा भन्किइरहेको थियो । केही भनेनन्, “गर्मी नै छ यता पनि” यत्तिचाहिँ
भने । “ए पाहुनालाई के–के खान दिन्छेस् ?” घरमालिकले भन्दा “ल ल तयार भो” भन्ने आवाजसँगै दाल, भात, तरकारी, अचार र मही एकपछि अर्को गरेर महिलाले ल्याइदिइन् । हामीले खाएको श्रीमान्श्रीमती मिलेर खुब हेरे । पाहुनालाई यसरी खान दिनु सायद उनीहरुको संस्कार र धर्म थियो । खाएर केही क्षण आराम गरेपछि हामी त्यहाँबाट बिदावारी भयौँ । बाटोमा त्यो परिवार कसैले कत्ति असल रहेछन् भन्यौँ, कसैले हो त नि भन्दै सही थाप्यौँ ।
घुम्दैैघुम्दै गोर्खा दरबार
पुग्यौँ । फोटो खिच्न नदिने नियम रहेछ । अर्को गाउँमा पुग्यौँ । बारीको कान्लामा चुल्हो बनायौँ । पातपतिंगर र सानासाना दाउराले भात, तरकारी पकाउन थाल्यौंंंंँ । पकाउने र खाने भाँडा गाउँलेसँग मागेका थियौँ । रायोको साग सहयोगस्वरुप
पाइयो । कहिल्यै पनि कसैले पनि भात नपकाएका हामी चार जनाले पकाएको भात, तरकारी कस्तो भयो होला ? भात गिलो थियो । तरकारीमा नुन चर्को र काँचै थियो । खान सक्नेजति खायौँ, बढी भएको
फाल्यौँ । खाना खाँदै गर्दाको एउटा घतलाग्दो सम्झना छ । काँचो र नुन चर्को तरकारीको दोष एकले अर्कोलाई लगाउँदै जूठो भात, तरकारी एकले अर्काको भागमा फ्याँकिरहेका
थियौँ । छेउमै आएर दुई–तीन जना केटाकेटी उभिए । राजेन्द्रले ठट्टा गरेर मेखबहादुुरलाई देखाउँदै केटाकेटीहरुसँग “उहाँ पढाउने सर हुनुहुन्छ । सरूवा भएर यही गाउँमा आउँदै हुनुहुन्छ” भन्यो । ठट्टालाई साथ दिएर मेखबहादुरले पनि हो हो, म तिमीहरुको सर हो भनिदियो । केटाकेटीहरु लजाएर मेखबहादुरको मुखमा हेरे र गाउँतिर दगुरे । करिब १० मिनेटको समय बितेको हुँदो हो, १०–१२ जना केटाकेटी र ४–५ महिलाहरु आए । त्यतिञ्जेलसम्म हामीले खाना खाइसकेका थियौँ । एक महिलाले “सरचाहिँ को हुनुहुन्छ नि ?” भनेर सोधिन् । राजेन्द्रले मेखबहादुरतर्फ इशारा ग¥यो । मेखबहादुरको अनुहार डर र लाजले होला, रातो भयो । भरत र म हाँसो खपेर बसेका थियौँ । खप्न नसक्ने भएपछि अलि पछि हट्यौँ । त्यतिञ्जेलसम्ममा गाउँभरिका महिला–पुरूष र बच्चाबच्चीले हामीलाई घेरिसकेका थिए । ठट्टा गरेको कुरा साँचो ठानेछन्
गाउँलेले । पढाउन आउने सर भनेपछि साँच्चै सम्मानभाव प्रकट गर्न उनीहरु आएका रहेछन् । नक्कली सर हो भन्ने थाहा पाए भने सबै गाउँलेले कुट्लान् भन्ने पनि पीर भयो । हामी सकेसम्म त्यहाँबाट चाँडोभन्दा चाँडो उम्किने तर्खरमा लाग्यौँ । आज यतै बसौँ न सर भन्दै थिए, एक अधबैँसे पुरूष । तर, हामी फेरि अर्को पटक आऊँला भन्यौँ र झोली–तुम्बो बोकेर हिड्यौँ । हामीले पछाडि फर्केर हेर्दा गाउँलेहरु सबैले हामीलाई एकोहोरो हेरिरहेका थिए ।
घुम्ने क्रममा गोर्खाका विभिन्न ठाउँहरु हामीले घुम्यौँ । तर, यतिबेला त्यतिबेलाको गोर्खा भ्रमणसँग जोडिएर दुःख लाग्ने खालका विभिन्न प्रश्नहरु मनमा सल्बलाइरहेका छन् । पाहुनालाई देवतासमान ठानेर दाल, भात, तरकारी, अचार र मही खान दिने त्यो परिवारलाई हामीले हाम्रो परिचय र ठेगाना किन दिएनौँ
होला ? उनीहरुको नाम र ठेगाना हामीले किन मागेनौँ होला ? बाबुको हात समातेर आउने ती बालिका कत्री भइन् होला ? चाहेर पनि अब हामीले त्यो परिवारको सहयोगको ऋण कसरी चुक्ता गर्ने होला ? ती महिला र पुरूष जीवितै त होलान् नि ! एक परिवारको पाहुनाप्रति दर्शाइएको व्यवहारबाट त्यतिबेलाको गोर्खाली सहयोगी भावना उजागर हुन्छ भने यतिबेला २०६६ को अन्तिममा पनि गोर्खाली समाज त्यस्तै सहयोगी होला वा यतिबेला परिवर्तन भएका
होलान् ? पाहुनालाई देवतैसमान मान्लान् वा शंका गर्लान् “सर” ? भन्ने शब्द र पढाउने पेसाप्रतिको गोर्खाली सम्मान पनि आज मेरो मस्तिष्कमा टाँसिएर रहेको छ । राजेन्द्रमणि काफ्लेले झूट बोलेर मेखबहादुर शिक्षक हो भन्नु गलत
थियो । तर, के पनि साँचो हो भने यदि उसले झूट नबोलेको भए शिक्षण पेसाप्रतिको सम्मानबारे जानकारी हासिल गर्न पाइने थिएन । नकारात्मक र झूट भए पनि मलाई यतिबेला राजेन्द्रको त्यतिबेलाको झूठ सकारात्मक लागेको छ । फेरि यो घटना सम्झँदा प्रश्न पनि तेस्र्याउन मन लाग्छ– के यतिबेला पनि त्यो गोर्खाली मनमा शिक्षक र शिक्षण पेसाप्रति उत्तिकै सम्मानभाव होला ? छात्रालाई बलात्कार गर्ने शिक्षक भेटियो । मादक पदार्थ र लागूपदार्थ सेवन गर्ने शिक्षक भेटियो । घूस, भ्रष्टाचारमा लिप्त शिक्षक भेटियो । २४ वर्षपछि पनि गोर्खाली जनसमुदायले अझै त्यति नै सम्मान गर्लान्, जति शिक्षकलाई पहिले गर्थे ? समग्रमा पटकपटक मैले मलाई सोध्ने गरेको छु । २४ वर्षपछिको गोर्खा कस्तो होला ? मैले २४ वर्षअघिको गोर्खा र त्यो भ्रमणलाई यसरी सम्झेको छु । राजेन्द्रमणि काफ्ले, मेखबहादुर पौडेल र भरतमणि पौडेल बाल्यकालका साथी मात्र होइनन् । भविष्यका मेरा मलामी पनि हुन् । तिनीहरुले त्यो भ्रमणलाई कसरी सम्झेका होलान् ? (मित्र भरतमणि पौडेलको उपचारका क्रममा हालसालै दुःखद निधन भयो ।)
Discussion about this post