-नारायण ढुङ्गाना
अघिल्लो दिनको साँझ मोबाइलमा फोनको घन्टी बज्यो । पत्रकार भाइ प्रकाश सिग्देलको आवाज २५ प्रतिशत मात्रै सुनियो, तैपनि ‘ठोरी’ शब्द घुइरो–घुइरो ।
एकछिन अड्किएर फेरि…भोलि जाने दाइ ? काटिएको आवाजलाई मनमनै संकेतका भरमा बुझ्ने कोसिस गरेँ । कति बजे ? ८ बजेतिर । टेलिफोनको नेटवर्कमा क्यान्सर लागेको थियो । संकेतकै भरमा कुरो बुझेँ ।
मलाई गाउँ अझ पहाड, कुनाकन्दरामा पुग्न रहर लाग्छ । ती ठाउँका सन्दर्भ सामग्री उनेर समाचार लेख्न औधी मन पर्छ । आवाजविहीनहरुको आवाज सार्वजनिक गर्नु कर्तव्य पनि हो । त्यसैले, सदरमुकामको धूलो, धूवाँ, दुर्गन्धदेखि टाढा जाने कुरामा मैले विमति जनाउनै सक्दिनँ । त्यसमाथि, यस पटकको यात्रा देशकै अस्मितासँग जोडिएको सीमाको स्थलगत अध्ययन तथा निरीक्षण थियो ।
भारतीयको ज्यादती र ठोरीका नेपालीले भारतीय एसएसबीलाई लखेटेको विषयको अध्ययन अझै मेरा लागि ऐतिहासिक हो । पहिले कालिका रेडियोमा छँदा बन्धन तोडेर हिँड्ने मलाई अहिले खुला धर्तीमा हिँड्न काँडाले कोरेन ।
शनिबार बिहान हतारहतार आफ्नो दैनिकी सक्दा ८ बजेछ । समाचारकै लागि केशवलाई फोन गर्दा उनले ठोरी जाने स्मरण गराए । हतारमा सिबिजेड बाइक हुइँक्याइ भरतपुरको हाकिमचोकसम्म ।
खाली पेटमा गाडीयात्रा असहज लाग्ने मलाई केशवजीको जेरीपुरीको स्वागतले पुरानो राजेश होटलबाटै मेरो मन प्रसन्न थियो । नेकपा–माओवादी पार्टी कार्यालयमा पार्किङ अभाव । कुचुक्क परेको अक्करमा बाइक कोचेर टाटासुमो जिपमा करिब ९ बजे ठोरीको यात्रा सुरू भयो । प्रकाश स्वायर (एक जना चालक र अर्का पत्रकार), केशव, क्षितिज, सरोज र म । गन्तव्य ठोरी ।
निर्वाचनका बेला चितवन क्षेत्र नं. २ बाट संविधानसभामा जितेका शेषनाथ अधिकारीलाई निर्वाचन अवधिभर घुमाउने अवसर पाएका चालक प्रकाशले अधिकारी पट्याइसकेका रहेछन् । सुशील कोइराला भेट्न जाँदा चप्पल गायब । अधिकारीलाई आफ्नै चप्पल दिएर ऋण लगाएका रहेछन् उनले ।
‘मेरो कुनै समस्या परे सीधै उनलाई गएर भेट्ने हिम्मत छ । धेरै गुन लगाएको छु उनलाई ।’ केशवले चालकको कुरामा सहमति जनाए । गाडी हुइँकिँदै र आपसमा गफिँदै हाम्रो यात्रा जारी रह्यो । जगतपुरमा वैद्य माओवादी ताम्सालिङ इन्चार्ज सूर्य सुवेदी पथिक, जिल्ला नेता गोर्खाली, विप्लव र महेश गाडीमा थपिए । चितवन निकुञ्जको गेटमा पैसा बुझाएर शान्तियात्रा सुरू भो, हर्न बजाउन पाइँदैन । गफले मानिसलाई भुल्याउने अनुभवी गोर्खालीले गाडीको यात्रा झनै रमाइलो बनाए । निकुञ्जभित्र बाटैभरि वन कुखुरा, जंगली जनावर, हात्ती, बाघ, गैँडा, भालु भेटेकाहरुले आ–आफ्नो अनुभव सुनाए ।
बाघले झन्डै मारेन, यहीँनेर हो– गोर्खालीले औँल्याउँदै देखाए । शिकार गर्नेले जंगली कुखुरा समाउने पासो पनि अनौठो । प्रेमी खोज्दै गरेको पोथी कुखुरालाई जंगलमा मात्तिएको भाले कुखुरानजिक छाड्ने, जब भाले चढ्छ च्याप्प समाउने । केही व्यक्तिहरुको धन्दा यस्तो हुँदोरहेछ निकुञ्जमा । निर्वाचनका बेला अमिक शेरचनको गाडीमा भएको आक्रमणपछि आफूलाई पक्रेको कुरा र भएको अनुभव गोर्खालीबाट सुनियो । कुरामा निकुञ्ज कटेको पत्तै भएन । बसन्तपुरनजिकै थारु खानाको स्वादिष्ट भोजन भो ।
सेतै कपाल फुलेका बूढालाई टोपी लगाएपछि चिन्नै गाह्रो । खानापछि केहीबेर आरामको मौकामा नेता तथा लेखक अनिल शर्मा विरहीसँग भलाकुसारी भो । को–को जाने ठोरी ? हामी सबै उपाध्यक्षज्यू पनि जाने । खोइ, हो र ? मेरो प्रश्न झर्न नभ्याउँदै विरहीले भने– ‘उ, क्या त कुर्सीमा ।’ अनि पुनः सुरू भयो यात्रा । माडीमा बगइसम्म पिच भएकाले सवारी आवागमनमा अप्ठेरो छैन ।
निकुञ्ज बगइ–पोस्टका एक जना सैनिक गाडी जाँचमा आइपुगे । तपाईंहरु कहाँ जान लागेको ? ठोरी, केशवले जवाफ दिए । सिपीसँगै हो ? हो । केको विषयमा हो ? सीमाकै विषयमा । ‘हामी पत्रकार हौँ’– केशवले हत्त न पत्त भनिहाले । पत्रकार भनेपछि गुम्सिएको पीडा उनले पोख्न भ्याए । ‘ए हजुर, जति नेता आए पनि केही हुने होइन । गाउँमा नेता पुग्छन्, माथि गएपछि बिर्सिहाल्छन् । ल हजुर, कामै यस्तै । सरी है, जानु्स् ।’ निकुञ्जको घना जंगल पसियो । अघि–पछि दुई साना गाडी, केही मोटरसाइकल । चराको चिरबिर आवाजको मजा लिँदै हुइँकियौँ ।
ठोरीको छोटी भन्सार वीरगन्जबाट ६८ किलोमिटर पश्चिममा पर्छ । चितवनको भरतपुरबाट करिब सय किलोमिटर टाढा छ । सीधै ठोरी–काठमाडौँ गाडी सञ्चालन भएपछि स्थानीयलाई जति राहत मिलेको छ, त्यति नै भारतीयको ज्यादतीले उनीहरुलाई निक्कै आहत छ ।
पुग्दा यस्तो लाग्दैथियो, ठोरी रोइरहेको छ । त्यहाँका माटाढुंगामा भारतीय बुटको छाप हराएको छैन । नेपाली आमा घरीघरी सुँक्कसुँक्क गरिरहेकी छिन् । बेलाबेलामा शिर उठाउन खोज्छिन्, तर अधकल्चो पारेकाले अंगहरुमा मलमपट्टी लगाउने कोही छैन । नेपाली आमाको आँसु पुछ्ने स्थानीयको संघर्ष रोकिएको छैन । नयाँ मान्छे आउँदा झुम्मिने बानी ठोरी छोटी भन्सारका स्थानीयलाई परेछ । त्यसो नगरे भारतीय एसएसबीले दबाउलान् भन्ने पीर । हाम्रो टोलीलाई स्थानीय रामाश्री रामके, मीना गिरी, गीता विष्ट, किरण थापालगायतले स्वागत गर्न नपाएकोमा दुःख मनाउ पनि गरे ।
ठोरीका सन्ततिहरुले माघ दोस्रो साता आमाको शिर अलि ठाडो पारिदिएका छन् । हामी छौँ, साहस बटुल– उनीहरुको भारतीय एसएसबीसँगको त्यो लडाइँले भनिरहेको छ ।
ठोरी सुन्नेका लागि ठूलै बजारझैँ लाग्छ, तर केही सरकारी भवनबाहेक झुप्रे बजार । कुनै बेला नेपाल देश (काठमाडौँ)मा नुन लैजाने ठूलो बजार हो ठोरी । जंगलैजंगलको बाटो भरियामार्फत नुन नेपाल देश लैजाँदा धादिङडाँडा काट्न कस्ता–कस्ता जवानलाई नि हम्मे परेको बूढापाकाहरुको अनुभव ताजै छ । पारिपट्टि नेपाली भूमि भनिए पनि भारतीयको लामो समयको दबदबा । नेपालकै पहिलो कंक्रिट भवन भनिएको दरबार भारतीयको कब्जामा छ ।
ठोरीको पश्चिम चुरे पर्वत र चितवन निकुञ्ज बीचबाट चिता खोला बग्छ । पश्चिम सीता गुफानजिकको अन्तिममा ३५ नम्बरको सहायक पिल्लर छ । अर्काे भागमा ४३४÷६ नम्बरको पिल्लर छ । यही दुई पिल्लर बीचको करिब ३ किमी विवादित क्षेत्र हो । ठोरीको पूर्व निर्मलबस्ती, पश्चिम चितवन निकुञ्ज, ठोरी डाँडाको तलबाट दक्षिण ठुटे खोला बग्छ । सीता गुफा र दक्षिण परेवाडाँडालाई (उज्याला पहाड पनि भनिन्छ) भारतीयले आफ्नो दाबी छाडेको छैन ।
अझै, सीता गुफा क्षेत्रमा पनि अतिक्रमण गरिरहेको स्थानीय बताउँछन् । भारतको भिखना ठोरी र पर्सा ठोरीको बीच दसगजा क्षेत्रमा आएर चिता र ठुटेखोला मिसिन्छ । भारतमा पुगेपछि यी दुई खोलाको संयुक्त रुपलाई पण्डई नदी भन्ने गरिएको छ । त्यहाँको ८४ नम्बरको पिल्लर खोलाले बगाएको छ ।
एकातर्फ जंगली जनावरको त्रास, आजै हो कि भोलि जीवन जाने, लगाएको बाली भन्न पाएका छैनन् भने अर्कातर्फ भारतीयको ज्यादती । नेपालका नेताहरु कुर्सीको मोहमा लुटपुटिएका छन् । ती पीडित नेपालीलाई भेट्नसम्म पुगे पनि साहस आउने छ उनीहरुलाई । माओवादी उपाध्यक्ष सिपी गजुरेल भेट्दा नेपाल सरकारकै प्रतिनिधि आएको जस्तो उनीहरुलाई परेको छ ।
अहिलेसम्म यति ठूला नेता ठोरी नआएको स्थानीय गीताले भन्नसम्म भ्याइन् । जनता रिझाउन खप्पिस गजुरेल पनि उनीहरुको भावनामा बग्न भ्याएका थिए । सान्त्वना दिन पनि भ्याए । तर, विगतमा सीमालाई आफ्नो स्वार्थमा पारेका उनले भसक्कै बिर्सिएको हुनुपर्छ । सत्तामा उनी पनि गएकै हुन् । त्यही दाउपेच त छैन उनको ?
दुई खोली दोभानको बीचमा बजार । खोला तरेर परेवाडाँडा, निर्मलबस्ती हुँदै वीरगन्ज जाने बाटो छ । नजिकै १३४ नम्बरको जंगे पिल्लर । जति खोला नेपालतिर काटेर बग्दै छ, त्यति वरको जमिन भारतले आफ्नो बनाउने दाउ छाडेको छैन ।
त्यही विवाद झिकेर नेपालको खोलामा पुल बनाउन दिएको छैन, न त निर्मलबस्तीबाट विद्युत् ल्याउन दिएकै छ । सँगैको निर्मलबस्तीका बासिन्दा झिलिमिलीमा रमाउँछन् भने ठोरीका बासिन्दालाई टुकीको भर छ ।
बीचमा बग्ने खोलो वर्षाको महाभेल हिउँदको भिखारी । खोलाको बीचमा सीमाना छुट्याउने पिल्लर धेरै समय टिक्न सकेन, अनुभव सुनाउँछिन् गीता विष्ट । आफूले जान्दासमेत पिल्लर भएको दाबी गर्छन् उनीजस्ता थुप्रै नेपाली ।
भनिन्छ, महिलालाई आरक्षणको खाँचो छ । ठोरीका महिला अपवादका छन् । सीमा बचाउन आरक्षण होइन, अब देश उनीहरुकै पछि लाग्नुपर्ने देखिन्छ । भारतीय एसएसबीलाई ढिम्किन नदिएको २० दिन भयो ठोरीमा । अहिले पारिपट्टिको सीधा देखिने क्याम्पबाट उनीहरु चियाउँछन् मात्रै । तर, ती आँटिला महिलाहरुलाई साथ दिने न त सरकार भए, न त राजनीतिक दल । नेतालाई धिक्कार्ने महिलाका पछाडि प्रहरी र पुरूष पनि छन् । मीना गिरीले कसैको साथ नपाए पनि हिम्मत हारेकी छैनन् ।
माघ १७ गते सीमानाभन्दा करिब ३ सय मिटरभित्र ठोरी बजारमा माइती नेपालको भवन बन्दै थियो । स्थानीयले दुःखसुखमा बिट निर्माण गरेर चेलीबेटी बेचबिखन रोक्ने प्रयास थालेका थिए । त्यसको पहिलो सूत्र भवन । इँटा थपिँदै थियो । एसएसबी फोर्सका केहीले भारतीय भूमि भन्दै भवन नबनाउन धम्क्याएर गए । यसलाई स्थानीयले सामान्य नै लिए । सबै नजुटेकाले लखेट्ने हिम्मतै गरेनन् ।
१८ गते फेरि अर्काे टोली आयो, दलबलसहित । उनीहरुलाई स्थानीयले लखेटेर खोलाकिनार पु¥याए । दिनभर खोलाकिनारमा बसेका भारतीय फोर्स राति क्याम्प फर्कियो ।
१९ गते पनि अझ ठूलो संख्यामा आए । ठोरीका स्थानीय अझै महिलामा आक्रोश छायो । गाउँलेले महिलालाई साथ दिन एकजुट भए । प्रहरी र सशस्त्रले पनि साथ दियो । उनीहरुलाई घोक्राउने अग्रपंक्तिमा परे गीता विष्ट, किरण थापा, मीना गिरीलगायत । लाठो र ढुंगा बोकेर बन्दुक बोकेका भारतीय सशस्त्रलाई लखेट्दै घोक्र्याएर खोला कटाए ।
हो, देशभक्ति यहीँनेर देखिन्छ । म हैन हामी भनेर दुश्मनमाथि जाइलाग्ने नेपाली हृदय कति बलियो छ । यो अनुभव सुनाउँदा पनि मीना हौसिन्छिन् । वीर गोर्खाली भनेर इतिहास पढेका हामीहरुका लागि यी महिला वीर नेपाली हुन् ।
खोलामा सीमाना हुँदाहुँदै सयौँ मिटरभित्र आफ्नो भूमि भनेर नेपालीलाई धम्क्याउने भारतीयको पहिलेदेखिकै बानी हो ।
नेपालका दर्जनौँ स्थानमा सीमा मिच्ने उनीहरुमाथि ठोरीमा मात्रै नेपाली हाबी छ । त्यसैको परिणाम इतिहास हुन सक्छ, भारतीयलाई भगाएको घटना । वर्षौंंदेखि प्रयोग भएको बसपार्कभित्र बन्दै गरेको भवनमा हस्तक्षेप भएको देख्दा मन च्वास्स बिझ्छ । सँगै बनेको एउटा दोकानको बारेमा आवाज नउठाउने एसएसबी फोर्स दोकानसँगै बनेको माइती नेपाल र प्रहरीको संयुक्त बिटलाई औँला उठाउनु नियतमै खोट देखिन्छ । सीमाछेउ बसेका स्थानीयको ठम्याइ त्यही हो ।
ठोरीबासी भन्न थालेका छन्, अब जनता मात्र कति लड्ने ? हिम्मत छ भने नेता हो, तिमी पनि लड्न आऊ । तर उनीहरु नेपाल सरकारले वास्ता नगरे नगरोस्, कुनै हालतमा सीमा नाघ्न दिने पक्षमा छैनन् । साहसिला ठोरीबासीको राष्ट्रियताप्रतिको भावनालाई सलाम !
(लेखक पत्रकार महासंघका केन्द्रीय पार्षद् हुन् ।)
Discussion about this post