देवघाट । पवित्र धार्मिकस्थल देवघाटधाममा रहेको त्रिशुली र कालिगण्डकीको संगमस्थल फोहोरले दुर्गन्धित भएपछि बुधबार सरसफाइ अभियान चलाइयो । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको सक्रियतामा भएको सरसफाइ कार्यक्रममा विभिन्न १८ संघ संस्थाले पनि सहभागिता जनाएका थिए ।
‘शिवरात्रीको सन्दर्भ परेको छ । धार्मिक क्षेत्रहरु दुर्गन्धबाट मुक्त राख्न आवश्यक पनि छ । सरसफाइप्रति जागरण पनि ल्याउने उद्देश्यले कार्यक्रम राखेको हो’ प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने । सरसफाइ अभियानमा चितवनका स्थानीय विकास अधिकारी तिलक पौडेल, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीलगायतका अधिकारीहरु पनि सामेल थिए ।
त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटा, रेडक्रस चितवनका सभापति हरिप्रसाद न्यौपानेलगायत पनि सहभागी थिए । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी पनि अभियानमा संलग्न थिए ।
देवघाटधाम नेपालको प्रमुख तीर्थस्थल हो । ‘यस्तो तीर्थस्थल सफा नभए दर्शनार्थीहरुमा कस्तो सन्देश जाला ? त्यसैले सवै मिलेर सरसफाइमा जुटेको हो’ देवघाट सप्तगण्डकी विकास तथा वातावरण संरक्षण समितिका टंकनाथ पौडेलले भने ।
मध्यक्षेत्र प्रहरी तालिम केन्द्रका तालिमे, नेपाली सेना, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र गढीमाइ गण भण्डाराका सशस्त्र प्रहरीहरुको टोली नै सरसफाइमा जुटेको थियो । दाहसंस्कारस्थल र स्नानस्थल वेणी संगममा सरसफाइ भएको थियो ।
‘एक दिनको सरसफाइले पनि सन्देश प्रवाह गर्न सक्छ । तर हामी एक दिनका लागि मात्रै जुटेका होइनौँ । यो क्षेत्रमा केही गर्नलाई हामी संयुक्त रुपमा लाग्न सक्छौँ भन्ने उदाहरण हो यो’ भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले भने ।
देवघाट क्षेत्रमा फोहोर व्यवस्थापनका लागि कुनै प्रबन्ध छैन । खुला रुपमा दिसा पिसाव गर्ने प्रचलन पनि हट्न सेकेको छैन । स्थानीयले पर्याप्त सार्वजनिक शौचालय निर्माणको माग गरेका छन् । मान्छेको भीड हुने समयमा अस्थायी शौचालय राख्न पनि अनुरोध गरे ।
प्रयोग गरेका सामानहरु त्यसै मिल्काउने प्रचलनले पनि देवघाटमा फोहोर हुने गरेको छ । सिसा, प्लाष्टिक र अन्य कुहिने नकुहिने फोहोर जताततै देखिन्छ । ‘फोहोर नहोस् भनेर दर्शनार्थीहरुमा चेतना फैलाउन आवश्यक छ’ प्रजिअ शर्माले भने ।
Discussion about this post