बैंकलाई पार्किङस्थल राख्न निर्देशन

अन‌ि यो पनि

विधुर ढकाल
भरतपुर । बैंक तथा वित्तीय संस्थामा जाँदै हुनुहुन्छ ? यदी जाँदै हुनुहुन्छ भने ख्याल राख्नुस है ! सडकमा गाडी पार्क गरेर नछिर्नुहोला । कारबाहीमा पर्नु हुनेछ । जिल्ला ट्राफिक कार्यालय चितवनले सार्वजनिक सडक सीमाभित्र पार्किङ गर्ने निजी सवारी साधनलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर ठकुरीका अनुसार आफ्नो निजी कामको लागि सार्वजनिक सडकमा कसैले सवारी पार्किङ गरे कारबाहीको भागिदार भइनेछ । सोही अभियानअन्तर्गत ट्राफिक कार्यालयले नारायणगढ तथा भरतपुरमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो निजी पार्किङस्थल निर्धारण गर्न पत्र काटिसकेको छ ।
‘हामीले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो पार्किङ क्षेत्र निर्धारण गर्न निर्देशनसहितको पत्र सोमबार काटेका छौँ’, ठकुरीले भने, ‘सोही अनुरूप सडकमा पार्किङ गर्ने निजी गाडीहरु कारबाहीको दायरामा ल्याउँदै छौँ ।’ यद्यपी यो नियम सार्वजनिक यात्रुबहाक भाडाका गाडीका लागि भने लागू हुने छैन ।
‘सार्वजनिक भाडाका यात्रुबहाक गाडीहरुको हकमा तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने प्रयोजनका लागि छुट दिइएको छ’, उनले भने, ‘तोकिएको स्थान भन्दा बाहिर पार्किङ गर्ने सार्वजनिक यात्रुबहाक गाडीलाई पनि कारबाही गरिनेछ ।’
त्यस्तै भाडाका मालबहाक गाडीलाई पनि नारायणगढ क्षेत्रको सडकमा पार्किङ गरे कारबाही गरिने उनले बताए । नारायणगढको व्यस्त सडकमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको पार्किङ क्षेत्र नहुँदा सडकमा नै गाडी पार्किङ गर्दा यातायात आवगमनमा अवरोध पुगेकोले यस्तो अभियान थालिएको ठकुरीले बताए ।
‘बैंकका कर्मचारीहरु गाडी चढेर आउँछन्, बैंकको पार्किङ क्षेत्र छैन, सडकमा नै गाडी राख्छन्’, उनले भने ‘दिनभर ती गाडी सडकमा हुन्छन् त्यसैमा अरु पनि थपिन्छन् यसले यातायात आवगमनमा असर परिरहेको छ ।’
यसरी नियमको उल्लंघन गर्नेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही गर्ने उनले बताए । ‘केही समयमा नै सडकको मुहार फेर्ने अभियानमा छौँ’, उनले भने, ‘यसको लागि स्थानीय तथा व्यवसायीको साथ चाहिन्छ ।’
यसअघि पनि जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक सडकमा गाडी पार्किङ गर्ने विरूद्ध सवारी नियम उल्लंघन पुर्जी (टीभीटी) अभियान चलाएको थियो । उक्त अभियान त्यति प्रभावकारी भएन । ‘त्यतिबेला पार्किङ क्षेत्र तोकेर सशुल्क पार्किङ थालेका थियौँ । तर धेरै दिन कार्यान्वयनमा आएन’, प्रहरी सहायक निरीक्षक ठकुरीले भने, ‘यसपटक हामीले सम्बन्धितलाई नै पार्किङ क्षेत्र तोक्न भनेका छौँ ।’
बैंकका कर्मचारीहरुले गाडीलाई सडकमा पार्क गर्दा समस्या भएको उनको भनाइ छ । ‘बैंकका कर्मचारीहरुका गाडी दिनभर सडकमा हुन्छन’, उनले भने, ‘ती गाडीलाई देखेर अरुले पनि पार्किङ गर्ने हुँदा समस्या भएको हो ।’ चारचक्के साधन व्यवस्थित गरे समस्या आँफै घट्दै जाने उनले बताए ।
टीभीटी अभियानलाई पनि सार्वजनिक छलफल गरी पुनः कार्यान्वयनमा ल्याउने सोचमा कार्यालय रहेको ठकुरीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया