कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपाल टेलिकम र एनसेल मोबाइलको रिचार्ज कार्ड चोर्ने चारजनालाई पक्राउ गरेको छ ।
भैरहवाको टेक्नोबोल्डले परासीको लक्ष्मी फोटो सेन्टरमा गाडीबाट पठाएको रिचार्ज कार्ड नाटकीय तरिकाले चोर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही पोखरभेन्डी गाविस वडा नं ६ का तौफिकआलम खान, सिक्टहन–३ का सुरेश यादव, गौरी–८ का राजेश यादव र खुरहिया–६ का जमाल खानलाई प्रहरीले रु दुई लाख ३७ हजार ५०० मूल्यको रिचार्ज कार्डसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुहरि गौतमले जानकारी दिनुभयो ।
रिचार्ज कार्ड ल्याउने बसका चालक नोरल होदा मुसलमान र कार्ड प्राप्त गर्ने दीपेन्द्र श्रेष्ठको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महेशपुर चोकमा बस रोक्दा समान आएको छ भन्दै समानको भाडा दिएर तौफिमआलम खानले रिचार्ड कार्ड लगेका थिए । पक्राउ परेका चारै जनालाई ठगी अपराधअन्तर्गत मुद्दा चालउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच प्रहरीले लागूऔषध ओसारपसार र सेवन गर्ने ३७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । १० महिनाको अवधिमा स्पास्मो, नाइट्रोभेट, फेन्सिडिल, गाँजा, फेनरागन, डाइजोपाम, कोरेक्स लगायतका लागुऔषध ओसारपसार गर्नेलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतमले बताउनुभयो । भारतसँग खुल्ला नाकाका कारण लागुपदार्थको ओसारपसार बढेको भन्दै प्रहरीले सीमा नाकामा निगरानी बढाएको छ । रासस
Discussion about this post