भोजपुरको साविक देउराली–७ अर्थात् षडानन्द नगरपालिका १२ मा जन्मिएकी कविता राई हाल टेम्के मैयुङ–९, पाँचधारेमा स्थायी बसोवास गर्छिन् । विसं २०३८ साउन ८ गते जन्मिएकी उनी पेसाले शिक्षक हुन् । नेपाली विषयमा एमएड गरेकी राईले केही वर्ष दुर्गममा रहेर पत्रकारिता गरिन् । एलएफपी एनिमेशन कार्यक्रममा स्रोत व्यक्ति, जेन्डर टट ट्रेनर स्त्रीशक्तिमा प्रशिक्षकलगायत विभिन्न संस्थामा आवद्ध रहेकी उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् । अनेरास्ववियु अञ्चल कमिटी सदस्य एवम् अनेमसंघ भोजपुरको सचिव रहेर राजनीति गरेकी उनी अहिले भने राजनीतिमा सक्रिय छैनन् । मोफसलकी सशक्त कवि नै अहिले उनको परिचय बनेको छ । ५/६ कक्षा पढ्दादेखि नै कविता लेख्न सुरू गरेकी राईले आठ कक्षा पढ्दा लेखेको गीतले वीरेन्द्र शिल्ड जितेको थियो । स्कुल र कलेजमा आयोजना हुने प्रतियोगिताहरुमा पनि उनी प्रथमको हकदार बन्न छाडिनन् ।
प्रगतिशील लेखक संघ प्रदेश कमिटी सदस्य रहेकी उनी नारी साहित्य प्रतिष्ठान भोजपुरकी अध्यक्ष हुन् । नेपाल समाचारपत्रको जिल्ला सम्वाददाता हुँदै विभिन्न साहित्यिक पत्रपत्रिका तथा साप्ताहिक पत्रिकामा सम्पादनको भूमिका निभाउँदै जीवनको आरोहअवरोहसँगै पत्रकारिता पेसाबाट अलग रही सिंहदेवी माध्यमिक विद्यालयमा शिक्षण सेवा गर्दै आएकी छन् । कवि राईले ‘आमा र जून’ कवितासंग्रह प्रकाशन गरेकी छन् भने उपन्यास विधातर्फ गुरु प्रकाशन गर्ने तयारीमा रहेकी छन् । अध्ययन, शिक्षण, साहित्य, समाजसेवा र घरपरिवारमा उत्तिकै समय व्यवस्थापन गर्नसक्ने उनी नेपालको भूगोलभित्र जहाँ रहेर पनि आफ्नो देश र समाजप्रति योगदान गर्न सक्ने विश्वास व्यक्त गर्छिन् । व्यस्तताका बावजुत पनि चितवन पोष्ट दैनिकका सहसम्पादक केशव भट्टराईले उनीसँग गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ–
१) कविता लेखनको यात्रा कहिलेदेखि सुरू गर्नु भयो ?
–कविता लेख्न त सानैदेखि थालेकी हुँ । मेरो सम्झनामा आएअनुसार कक्षा ६ मा पढ्दा पहिलो कविता लेखेकी थिएँ । नेपाली शिक्षकले लेखेर ल्याउनु भन्नु भएपछि ‘मेरो देश’ शीर्षकमा थियो त्यो कविता । तर, मैले कक्षामा चाहिँ सुनाइन ।
२) कस्ता विषयले कविता लेख्न प्रेरित गर्छ ?
–कविता लेख्न प्रेरित गर्ने यस्तै विषय हुन्छ भन्ने लाग्दैन । देखेका, भोगेका कुराहरूले हृदयमा जब छोइन्छ । केही अनुभूति हुन्छ र लेखुँ लेखुँ लाग्छ अनि कविता लेख्ने गर्छु । लेख्छु भनेर लेख्दिन जब हृदयले लेख भन्छ अनि अलिकति मस्तिष्क मिसाएर कविता लेख्छु ।
३) तपाईं कविता किन लेख्नुहुन्छ ?
–कविता कविले किन लेख्छन् ? यो प्रश्न सामान्य लागे पनि निकै महŒवपूर्ण प्रश्न हो । तपाईंको यो प्रश्नले म आफैँलाई एकछिन सोचनीय बनायो । मेरो विचारमा यो एउटा छुट्टै जैविक प्रतिभा पनि हो । साधना पनि होला । मैले कविता किन लेखेँ पहिले थाहा छैन । तर, सानैदेखि अलि भावुक प्रकृतिको थिएँ भन्ने सम्झन्छु । अहिले हेर्दा आत्मिक, मानसिक शान्तिको लागि कविता लेख्छु । जब कुनै भाव वा विचारले हृदयमा उकुसमुकुस गराउँछ अनि कविता लेख्छु र आफूलाई स्वस्थ र स्फूर्त महसुस गर्छु ।
४) तपाईंलाई भोजपुर (मोफसल) बसेर राजधानी हल्लाउने कवि भनिन्छ नि ?
–मोफसलमा बसेर काठमाडौँ हल्लाउने भन्ने प्रसङ्ग मेरो लागि गज्जबको छ । जसले मेरो लागि यो प्रसङ्ग उल्लेख गर्नुभयो उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ । म भोजपुरको सुदूरपश्चिम गाउँमा बस्छु । जहाँ यातायात, सञ्चार, विद्युत्लगायत विकासका पूर्वाधारहरुको सुलभता छैन । तर, पनि साहित्य साधनामा लाग्ने प्रयास भने गरिरहेछु । साथीभाइ तथा शुभचिन्तक आफन्तहरुको सहयोगले नै मेरा रचनाहरु बेलाबेला प्रकाशन पनि भइरहेका छन् । यस वर्ष र गत वर्ष प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय कविता महोत्सवका लागि छनोट पनि भएकी थिएँ । गत साल असारमा नेपाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष शशि लुमुम्बू दाइ र सचिव गीतकार टीका चाम्लिङको सहयोगमा काठमाडौँमा एकल कविता वाचन गरेँ । यसका अलवा सार्कस्तरीय, राष्ट्रियस्तरका कार्यक्रममा सहभागिता जनाउने अवसर पनि मिल्यो । यसका साथै राष्ट्रियस्तरका मिडियाहरूले मेरो एकल वाचनका बारेमा, कवितासंग्रह आमा र जूनको बारेमा समेटेको कारणले पनि मलाई यसो भनिएको हुनसक्छ । त्यो अलिकति सत्य पनि हो । किनभने म जहाँ बसेर लेख्छु, त्यहाँ डाटाबाट चलाइएको मेसेन्जर र फेसबुक नै हो मलाई सहरसँग अथवा भनौँ मूलधारसँग जोड्ने मेलो । गाउँ बसेर यसरी केन्द्रसँग निरन्तर जोडिइरहेकाले पनि त्यसो भनिएको होला ।
५) कवि बन्ने उत्प्रेरणाचाहिँ कसैले दियो कि आफैँ आयो ?
–मैले अघि पनि भनेँ मान्छेले जन्मँदै केही कुरा लिएर आएका हुन्छन् । त्यसैलाई भनिँदो हो अन्तर्निहित प्रतिभा । कसैले प्रष्फुटन हुने मौका पाउँछन् कसैको त्यतिकै मरेर जान्छ । सुरूमा आफैँ कविताका लाइनहरू कोर्थें र आमालाई सुनाउँथेँ । आमा रुनुहुन्थ्यो । तँलाई त मैले जन्माएको कसरी यस्तो लेख्न आएको तँलाई ? भन्नुहुन्थ्यो । म फुर्किन्थेँ । ओहो ! म त लेख्छु कि क्या हो ? भन्ने पनि लाग्थ्यो । पहिलो प्रेरणा आमा नै हुनुभयो । त्यस्तै मेरो बाबा पनि मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो । मलाई बहुत उत्प्रेरणा गर्नु हुन्थ्यो । किनकि मेरो बाबा लामो समय पञ्चायतको प्रधानपञ्च भएर राजनीति गर्नुभएको, गाउँदेखि जिल्ला र राजधानी बुझ्नु भएकाले उहाँ यस्ता कुरा बुझ्नु हुन्थ्यो । मैले आफैँले लेखेको गीतले २०५२ सालमा भोजपुर जिल्लामा प्रथम स्थान हासिल गरेको थियो । त्यसलाई संगीत भर्ने काम पूर्वप्राज्ञ तथा कवि, गीतकार मूर्तिकार दाजु नारदमणि हार्ताम्छालीले गर्नुभएको थियो । उहाँले मलाई त्यसबेला भन्नु हुन्थ्यो, ‘म तिमीजस्तो हुँदा यस्तो लेख्दिनथेँ । तिमी लेख्दै जाऊ पछि राम्रो लेख्छौ ।’ म उहाँबाट पनि प्रेरित छु । त्यो भन्दापछि संगीत तथा नाट्य परिषद्का वर्तमान सदस्य सचिव गीतकार दाजु श्याम तमोटले पनि मलाई धेरै प्रेरित गर्नुभयो । विषयवस्तु दिएर लेख्न नै लगाउनुहुन्थ्यो । बीचमा निकै समय लगभग एकदसक म गुमनामजस्तै भएँ । २०७२ सालको भूकम्पपछि कवि दाजु प्राज्ञ शशि लुमुम्बूसँग भेट भएपछि म पुनः मूलधारसम्म अथवा भनौँ यहाँसम्म आइपुग्न सकेँ । त्यसैले उत्प्रेरणा पनि समय, सन्दर्भअनुसार हुने रहेछ । मान्छेको अन्तर्निहित प्रतिभाको प्रष्फुटन हुनलाई उत्प्रेरणाको धेरै महŒव छ । विभिन्न समयमा विभिन्न व्यक्तित्वहरुबाट प्राप्त भएको उत्प्रेरणाले मलाई यहाँसम्म ल्याइपु¥याएको होे । आफैँ उत्प्रेरित त म हुँदै हुँ जसका लागि बाह्य उत्प्रेरणा पनि प्राप्त भयो भनौँ न !
६) कविताबाहेक अरु कुन कुन साहित्यिक विधामा कलम चलाउनुहुन्छ ?
–म कविताका अलवा कथा, लघुकथा, गीत र गजल लेख्ने गर्छु । अहिले भने उपन्यास लेखिरहेकी छु ।
७) समाज रुपान्तरणको लागि साहित्य र पत्रकारिता उत्तिकै सशक्त माध्यम मानिन्छन् । तपाईं पत्रकारिता पनि गर्नुहुन्थ्यो, अचानक किन छाड्नुभयो ?
–तपाईंको प्रश्नसँग म पनि सहमत छु । साहित्य र पत्रकारिता समाज रुपान्तरणका सशक्त माध्यम हुन् । तर, यी दुई फरक पाटो पनि हुन् । विद्वान्हरुको परिभाषा छोडेर म आफूले भन्नुपर्दा विचार, तथ्य र प्रमाणमा पत्रकारिताको बढी जोड हुन्छ भने साहित्यले मानसिक, मनोवैज्ञानिक तथा वैचारिकरुपमा समाजलाई प्रस्तुत गर्दै रुपान्तरणको अपेक्षा गरेको पाइन्छ । साहित्यको माध्यमबाट तात्कालीन सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिहरु सफल भएका उदाहरणहरू विश्वमा प्रसस्तै पाइन्छन् । म एक समय मूलधारको पत्रकारितामा थिएँ । मैले किन पत्रकारिता छाडेँ भन्ने प्रसङ्गमा केही व्यक्तिगत र केही तत्कालीन समय जिम्मेवार छ । त्यो समय देशमा द्वन्द्व चर्किएको अवस्था थियो । द्वन्द्वरतपक्षबाट अनावश्यक झमेला पनि आयो । फेरि अर्कोतर्फ पत्रकारिता गरेर बाँच्ने स्थिति पनि थिएन । अहिलेको जस्तो विद्युत् र सञ्चार क्षेत्रको विकास भएको थिएन । निकै कठिन थियो । सोलारबाट पीसीओमा गएर हातले लेखेको समाचार फ्याक्स गर्नुपथ्र्यो । त्यसरी पठाएको समाचार छापिएर आएको पैसाले चिया खान पनि पुग्दैथ्यो । यो पनि एउटा पाटो थियो कि यसमा मैले आफ्नो भविष्य देखिन होला । एउटा एनजीओमा प्रशिक्षकको जिम्मेवारी लिएर काम गर्न थालेपछि भ्याइन पनि । त्यसैले मानसिकरुपमा पत्रकारिता छोड्ने निधो गरेँ । तर, साहित्यमा भने लागिरहने सोच छ र लागि पनि रहेकी छु ।
८) ‘आमा र जून’ कवितासंग्रह प्रकाशन गरेपछि केकस्ता प्रतिक्रिया आए ?
–मेरो आमा र जून कवितासंग्रह २०७५ सालमा बजारमा ल्याएकी हुँ । पुस्तक छपाउने सोच त पहिल्यैदेखि थियो तर विविध कारणले ढिला भयो । यो कवितासंग्रह जहाँ जसले पढ्नुभयो उहाँहरुले राम्रै प्रतिक्रिया दिनुभएको छ । मैले यसमा टिन एजमा लेखेका कविताहरु पनि राखेकी छु । कतिपयले अहिलेभन्दा तिमी त पहिले पो बढी जुझारु रहिछौ पनि भन्नुभएको छ । समय र उमेरअनुसार भोगाइ र बुझाइमा फरकपना आउनु स्वाभाविक पनि हो । साथीभाइ तथा आफन्तहरुले कृति निरन्तरताको कामना गर्नुभएको छ । पत्याइदिनु भएको छ भनौँ न ! केही आफन्तले आर्थिकरुपमा टेवा पनि गर्नु भएको छ । जसबाट म निकै उत्साहित भएकी छु ।
९) साहित्य सिर्जनाबाहेक अन्य कुन क्षेत्रमा व्यस्त हुनुहुन्छ ?
–मेरो आफ्नै पेसा छ– शिक्षण । गाउँमा शिक्षक भनेको यस्तो मान्छे हो ऊ त्यहाँको नेता पनि हो, बैंक पनि हो, झगडा मिलाउने न्यायाधीश पनि हो । यसर्थ बुझिहाल्नु भो विभिन्न सामाजिक भूमिकामा छु । पारिवारिक भूमिका त झन् छँदैछ । एउटी महिलाले जागिरमात्रै खाने, साहित्यमात्रै सिर्जना गर्न सम्भव पनि छैन । यसका अलवा मैले भोजपुरमा नारी साहित्य प्रतिष्ठान भन्ने संस्था पनि चलाउँछु । प्रगतिशील लेखक संघ १ नम्बर प्रदेश कमिटी सदस्य पनि रहेकी छु । यस्तै यस्तै सामाजिक तथा साहित्यिक गतिविधिमा समय बितिरहेको छ ।
१०) पाठकका लागि आगामी कोसेली के ल्याउँदै हुनुहुन्छ ?
–म हाल उपन्यास लेखिरहेकी छु । लगभग ७५ प्रतिशत लेखनी सकिएको छ । अब यसै वर्ष छापामा पठाउने विचार गरेकी छु । तर, त्यसको लागि केही विशेष ठाउँमा पुग्नुपर्ने भएकाले रोकिएको छ । समय मिलाएर ती ठाउँमा पुग्ने योजना बनाइरहेकी छु । अर्को कवितासंग्रहको पनि तयारी गर्दैछु । अर्को उपन्यासको लागि स्क्रिप्ट सोचिसकेकी छु । यहाँहरुजस्ता आफन्त र शुभचिन्तकको सहयोग पाएँ भने त्यो अवश्य सम्भव हुनेछ ।