-सुन्दर तिवारी
विश्वमा भएको विषादीको अत्यधिक प्रयोगले नेपाल पनि अछूतो रहन सकेन । खासगरी, भारतमा भएको हरित क्रान्तिले नेपाली कृषिमा पनि ठूलो प्रभाव पारेको देखिन्छ । भारतको अर्बौ जनतालाई भोकमरीबाट बचाउनका लागि हरित क्रान्ति सत्य सावित भए पनि हरित क्रान्तिपश्चात् भारतमा अपनाइएको आधुनिक खेती प्रणालीले विषादीलाई अत्यधिक प्रोत्साहन दिएको पाइन्छ । त्यसैको असरका कारणले आज करोडौँ भारतीय जनता एवं दक्षिण एसियाली जनताहरु हरित क्रान्तिको दुर्गामी असरको चपेटामा फसेको पाइन्छ ।
नेपालमा खासगरी विदेशबाट १९५० देखि १९७० सम्मको दशकमा सयौँ विषादीहरु भित्रिएको तथ्य भेटिन्छ । सामान्यतया हेर्ने हो भने १९५० को दशकमा अर्गानोक्लोरिन र अर्गानो फोस्फेटले डेरा जमाएको थियो भने १९६० पश्चात् सेन्थेटिक पाइरिथ्रोइट्स प्रकारका विषादीले डेरा जमाएको थियो । विश्वको मानचित्रमा हेर्ने हो भने अत्याधिक खतरनाक विषादीहरु १९६० भन्दा पहिले नै खपत भई अत्यधिक प्रयोग भएको तथ्य भेटिन्छ ।
अमेरिकामा जन्मिएकी स्त्री स्व. रोचेल काल्र्सनले १९६२ मा लेखिएको ‘शान्त वसन्त’ नामक किताबमा विषादीले वातावरण एवं मानव स्वास्थ्यमा पार्न सक्ने अवस्थाका वारेमा उजागर गरेका कारण विश्वको ध्यानाकर्षण विषादी न्यूनीकरण गर्नतर्फ लागेको पाइन्छ, सन् १९३९ मा कीटनासक शक्ति रहेको भनी प्रमाणित भएको डी.डी.टी. पत्ता लगाएबापत र यसको प्रयोग लामखुट्टे नियन्त्रण गर्न प्रयोग भएको र हजारौँ जनताको जीवन मलेरियाबाट बचेको भनी प्रमाणित भएकाले यसलाई कीरा मार्ने प्रमुख विषादीका रुपमा मानियो । यसै कारण डी.डी.टी. पत्ता लगाउने ‘प्वावल मुलर’लाई सबैभन्दा सर्वमान्य पुरस्कार नोबेल प्राइजबाट सम्मानित गरिएको थियो ।
यसरी मानव स्वास्थ्य एवं खेतीबालीमा अत्यधिक प्रयोग भएको विषादी सन् १९५० र १९६० मा संसारैभरि खपत र प्रयोग भयो । त्यस समयमा संसारैभरि अधिपत्य जमाएको विषादी डी.डी.टी.को प्रयोग सन् १९६२ बाट कम हुन थाल्यो । सन १९६२ पश्चात् डी.डी.टी.को नकारात्मक असरहरुका बारेमा संसारैभरि हजारौँ अनुसन्धानहरु हुन थाल्यो । खासगरी, डी.डी.टी. ले मानव स्वास्थ्य र वातावरणमा दुर्गामी एवं नकारात्मक असरहरु छन् भनी धेरै अध्ययन, अनुसन्धानले प्रमाणित गरिसकेको छ ।
डी.डी.टी. मात्रै हैन, हजारौँ विषादीहरुले मानव स्वास्थ्य एवं वातावरणमा असर पारेका तथ्यहरु सावित भइसकेका छन्, खासगरी क्लोरिन त¤व मिसाएका विषादीहरु अवशेषका रुपमा लामो समयसम्म विभिन्न खाद्य श्रृङ्खला पार गरी रहिरहने भएकाले अन्य विषादीको तुलनामा यो बढी हानिकारक छ भन्ने गरिन्छ । अनुसन्धानले भनेअनुसार यदि मानव शरीरमा २३६ मि. ग्राम डी.डी.टी. विषादी थुप्रियो भने मानिस एक देखि दुई महिनामा नै मर्न सक्छन् भनिएको छ । हामीले खेतबारीमा छरिएको क्लोरिनयुक्त विषादी केही हावामा उडेर जाने, केही माटोमा जाने र केही बिरूवामा पर्ने गर्दछन् । अन्तत्वगत्वा ती विषादीहरु घुमीफिरी पुनः मानव शरीरमा जम्मा हुने भएकाले र मानव स्वास्थ्य एवं वातावरणमा ठूलो दुर्गामी असर पार्ने भएकाले नेपाललगायत संसारैभरिबाट यस्ता विषादीलाई प्रयोगमा बन्देज लगाइएको छ ।
त्यसैगरी, फस्फोरयुक्त, दोस्रो दर्जाका विषादीहरुको पनि खाद्य श्रृङ्खलाहरुमा घुमिरहने र लामो समयसम्म अवशेषका रुपमा रहने भएकाले यसलाई पनि बन्देज लगाउनुपर्दछ भन्ने आवाजहरु सुन्न पाइन्छ । किसानहरुले सामान्यतया विभिन्न प्रकारका विषादीहरु मिसाएर र एकल रुपमा पनि छर्ने गरेको पाइएको छ । यी विषादीको पनि कुनै निश्चित मात्रासम्म खाँदा मानव स्वास्थ्यमा असर गर्दैन भन्ने कुरा पनि अध्ययन र अनुसन्धान गरिएको छ । तर, हामीकहाँ यससम्बन्धी विस्तृत जानकारी छैन र धेरै जना किसानहरु यसतर्फ अनभिज्ञ छन् ।
यसो हेर्ने हो भने विषादीले मानव स्वास्थ्यमा र वातावरणमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा असर पारेको पाइन्छ । खासगरी, विषादीको प्रभाव बच्चाबच्ची, गर्भवती एवं बूढाबूढीमा बढी देखिन्छ । बच्चाबच्चीहरु स्वभावैले बढी लडीबुडी गरी खेल्ने भएकाले जमिनसँगको सम्पर्क बढी हुन गई विषादी शरीरभित्र पस्ने बढी सम्भावना हुन्छ । अर्कोतर्फ, बच्चाबच्चीले हावाबाट आफ्नो शरीरको तुलनामा बढी श्वासप्रश्वास गर्दछन्, तसर्थ विषाक्त हावाहरु सजिलै शरीरभित्र प्रवेश गर्दछन्, त्यसैगरी विषादी यदि गर्भवती महिलामा प्रवेश ग¥यो भने उक्त विषादीले जन्मँदै गरेको बच्चाको स्वास्थ्यमा असर गर्दछ । त्यसका अलावा वृद्धवृद्धाहरुको शारीरिक शक्ति पनि कम हुने भएकाले थोरै विषादीको मात्राले पनि असर गर्दछ ।
खासगरी, विषादीले प्रत्यक्ष रुपमा टाउको दुख्ने, भोमिट हुने, आँखा चिलाउने, शरीरबाट पसिना आउने, मांसपेशीहरु बटारिने र थोरै बढी विषादी शरीरभित्र पस्यो भने मान्छेको मृत्यसम्मको घटना हुने गर्दछ । हामी सबैले सुन्ने गरेको होऊँला, भारतको भूपाल राज्यमा विषादी भण्डारण गरिएको भण्डारणबाट चुहिएर हजारौँ मान्छेहरु मरेको घटना ताजै छ । यसका साथसाथै नेपालमा नै ठूलो मात्रामा भण्डारण गरिएको विषादीले पनि केही समस्या ल्याइरहेको हामी अखबारहरुमा पढ्न सक्दछौँ । त्यसैगरी, हामीकहाँ प्रत्येक वर्ष विषादीको कारणले हजारौँ मान्छेले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ज्यान गुमाइरहेका छन् भन्ने घटनाहरु विषादीका मानव स्वास्थ्यमा हुने प्रत्यक्ष असरहरु हुन् ।
त्यसैगरी, विषादीले अप्रत्यक्ष रुपमा गर्भवती महिलाबाट जन्मने बच्चा लुलो, लङ्गडो एवं सुस्त मनःस्थितिको हुने, मान्छेमा रक्त क्यान्सर हुने र अन्त्यमा यस्तै क्यान्सरजस्ता भयावह समस्या ल्याउने विषादीका दीर्घकालीन असरहरु हुन् । त्यसैगरी, विषादीले वातावरणमा पनि थुप्रै नकारात्मक असरहरु पर्ने गर्दछन् भन्ने गरिन्छ । सर्वप्रथम विषादी पानीमा मिसियो भने पानीमा रहेको अक्सिजनलाई घटाइदिन्छ र पानीमा हुने जीवजन्तुहरु जसले पानीमा रहेर अक्सिजन लिई बाँच्ने गर्दछ, तिनीहरुलाई प्रत्यक्ष असर गर्दछ । यसको ज्वलन्त उदाहरण हामी आज पानीमा भएका जीवहरु जस्तो माछा, भ्याकुता एवं अन्य जीवहरु लोप हुँदै गएको अवस्थामा देख्छौँ ।
त्यसैगरी, विषादीका कारणले प्रकृतिमा भएका मित्रजीवहरु जस्तै माकुरा, आँखाफोरूवा, गाइनेकीरा, स्त्रीजन्य खपटे, मौरीजन्य जीवहरु लोप हुँदै गइरहेका उदाहरणहरु देख्न सक्दछौँ । विषादीले परागसेची जीवहरुलाई समेत लोप गरेकाले अन्य बालीमा परागसेचन राम्रोसँग नभई उत्पादन घट्दै गइरहेको भेट्न पाउँछौँ । कतिपय अवस्थामा खाद्य श्रृंखलाका एक कुनै जीवलाई नष्ट गरिदिँदा उचित सन्तुलन नभएका कारणबाट कहिले कुनै कीराको समस्या त कहिले कुनै रोगको समस्या वर्षैपिच्छे बढ्दै गइरहेको देख्न तथा सुन्न पाउँछौँ ।
साँच्चै भन्ने हो भने विषादीले थुप्रै मित्रजीवहरु, खोलानालामा पाइने माछाहरु, सर्पहरु, भ्याकुताहरु जसले प्रकृतिमा जैविक विविधता संरक्षण गर्न ठूलो मद्दत गर्दछन्, ती जीवहरुलाई नष्ट पारेको पाइन्छ । माटोमा हुने सूक्ष्म जीवहरु विषादीको सिकार हुन गई ती सूक्ष्म जीवहरु लोप हुँदै गइरहेका छन् र हाम्रो माटोको भौतिक एवं रासायनिक गुणहरु नष्ट हुँदैछ । तसर्थ, विषादीको असरलाई न्यूनीकरण गर्नका लागि हामीले आइ.पी.एम. पद्धति अपनाई खेतीबाली प्रणाली सुरू गर्न र प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्नु आजको टड्कारो आवश्यकता हो ।
(कृषिविज्ञ)
Discussion about this post