मानव बेचबिखन रोक्न सामूहिक प्रयास आवश्यक

अन‌ि यो पनि

भरतपुर । मानव बेचबिखन तथा ओसारपसार रोक्न सामूहिक प्रयास आवश्यक रहेको छ । नेपालको सन्दर्भमा पुरूषभन्दा महिला र बालबालिकाहरु बढी बेचबिखनमा पर्ने गरेका छन् । सरकारले मात्र मानव बेचबिखन रोक्न नसक्ने सरोकारवालाहरुको भनाइ छ ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावलले मानव बेचबिखन रोक्न सहकार्य र साझेदारीको भावनालाई बढाउनुपर्ने बताइन् । मानव बेचबिखन तथा ओसारपसारविरूद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सरोकारवाला निकाय एवम् संघसंस्थाबीच अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै रावलले हिंसामुक्त समाज निर्माणका लागि सबैको दायित्व रहेको बताइन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही वर्षभित्रै भरतपुरलाई मानव बेचबिखनरहित महानगर बनाउने प्रतिबद्धता व्यक्त गरिन् । आगामी आवमा नै भरतपुर महानगरभित्र हुने मानव बेचबिखन र ओसारपसारको गतिविधिमा कमी ल्याउने उनको भनाइ छ ।

बेचबिखन रोक्नका लागि प्रहरीले ल्याउने जुनकुनै अभियानमा महानगरले सक्रिय सहभागिता जनाउने उनले बताइन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले मानव बेचबिखनसम्बन्धी समुदायस्तरमा सचेतना पु¥याउन आवश्यक रहेको बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत मानव बेचबिखनविरूद्धका कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ । पीडितहरुको दक्षताको आधारमा उनीहरुलाई रोजगारी दिनेबारे पनि राज्यले सोच्नुपर्ने उनले बताए ।

महिला अधिकारकर्मी मनकुमारी सेनले म्यानपावर कम्पनीहरुले जिल्लाबाट कति युवाहरु विदेश पठाए भन्ने तथ्याङ्क स्थानीय प्रशासनले राख्नुपर्ने बताइन् । अर्की महिला अधिकारकर्मी दुर्गालक्ष्मी श्रेष्ठले महिला बेचबिखन रोक्नका लागि महिला सञ्जालको कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले वैदेशिक रोजगारी र बसाइँको प्रलोभन देखाएर मानव बेचबिखन गर्ने गिरोह भयावह रहेको बताए ।

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सरकारी पक्षले मात्रै सक्दैन’, उनले भने, ‘नेपालको कानुन बलियो छ तर कार्यान्वयन कमजोर हुन सक्छ, सामाजिक सञ्जालको पनि सही तरिकाले प्रयोग गर्नुप¥यो ।’ शर्माका अनुसार मानव किनबेच गर्नेलाई २० वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना, वेश्यावृत्तिमा लगाउनेलाई १० देखि १५ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना र वेश्यागमन गराउनेलाई एक महिनादेखि तीन महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

दुई मुद्दामा तीन पक्राउ

चितवनमा चालू आव २०७६/७७ को साउन महिनामा मात्रै मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दा दर्ता भएका छन् । दुईवटा मुद्दामा तीन प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुईवटै मुद्दा महिलालाई वेश्यावृत्तिमा लगाएकोसम्बन्धी रहेको प्रहरीले जनाएको छ ।

अघिल्लो आव २०७५/७६ मा मानव बेचबिखनका चार मुद्दा दर्ता भएका थिए, जसमा आर्थिक प्रलोभनसम्बन्धी एक मुद्दामा पाँच जना, बिहे गर्ने आश्वासन दिई बेच्नेसम्बन्धी दुई मुद्दामा दुई जना र डरत्रास देखाई वेश्यावृत्तिमा लगाएको एक मुद्दामा एक जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले जानकारी दिए ।

आव २०७४/७५ मा १० मुद्दामा दुई भारतीय नागरिकसहित २३ जना पक्राउ परेको पौडेलले बताए । आर्थिक प्रलोभनका तीन, बिहे गर्ने आश्वासनका एक, वैदेशिक रोजगारीसम्बन्धी तीन र डरत्रास देखाई वेश्यावृत्तिमा लगाउने तीनवटा मुद्दा रहेको उनले बताए । पौडेलका अनुसार यौनशोषण गर्ने र बिनापारिश्रमिक वा कम पारिश्रमिक काममा लगाउने कार्य पनि मानव बेचबिखनमा पर्छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया