नारायणगढ । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यो वर्षको पछिल्लो सात महिनाको तथ्याङ्कअनुसार माघसम्ममा एक लाख एक हजार ७६५ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा कुल ९२ हजार ७२५ जना मात्रै पर्यटकले निकुञ्ज घुमेको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो वर्षको सात महिनाको तुलनामा यो वर्षको सात महिनामा पर्यटक बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०६९÷२०७० को माघसम्ममा कुल १० करोड ८८ लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।
विसं २०७०÷२०७१ को माघ मसान्तसम्ममा कूल ११ करोड ६२ लाख राजस्व सङ्कलन भएको थपलियाले जानकारी दिनुभयो । निकुञ्जले दिएको तथ्याङ्कअनुसार सात महिनामा करिब ७३ लाख राजस्व वृद्धि भएको छ ।
अघिल्लो वर्ष कुल रु एक लाख ५५ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । उक्त समयमा निकुञ्जले रु २१ करोड राजस्व सङ्कलन गरेको थियो ।
अहिलेको सात महिनाको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटक बढ्ने र राजस्वमा समेत वृद्धि हुने देखिएको छ । शान्ति सुरक्षामा सवल देखिएकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको संरक्षणकर्मीले बताएका छन् ।
निकुञ्ज भ्रमणका लागि चितवन निकुञ्जले पर्यटकलाई अलगअलग शुल्क लिने गरेको छ ।
विदेशीलाई प्रतिव्यक्ति रु एक हजार ५००, सार्क राष्ट्रका लागि प्रतिव्यक्ति रु ७५० र आन्तरिक पर्यटकका लागि रु १०० राजस्व लिने गरिएको छ । निकुञ्जको आम्दानीको स्रोतमध्ये सबैभन्दा बढी प्रवेश शुल्कबाटै आउने गर्दछ ।
Discussion about this post