अव्यवस्थित ट्राफिकका कारण बजार क्षेत्रको सुन्दरता कुरुप बनिरहेको छ । यातायातका साधनहरुको वृद्धिसँगै पार्किङका कारण अहिले बजार व्यवस्थापनमा चुनौती बढेको छ । साँघुरो सडक र अनियन्त्रित भीडभाडले गर्दा दिनहुँजसो दुर्घटना भइरहेका छन् । अव्यवस्थित पार्किङका कारणले सम्भावित दुर्घटनाको जोखिम विद्यमान नै छ । सर्वसाधारणलाई हिँडडुल गर्न, ट्राफिक व्यवस्थापन गर्न र व्यवसायीहरुलाई व्यापार गर्नसमेत समस्या उत्पन्न भइरहेको छ । चितवनमा बैंक तथा वित्तीय संस्थाहरुको आफ्नै पार्किङ क्षेत्र नहुँदा यातायात आवागमनमा असर पुगेको छ । अव्यवस्थित रुपमा दिनभर सार्वजनिक स्थानमा सवारीसाधन पार्किङ हुन थालेपछि यसको व्यवस्थापनमा ट्राफिक प्रहरी कार्यालयले समाधानको उपाय अवलम्बन गर्न थालेको छ । सो कार्यालयले सार्वजनिक सडक सीमाभित्र पार्किङ गर्ने निजी सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने प्रयास गरेको छ ।
अभियानका लागि ट्राफिक कार्यालयले भरतपुर र नारायणगढ क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो निजी पार्किङस्थल निर्धारण गर्न निर्देशनसहित पत्र पठाएको छ । सार्वजनिक भाडाका यात्रुवाहक गाडीलाई तोकिएको स्थानमा यात्रु चढाउने र ओराल्नेबाहेक अनावश्यक पार्किङ गर्ने अनुमति छैन । अब भाडाका मालवाहक गाडीहरु सार्वजनिक स्थानमा पार्किङ गर्न निषेध गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरुले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ बमोजिम कारबाहीको भागिदार बन्नेछन् । यसअघि पनि ट्राफिक कार्यालयले सार्वजनिक सडकमा पार्किङ गर्नेविरूद्ध सवारी नियम उल्लंघन पुर्जी अभियान चलाएको थियो । तर, यसबाट पनि ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सकेको थिएन । नयाँ अभियानअन्तर्गत पहिलो कारबाही बैंक तथा वित्तीय संस्थाहरुका अव्यवस्थित पार्किङबाट सुरू भएको छ । यसको प्रभावकारी कार्यान्वयन भए बजार व्यवस्थापनमा पनि सुधार आउने विश्वास लिइएको छ ।
चितवनमा अझै पनि ट्राफिक नियमको पूर्ण रुपमा पालना भएको छैन । ट्राफिक प्रहरीको सवारी नियम उल्लंघन पुर्जी अभियानले केही हदसम्म ट्राफिक नियम पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याएको पाइएको छ । अहिले साना तथा ठूला सवारीसाधन चलाउनेहरु ट्राफिकको कारबाहीबारे सचेत हुन थालेका छन् । यसबाट दुर्घटनाको जोखिम पनि घटेको महसुस गरिएको छ । मापसेलगायत तीव्र गतिमा सवारीसाधन चलाउनेहरु सजग हुनु सकारात्मक पक्ष हो । बैंक तथा वित्तीय संस्थाहरु जस्तै विभिन्न संस्थालाई पनि पार्किङबारे सजग बनाउन सके बजार व्यवस्थापनका लागि सहयोग पुग्ने देखिएको छ । सुन्दर सहरका लागि हरेक व्यक्तिको उत्तिकै दायि¤व हुनुपर्छ । सडकछेउमा देखिएको अव्यवस्थित पार्किङ हटाउन सके यो अभियान सार्थक हुने देखिएको छ ।
Discussion about this post