तत्काल एक्सनमा जान्छुः एसपी कार्की
-दिपेन्द्र अधिकारी
भरतपुर । काठमाडौँ हनुमान ढोकामा हालका एसएसपी रमेश खरेल एसपी रहँदा चितवन प्रहरी प्रमुख ९एसपी० प्रद्युम्न कार्की त्यहीँ डीएसपी थिए । प्रहरी प्रशासनमा कुशल व्यक्तिका रुपमा चिनिने एसएसपी रमेश खरेलसँगको झण्डै ९ महिनाको सहकार्य पछि दुवैको बढुवा भयो ।
बुधबार प्रहरी कार्यालयमै बोलाएर एसपी कार्कीले चितवनका नागरिक अगुवाहरुसँगै छलफल गरे । त्यस क्रममा उनले भने, ‘शान्ति बिथोल्ने किसिमका कुनै काम तपाइँका गाउँटोलमा भए, मलाई सीधै सम्पर्क गर्नूस्, म स्रोत गोप्य राखेर तत्कालै एक्सनमा जान्छु ।’
गत साउन महिनामा चितवन आएका एसपी कार्कीले त्यसअघिका एसपी दीपककुमार थापाको कार्यशैलीको अनुसरण गरे र थप नयाँ काम पनि गरे । उनको उपस्थितिले जिल्लावासीमा निकै खुसी छाएको थियो । किनकी दीपक थापाले तह लगाएको यहाँको गुण्डागर्दी फेरि मौलाउने हो कि भन्ने डर कायमै थियो ।
हामी तपाईंको कार्यशैलीप्रति निकै सन्तुष्ट छौँ, सामुदायिक सेवा केन्द्र भरतपुरका अध्यक्ष केदार खनालले भने, ‘चितवनमा अपराध न्यूनीकरणका लागि अझै केही वर्ष तपाईंजस्तै कुशल प्रहरी कर्मचारीको आवश्यकता पर्छ ।’
लागूऔषधका घटनाले समाजमा विकृति फैलाएको भन्दै अध्यक्ष खनालले यसतर्फ चनाखो रहन एसपी कार्कीलाई आग्रह गरे । जवाफमा एसपी कार्कीले आफ्नो कार्यकालमा लागूऔषध धेरै परिमाणमा बरामद गरिएको र यसको बेचबिखन, संकलन, सेवनलगायतका काममा संलग्नलाई पक्राउ गरी कारबाही गरिएको बताए ।
यस आर्थिक वर्षको सात महिनाकै अवधिमा ३० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको र जसमा तीन सैनिकसहित एक प्रहरी पनि परेको कार्कीको भनाइ थियो । ‘लागूऔषधजस्ता मुद्दाहरु बढ्नु भनेको प्रहरी सक्रिय हुनु भन्ने बुझिन्छ, थप स्पष्ट पार्दै एसपी कार्कीले भने, ‘समाजमा लुकेर रहेका यस्ता गैरकानुनी धन्दाको पर्दाफास गर्नु जरूरी छ ।’
छलफलमा सहभागी उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष चिरञ्जीवी सुवेदीले अन्य क्षेत्रमा गुण्डागर्दी कम भएपनि सरकारी कार्यालयमा हुने टेण्डर प्रक्रियामा भने अझै गुण्डागर्दी रहेको बताए । जवाफमा एसपी कार्कीले टेण्डर प्रक्रियामा हुने गुण्डागर्दी नियन्त्रण गर्न आफू लागिपरेको बताए ।
केही दिनअघि वन कार्यालयमा भएको टेण्डर प्रक्रियामा अवरोध पु¥याउन खोज्ने दुई युवालाई मुद्दा चलाइएको उनले बताए । सरकारी कार्यालयले खोल्ने टेण्डर प्रक्रियाबारे आफूहरुलाई अग्रिम जानकारी दिएमा शान्तपूर्वक त्यस्ता काममा सहभागी हुन प्रहरीले सुरक्षा प्रत्याभूत गर्न कुनै कसर बाँकी नराख्ने कार्कीको प्रतिबद्धता थियो ।
त्यस्तै, होटल व्यवसायी महासंघका उपाध्यक्ष श्रीराम गिरी र चितवन अध्यक्ष इमान्दु बरालले प्रहरीले राम्रो काम गर्दागर्दै पनि बेलाबखतमा लजमा छापा मार्ने नाममा अनावश्यक दुःख दिने गरेको गुनासो व्यक्त गरेका थिए । ‘होटलभित्र बसिरहेको अवस्थमा गएर मापसे चेक जाँच गर्नु कत्तिको उपयुक्त हुन्छ रु अध्यक्ष बरालले भने, ‘अपराध न्यूनीकरण गर्ने नाममा हामी होटल व्यवसायीलाई दुःख नदियोस् ।’ त्यसो त बरालले होटल तथा लजमा हुने विकृति र अनियमितता हटाउन आफूहरु पनि उत्तिकै सक्रिय र सजग रहेको बताए ।
एसपी कार्कीले आचारसंहितामा रहेर काम गरिने र कहिँकतै होटल व्यवसायीमाथि प्रहरीबाटै अन्याय भएको पाइएमा त्यस्ता प्रहरीलाई नछोडिने पनि बताए ।
नेपाल बार एसोसियसन चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले प्रहरीले असली प्रमाण संकलन नगरी दोषी ठहर गर्न प्रमाणहरुको सृजना गर्ने गरेको आरोप लगाए । भएका प्रमाणका आधारमा काम गर्नेभन्दा पनि प्रमाण खोज्ने नाममा सृजित प्रमाणहरु अदालतमा पेश हुने गरेको अध्यक्ष श्रेष्ठको आरोप थियो ।
एसपी कार्कीले कोही कसैले सानो गल्ती गरेमा पनि सार्वजनिक अपराध चलाउने गरेको र त्यसमा कसैको दबाब वा भनाइ सुन्ने नगरेको बताए । संचारमाध्यमले अपराध न्यूनीकरणका लागि सहयोग गरेपनि कतिपय अवस्थामा भने नागरिक समाज चुप बसिँदिँदा आफूहरु अचम्मित बन्ने गरेको एसपी कार्कीको गुनासो थियो ।
आफू चितवन आएको केही समयमै राजनीतिक आडमा आपराधिक घटना भएको र त्यसमा प्रहरीले दबाबविना नै काम गरेपनि प्रहरीलाई सहयोग गर्ने हिसावले नागरिक अघि नबढेको उनको दुखेसो थियो । ‘अपराध कम गर्न प्रहरी र नागरिक समाज सहकार्य गर्नुको विकल्प नभएको भन्दै उनले भने, ‘नागरिक समाज आवश्यक पर्दा अघि बढ्नु प¥यो, प्रहरीलाई सहयोग गर्नुप¥यो ।’
छलफलमा उपस्थित नागरिक समाजका संयोजक केदार मल्लले अपराध कम गर्न प्रहरी सफल भएको बताए । त्यस्तै कार्यक्रममा सहभागीहरुले नारायणगढ बजारको ट्राफिकजाम र पार्किङ व्यवस्थापन गर्नु आवश्यक रहेको बताए । पार्किङ समस्या समाधानका लागि आफूले बैंक तथा फाइनान्सलाई सूचना पनि दिइसकेको एसपी कार्कीले बताए ।
३० प्रहरीलाई कारबाही
प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले आफ्नो समयमा ३० प्रहरीलाई विभिन्न कारबाही गरिएको जनाएका छन् । पेसागत आचरणविपरीत जाने दुई जनालाई जागिरबाटै हटाइएको, ६ जना निलम्बन परेको र बाँकीको पदोन्नति रोक्का गरिएको छ ।
चितवनमा ७ सय प्रहरी दरबन्दी रहेपनि ६०५ जनामात्र कार्यरत रहेको चितवन प्रहरीले जनाएको छ ।
Discussion about this post